काठमाडौं। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक संस्कृतिमा क्षय हुँदै गएको भन्दै यसलाई सुधार गर्ने अभिभारा नेपाली काँग्रेससँग रहेको बताउनुभएको छ ।
काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उपसभापति शर्माको लोकतान्त्रिक संस्कृतिमा आएको क्षय र युगअनुकूल रूपान्तरणसम्बन्धीको प्रतिवेदन समेत बन्दसत्रले पारित गरेको छ । उहाँले नेपाली कांग्रेसमा गुनासो र निराशाभन्दा उत्तरदायित्व, संस्कार, विश्वास र आशाको राजनीतिक संस्कृति विकास गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले महाधिवेशनबाट जुनसुकै व्यक्ति निर्वाचित भएपनि विजयीलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउने संकल्प गर्न सबै प्रतिधिनिहरुलाई आग्रह समेत गर्नुभयो । उपसभापति शर्माले निराश व्यक्तिले देश निर्माण गर्न नसक्ने भन्दै कांग्रेसभित्र आशा, विश्वास र भरोसाको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी उत्तर भएको कांग्रेस बनाउन चाहन्छौँ, गुनासो भएको होइन । हामी संस्कार भएको कांग्रेस बनाउन चाहन्छौँ, आवेग भएको होइन । हामी विश्वास आफूभित्र भएको कांग्रेस बनाउन चाहान्छौँ, निराश कांग्रेस होइन । निराश मान्छेले देश बनाउँदैन, निराश मान्छेहरूको देश दुनियाँमा कहीँ बनेको छैन । आशा गर्ने, आशासँगै विश्वास गर्ने, विश्वाससँगै भरोसा गर्ने र केही गर्छौँ भन्ने कांग्रेसले मात्रै कांग्रेस बलियो बनाउन सक्छ, देश बलियो बनाउन सक्छ । यो राजनीतिक संस्कृतिमा रूपान्तरण गरिराखेर गर्नुपर्ने चेत यो हलबाट फर्केर जाँदा हामी सबैमा बनोस्, बन्नुपर्छ । यो हलबाट निक्लेर गाडीमा चढेर आ–आफ्नो जिल्ला जाँदै गर्दा हामी कसले कुन पद जितेर, कुन पद लिएर जान्छौँ त्यो दोस्रो कुरा हो, हामी फर्केर जाँदै गर्दा जसले जिते पनि मेरो साथी विजयी भएको छ, उसलाई सहयोग गरिराखेर बलियो कांग्रेस बनाउँछौँ भन्ने सोचको संस्कारले मात्रै कांग्रेस बलियो बन्छ । त्यसैले लोकतान्त्रिक संस्कृतिमा भएको क्षयलाई यो देशमा उठाउनुपर्ने अभिभारा, रूपान्तरण गर्नुपर्ने अभिभारा कांग्रेसको हो । यो दस्तावेज कांग्रेसले त हामी पढ्नेछौँ, मनन गर्नेछौँ, सिङ्गैमा हामी यो समाजमा, गाउँमा पनि पुर्याउनेछौँ । यति भनिराखेर लोकतान्त्रिक संस्कृतिमा क्षय र युगअनुकूल रूपान्तरणको अभिभारा भन्ने दस्तावेजलाई तपाईँहरूले जोरदार तालीका साथ पारित गरिदिन अनुरोध गर्दछु ।’
उहाँले पार्टीको आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै लैजान सबै तहका नेता कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभयो ।








