काठमाडौं । बहसका क्रममा सर्वोच्च अदालतभित्रै एक जना युवा वकिल ढलेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रश्नैप्रश्न गरेपछि वकिल इजलासमै ढलेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी निकट युवा अधिवक्ता सुलभ खरेल एउटा भ्रष्टाचारसम्वन्धी व्यक्ति केन्द्रीत मुद्दामा बहसका लागि खडा भएका थिए । उनीसँगै निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले बहस गरिरहेका थिए ।
यो बहस लगत्तै एमालेको मुद्दामा बहस हुने भएकाले त्यसका निवेदक र वकिलहरूसमेत इजलासमा उपस्थित भइसकेका थिए । खरेलले बहस सुरु गर्नुअघि प्रधानन्यायाधीश र न्यायाधीशले उनीमाथि आचरणजन्य सवालहरू गर्न थाले । ती सवाल थिए खरेलले गत जेनजी आन्दोलनका क्रममा फेसबुकमा लेखेका स्टाटसहरुबारे ।
गत भदौ २४ गतेको जेनजी आन्दोलन विध्वंसात्मक बनेपछि सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो । उक्त आगजनी हुँदै गर्दा खरेलले विवादित स्टाटस लेखेका थिए, जसलाई लिएर उनले पछि माफी मागेका थिए ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मासहितको इजलासमा अधिवक्ता सुलभ खरेल बहसका लागि तयार भए ।
बहस सुरु गर्नुअघि अधिवक्ता खरेलले सुरुमा आफ्नो परिचय दिए । उनले बहस सुरु गर्नै लाग्दा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले रोक्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयमा प्रष्टीकरण मागे ।
‘विद्वान मित्र तपाईं यो इजलासमा बहस गर्न त आउनुभयो । तपाईंलाई याद छ कि छैन, भदौ २४ गते सर्वोच्च अदालतको आगजनीपछि तपाईंले सामाजिक सञ्जालमा के लेख्नु भएको थियो ? कानुन व्यवसायीको मर्यादाको विषयमा हेक्का राख्नुपर्छ कि पर्दैन ? तपाईं सर्वोच्च अदालत र नेपाल बारमा आगजनी हुँदा खुसी हुनुपर्ने कारण के हो’ भनी प्रधानन्यायाधीश राउतले प्रश्न गरे ।
प्रधानन्यायायीशले सर्वोच्च अदालत जल्दा खुसी मनाउने वकिललाई बहसमा उभिने नैतिकता हुन्छ ? भनेर सोधेका थिए । यसमा खरेलले आफ्नो बचाउ गर्दै पहिल्यै गल्ती महसुस गरेर माफी मागिसकेको बताए । तर, प्रधानन्यायाधीश राउतसहित संवैधानिक इजलासका सबै न्यायाधीशहरु एकसाथ खनिन थालेपछि खरेल रातोपिरो बने । अनुहारबाट चिटचिट पसिना आइरहेको थियो । ३–४ मिनेटपछि उनी इजलासमै फेन्ट भएर ढलेका थिए ।
वकिल ढलेपछि अदालतमा स्तब्धता छाएको थियो । खरेलको पछाडि रहेका एमालेका नेता महेश बर्तौलाले उनलाई उठाए र कुर्सीमा राखे । पानी पिउन दिइयो । एक मिनेटभित्रै खरेलको होस खुलेको थियो ।
खरेल होसमा आएपछि बहसलाई निरन्तरता दिइयो । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले खरेलको स्टाटसका लागि इजलाससामु माफी मागे ।
खरेलले बल्लतल्ल उठेर आफ्नो थप बचाउ गरे । आफ्नो स्टाटसलाई तोडमोड गरिएको तर आफ्नो आशय अदालत जलाउनुपर्छ भन्ने नभएको दाबी गरे । यद्यपि, आफूले लेखेको विषयमा उनले फेरि क्षमा मागे ।
यो बहस स्थगन गर्दै प्रधानन्यायाधीसले अधिवक्ता खरेललाई अस्पताल जान सुझाव दिएका थिए ।










