काठमाडौँ। काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा खटिने स्वयंसेवकका लागि खाना, खाजा र पानीको व्यवस्थापन गर्ने भएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले निःस्वार्थ रूपमा जात्राको व्यवस्थापनमा खटिने स्वयंसेवकलाई आवश्यक खानपानको व्यवस्था गर्नु महानगरको साझा दायित्व भएको बताउनुभएको हो ।
इन्द्रजात्राको तयारीबारे गुठीहरूसँग मंगलवार भएको छलफलमा डंगोलले सामाजिक सेवाका रूपमा फिल्डमा खटिने स्वयंसेवकलाई कम्तीमा खाना, खाजा र पानीको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।
उहाँले वाह्य व्यवस्थापनको संयोजन गणपतिलाल श्रेष्ठले गर्ने र स्वयंसेवकको खाजासहित आवश्यक व्यवस्थापनका लागि सूची बनाएर तत्काल तयारी अघि बढाउन आग्रह गर्नुभयो । महानगरपालिकाले व्यवस्थापनलाई तीव्रता दिने पनि उहाँले बताउनु भयो ।
डंगोलले इन्द्रजात्रामा यसपटक काठमाडौं महानगरपालिकाबाटै मुआली बजाउने तयारी भइरहेको जानकारी समेत दिनुभयो । उहाँकाअनुसार मुआली बजाउनेका लागि लक्ष्मीश्वर, टेकुमा तालिम भइरहेको छ । परम्परागत रूपमा काठमाडौंमा मुआली बजाउने व्यवस्था नभएका कारण भक्तपुरबाट मुआली ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले अब काठमाडौंमै मुआली बजाउने जनशक्ति तयार गर्न लागिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वाह्य व्यवस्थापनका क्रममा विशेषगरी स्वयंसेवकहरूको आवश्यकतामा ध्यान दिन जरुरी छ । कुनै स्वार्थ, पद वा आर्थिक अपेक्षा नराखी सामाजिक भावनाले फिल्डमा खटिने स्वयंसेवकहरूलाई कम्तीमा खाना, खाजा र पानीको व्यवस्था गर्नु हाम्रो साझा दायित्व हो । वाह्य व्यवस्थापनका संयोजक गणपतिलाल श्रेष्ठज्यूले पनि यस विषयमा जानकारी गराइसक्नुभएको छ । यस वर्षदेखि वाह्य व्यवस्थापनअन्तर्गत स्वयंसेवकहरूको खाजालगायत आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने व्यवस्था गरिएको छ । इन्द्रजात्रामा पनि यसलाई निरन्तरता दिइनेछ । आवश्यक व्यवस्थाको सूची तयार गरी प्रशासनिक प्रक्रिया अघि बढाउन र कामलाई यथाशिघ्र अगाडि बढाउन अनुरोध गर्दछु । काठमाडौं महानगरपालिकाले पनि यस कार्यलाई तीव्रता दिनेछ । यसपटक कम्तीमा स्वयंसेवकहरू भोकै बसे भन्ने गुनासो आउन नदिऔँ । अर्को महत्वपूर्ण विषय मुआली बाजासँग सम्बन्धित छ । काठमाडौंमा मुआली बजाउने परम्परा कमजोर भएकाले विगतमा भक्तपुरबाट जनशक्ति ल्याउनुपर्ने अवस्था थियो । तर यसपटक काठमाडौं महानगरपालिकाले काठमाडौंमै मुआली बजाउने जनशक्ति तयार गर्ने उद्देश्यले तालिम शुरु गरिसकेको छ । लक्ष्मीश्वर, टेकुमा अहिले तालिम सञ्चालन भइरहेको छ । यस कार्यमा हनुमानढोका कार्यक्रमबाट नेतृत्व र सम्पदा शाखाबाट आवश्यक समन्वय गरी अघि बढ्न अनुरोध गर्दछु । लामो समयदेखि काठमाडौं महानगरपालिकाबाट मुआली बजाउने परम्परा निरन्तर हुन नसकेको अवस्थामा यसपटक त्यसलाई पुनःस्थापित गर्ने प्रयास गरिएको छ । तालिम पूरा भएपछि यस वर्षदेखि महानगरपालिकाकै तर्फबाट मुआली बजाउने व्यवस्था गरिनेछ ।’
डंगोलकाअनुसार काठमाडौं महानगरपालिकाबाट मुआली बजाउने परम्परा रोकिएको करिब २५ वर्ष भएको छ । यसपटक गोल्डेन जुब्लीपछि महानगरपालिकाबाटै मुआली बजाउने गरी तयारी भइरहेको उहाँले बताउनु भयो ।
इन्द्रजात्राको मुख्य कार्यक्रम हनुमानढोका क्षेत्रबाट नेतृत्व लिने र सम्पदासँग सम्बन्धित कार्यक्रमलाई समेत समन्वय गरेर अघि बढाउने तयारी गरिएको महानगरले जनाएको छ । –न्युज एजेन्सी नेपाल









