काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतले नेपाली कम्युनिस्ट आन्दोलन पछिल्लो समय ध्रुविकरणबाट एकीकरणको चरणमा प्रवेश गरेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सशस्त्र संघर्ष र शान्तिपूर्ण प्रतिष्पर्धाको उचित संयोजन नै नेपालको सामाजिक रूपान्तरणको मुख्य आधार भएको दाबी गर्नुभएको हो । नेता बस्नेतले कम्युनिस्ट आन्दोलनको विगतको समीक्षा गर्दै यसलाई चारवटा कालखण्डमा विभाजन गरेर हेर्नुपर्ने बताउनु भयो ।
उहाँकाअनुसार २०४७ सालपछिको समयलाई शक्ति सञ्चय र सशस्त्र आन्दोलनको कालका रूपमा बुझ्नुपर्छ । आन्दोलनले बहुआयामिक स्वरूप ग्रहण गरेको बताउँदै उहाँले यसको योगफलले नै आजको परिवर्तन सम्भव भएको बताउनु भयो । बस्नेतले कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूले विगतका आग्रह र अहं त्यागेर वस्तुगत यथार्थलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान समयमा देखिएका राजनीतिक परिणामहरूलाई लिएर उहाँले आत्मसमीक्षाको खाँचो औँल्याउनु भयो ।
नेता बस्नेतले भन्नुभयो, ‘नेपालको कम्युनिस्ट आन्दोलनको समग्र समीक्षा गर्दा यसको यात्रा एकीकरण, पुनर्गठन र ध्रुवीकरण हुँदै अहिले फेरि ध्रुवीकरणबाट एकीकरणतर्फ अघि बढेको देखिन्छ। आन्दोलनका अनुभव, विकासक्रम र हाम्रो चेतनाले पनि यही निष्कर्षतर्फ संकेत गर्छन् । २०४७ सालपछि हामीले शक्ति सञ्चय र सशस्त्र आन्दोलनलाई फरक–फरक मूल्यका रूपमा अघि बढायौँ । तर सामाजिक रूपान्तरणको गुणात्मक परिणाम त्यतिबेला आयो, जब यी विभिन्न धार र अनुभवहरू एक ठाउँमा समायोजित र एकीकृत भए । यो हाम्रो वस्तुगत यथार्थ हो । तर आफ्ना विगतका भूमिका, आग्रह र मान्यताका कारण हामीलाई कहिलेकाहीँ यो यथार्थलाई पूर्ण रूपमा स्वीकार गर्न कठिन हुन्छ । हामीले गरेका सबै कुरा सही थिए भन्ने आग्रहभन्दा माथि उठेर इतिहास र परिणामबाट सिक्न आवश्यक छ । सामाजिक परिवर्तन कुनै एकरेखीय प्रक्रियाबाट भएको होइन । विभिन्न विचार, संघर्ष र आन्दोलनका बहुरेखीय अनुभवहरूको समग्र परिणामले आजको परिवर्तन निर्माण गरेको हो । त्यसैले अब ती सबै अनुभवलाई नयाँ ढङ्गले संश्लेषण र वैचारिक पुनव्र्याख्या गर्नुपर्ने आवश्यकता छ । कम्युनिस्ट आन्दोलनले अब आत्मसमीक्षा गर्दै वस्तुगत यथार्थलाई स्वीकार गर्नुपर्छ । हामीले सबै कुरा सही गरेका थियौँ भने आजको परिणाम किन आयो भन्ने प्रश्नको इमानदार जवाफ खोज्नुपर्छ । अहिलेको आवश्यकता दोष खोज्नु मात्र होइन, अनुभवबाट शिक्षा लिँदै नयाँ वैचारिक संश्लेषणसहित आन्दोलनलाई पुनर्गठित गर्नु हो ।’
यदि विगतमा सबै निर्णयहरू पूर्ण रूपमा सही हुन्थे भने वर्तमानका जटिलताहरू पैदा नहुने उहाँको तर्क छ ।–न्युज एजेन्सी नेपाल








