३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह



अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपद्का कारण जोखिममा परेका नागरिकको ज्यान जोगाउन सरकारलाई आफ्नो सम्पूर्ण सामर्थ्य परिचालन गर्न आग्रह गर्नुभएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस कठिन घडीमा सरकार र रास्वपा प्रभावित नागरिकको साथमा रहेको बताउनुभयो।

उहाँले बाढी तथा पहिरोको जानकारी प्राप्त भएदेखि नै प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी संयन्त्रसँग निरन्तर समन्वय र छलफल गरिरहेको जानकारी दिनुभयो।

लामिछानेले अहिलेको अवस्थामा नागरिकको ज्यान जोगाउनु नै सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण स्रोत–साधन परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले विपद्का बेला सत्ता र प्रतिपक्षको घेराभन्दा माथि उठेर सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो। संकटको समयमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएर विपक्षी दलहरूले उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै उहाँले धन्यवादसमेत दिनुभयो।

लामिछानेले रसुवा र धादिङका नदीतटीय क्षेत्रका नागरिकलाई थप सतर्क रहन, सुरक्षित स्थानमा जान, धैर्य धारण गर्न र सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गर्नुभयो।

त्यस्तै, चितवन, नवलपरासी लगायतका तल्लो तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन आग्रह गर्दै उहाँले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति तथा आवश्यक स्रोत–साधन तत्काल परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले भन्नुभयो, “नागरिकको ज्यान बचाउनु अहिलेको पहिलो प्राथमिकता हो र सरकारले आफ्नो सम्पूर्ण सामर्थ्य उद्धार तथा राहतमा लगाउनेछ भन्नेमा म प्रतिबद्ध छु।”

लामिछानेले विपद्को अवस्थामा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर मानवीय उद्धारलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो।