काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्का समयमा हुने ‘भीआईपी मुभमेन्ट’ले सुरक्षा निकायमाथि अतिरिक्त चुनौती थप्ने भन्दै आफू र आफ्नो दलका सांसदहरूका लागि विशेष सुरक्षा प्रबन्ध नगर्न आग्रह गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले अत्यावश्यक अवस्थाबाहेक आफू प्रभावित क्षेत्रमा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गर्न सहजीकरण गर्ने बताउनुभयो । प्रभावित क्षेत्रमा पुग्नुपर्ने अवस्था आए पनि आफू र पार्टीका सांसदलाई अतिरिक्त सुरक्षा वा अन्य विशेष सुविधा उपलब्ध नगराउन उहाँले प्रशासनसँग आग्रह गर्नुभयो ।
‘विपद्का बेला भीआईपी मुभमेन्टले सुरक्षाकर्मीका लागि चुनौती सिर्जना गर्दछ,’ उहाँले भन्नुभयो, ‘म र मेरो दलका सांसदहरू फिल्डमा जाँदा सुरक्षाकर्मीले कुनै चिन्ता लिनुपर्ने छैन । हामीलाई कतै पनि ध्यान दिनुपर्ने छैन । सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस् । हामीमध्ये कोही पुग्नुपरेको खण्डमा पनि अतिरिक्त सुरक्षा र सेवा लिने छैनौँ ।’
लामिछानेले आफूहरू व्यक्तिगत रूपमा प्रभावित क्षेत्रमा जाने र त्यस क्रममा प्रशासनको उद्धार तथा राहत कार्यमा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो ।
उहाँले प्रभावित क्षेत्रमा सञ्चार सेवाको सहजताका लागि सरकारले चालेका कदमको स्वागतसमेत गर्नुभयो । टेलिफोनमा ब्यालेन्स नभए पनि कुराकानी गर्न सकिने तथा डाटा सेवा उपलब्ध गराउने विषयमा सरकार सचेत रहेको जानकारी आफूले पाएको उहाँले बताउनुभयो ।
लामिछानेले विपद्का समयमा सीमान्तकृत तथा जोखिममा रहेका समुदाय बढी प्रभावित हुने भएकाले उद्धार र राहतमा उनीहरूलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । विशेषगरी महिला, गर्भवती, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा दलित समुदाय विपद्बाट बढी प्रभावित हुने गरेको भन्दै उहाँले सम्बन्धित निकायलाई यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
‘विपद् पर्दा सबैभन्दा अप्ठ्यारो सीमान्तकृत र अल्पसङ्ख्यक वर्गलाई पर्दछ,’ उहाँले भन्नुभयो, ‘महिला, वृद्धवृद्धा र दलित समुदायमा यसको गहिरो प्रभाव परेको देखिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।’
उहाँले विपद् व्यवस्थापनमा सरकारको उपस्थिति प्रभावकारी हुनुपर्ने र उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
फोटो -रासस









