काठमाडौँ। नेपाल प्रहरीले दशँैतिहार र छठ पर्व लक्षित चाडपर्व सुरक्षा योजना सञ्चालनमा ल्याएको छ ।
चाडवर्पमा पूर्ण सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले बुधवारदेखि छठ पर्वको भोलिपल्टसम्म लागू हुनेगरी सुरक्षा योजना सञ्चालनमा ल्याएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले ५० हजारभन्दा बढी प्रहरी परिचालन गरी देशभर सुरक्षा व्यवस्था कडा बनाउन लागिएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रहरीले चोरी, डकैती, जुवातास, सट्टेबाजी, सीमा अपराध, तस्करी, कालोबजारी, डिजिटल ठगी तथा सवारी दुर्घटना न्युनिकरणलाई प्राथमिकतामा राखेर विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
चाडवर्पमा नागरिकको आवागमन सुरक्षित बनाउने, बैंक तथा वित्तीय संस्थासहित बजार क्षेत्रको सुरक्षा गर्ने र विभिन्न गन्तव्यमा जाने यात्रुलाई सुरक्षित यात्राको प्रत्याभुति दिने उद्देश्यले सुरक्षा योजना लागू गरिएको उहाँको भनाई छ ।
प्रहरीले यात्रु तथा सर्वसाधारणको सहजताका लागि देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष तथा हेल्प डेस्क स्थापना गरेको छ । भारत र चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा थप १०८ वटा हेल्प डेस्क स्थापना गरी सीमा अपराध, तस्करी तथा अवैध वस्तुको ओसारपसार नियन्त्रणमा विशेष निगरानी बढाएको उहाँले बताउनु भयो ।
उहाँकाअनुसार सुरक्षा व्यवस्थापनका लागि काठमाडौं उपत्यका, प्रदेश तथा जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी पैदल तथा मोबाइल गस्ती, ग्रामीण गस्ती, क्विक रेस्पोन्स टिम (क्युआरटी), एलआरपी, एसआरपी तथा क्रस पेट्रोलिङ सञ्चालन गरिएको छ । मुख्य नाका तथा संवेदनशील क्षेत्रमा संयुक्त चेकजाँच र ट्राफिकसहितको चेकजाँचलाई समेत तीव्र बनाइएको उहाँले बताउनु भयो । प्रहरीले बजार, सपिङ मल, बैंक तथा वित्तीय संस्था, चोक, प्रवेश तथा निकास नाका र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष निगरानीको क्षेत्र तोकेको छ । यस्ता स्थानमा ड्रोन, सीसीटीभी तथा अन्य आधुनिक प्रविधिको प्रयोग गरी निगरानी बढाइएको उहाँको भनाई छ । खाद्यान्न, लत्ताकपडा तथा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, महँगो मूल्यमा विक्री गर्ने, कालोबजारी गर्ने तथा म्याद गुज्रिएका वा मिसावटयुक्त वस्तु विक्री गर्ने गतिविधिमाथि समेत निगरानी बढाइएको उहाँले बताउनुभयो । सीमा क्षेत्रमा विस्फोटक पदार्थ तथा अन्य अवैध वस्तुको ओसारपसार, भन्सार छली र लागुऔषधको अवैध कारोबार नियन्त्रणका लागि विशेष चेकजाँच सञ्चालन गरिएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, “बडा दशैं, दीपावली, नेपाल संवत् र छठ पर्वको समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई नागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबारलाई सुरक्षित बनाउन तथा चाडपर्व मनाउन विभिन्न गन्तव्यतर्फ जाने यात्रुसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरी संगठनले आजदेखि लागू भई छठ पर्वको भोलिपल्टसम्म निरन्तर रहने गरी ‘चाडपर्व सुरक्षा योजना २०८३’ शुरु गरेको छ । चाडपर्वको मौका छोपी चोरी, डकैतीलगायतका घटना बढ्न सक्ने, जुवातास तथा सट्टेबाजीका गतिविधि वृद्धि हुन सक्ने, अन्तर्राष्ट्रिय खुला सीमा नाकाका कारण सीमा तस्करी तथा सीमा अपराध हुनसक्ने, विस्फोटक पदार्थलगायतका वस्तुको अवैध ओसारपसार तथा विक्रीवितरण हुन सक्ने र भन्सार छलीका गतिविधि हुनसक्ने अवस्थालाई हामीले चुनौतीका रूपमा लिएका छौँ । त्यसैगरी बजार क्षेत्र तथा बैंक तथा वित्तीय संस्थामा चोरी, डकैती र लुटपाट हुन सक्ने, खाद्यान्न, लत्ताकपडा तथा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी महँगो मूल्यमा बिक्री गर्ने, कालोबजारी गर्ने तथा म्याद गुज्रिएका वा मिसावट भएका सामान बिक्रीवितरण हुन सक्ने सम्भावनालाई पनि चुनौतीका रूपमा लिइएको छ । डिजिटल वालेट तथा अनलाइन कारोबार, रेमिट्यान्सको कारोबार बढेसँगै ह्याकिङ तथा अनलाइन ठगीका घटना हुनसक्ने, अवैध हुन्डी तथा नक्कली नोटको कारोबार बढ्नसक्ने अवस्था पनि चुनौतीका रूपमा रहेका छन् । त्यसैगरी जुवातास तथा अत्याधिक मदिरा सेवनका कारण झैझगडा, हिंसा, सार्वजनिक स्थलमा हुलदंगा तथा उश्रृङ्खल गतिविधि हुनसक्ने र सवारी दुर्घटना तथा ट्राफिक नियम उल्लङ्घनका घटना बढ्न सक्ने सम्भावनालाई पनि विशेष चुनौतीका रूपमा औँल्याएका छौँ । यसका लागि व्यापक रूपमा प्रहरी जनशक्ति परिचालन गरिएको छ । करिव ५० हजारभन्दा बढी प्रहरी जनशक्ति चाडपर्व सुरक्षा योजनाको कार्यान्वयनका लागि खटाइएको छ । ४०८ स्थानमा यात्रु सहायता कक्ष तथा हेल्प डेस्क स्थापना गरिएको छ । त्यसैगरी भारत र चीनसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा हेल्प डेस्क स्थापना गरिएको छ । हामीले विभिन्न किसिमका सुरक्षा ड्युटी परिचालन गरेका छौँ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी त्यहाँबाट प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ । पैदल गस्ती, मोबाइल गस्ती, ग्रामीण गस्ती, क्यूआरटी, एलआरपी, एसआरपी तथा क्रस पेट्रोलिङमार्फत सुरक्षा व्यवस्था मिलाइएको छ । चेकपोइन्ट तथा संयुक्त चेकजाँच, ट्राफिक प्रहरीसहितको चेकजाँचको व्यवस्था गरिएको छ । यात्रु सहायता कक्ष सञ्चालनसँगै मुख्य नाकाहरूमा डग स्निफिङ तथा शंकास्पद स्थान र सवारीसाधनको चेकजाँचका लागि केनाइनको प्रयोग गरिएको छ । त्यसैगरी भीआईपी तथा भीभीआईपीको सुरक्षा व्यवस्थापन, सरकारी एवं महत्त्वपूर्ण संस्थाहरू, कारागारलगायतका कार्यालय तथा प्रतिष्ठानको सुरक्षा व्यवस्थासमेत मिलाइएको छ ।’
प्रहरीले चार्डपर्वका बेला हुने डिजिटल ठगी तथा अनलाइन अपराधलाई पनि सुरक्षा योजनाको प्रमुख चुनौतीका रूपमा राखेको छ । फेक अनलाइन सपिङ तथा पर्व विशेष अफर, नक्कली लटरी तथा उपहार, फेक इन्भेस्टमेन्ट स्किम, मोबाइल बैंकिङ तथा डिजिटल वालेट ठगी, फिसिङ, ओटीपी, पिन तथा पासवर्ड माग्ने गतिविधिमाथि निगरानी बढाउने प्रवक्ता काफ्लेले बताउनु भयो । प्रहरीले एआईबाट तयार गरिएका आवाज तथा भिडियो प्रयोग गरी आफन्त वा अधिकारीको नाममा असामान्य रकम माग्ने सन्देशबाट समेत सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीको सामाजिक सञ्जाल निगरानी डेस्कमार्फत गलत सूचना, दुष्प्रचार तथा डिपफेक सामग्री फैलाउने गतिविधिको निगरानी गर्ने तयारी गरेको छ । कानूनविपरित कार्यमा संलग्नमाथि कारबाही गर्ने प्रवक्ता काफ्लेले बताउनु भयो । चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सवारी साधन छुट्ने स्थानबाटै चालकको लाइसेन्स, मादक पदार्थ सेवन तथा लागुऔषध सेवन गरी सवारी चलाएको अवस्था जाँच गर्ने व्यवस्था मिलाएको छ । लामो दूरीका सवारी साधनमा दुई जना चालक राख्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ । यस्तै सवारी साधनको मेकानिकल परीक्षणको रिपोर्टसमेत जाँच गरिने भएको छ । यात्रु क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालोबजारी गर्ने, सिट नभएको टिकट बिक्री गर्ने तथा यात्रुलाई अनावश्यक हैरानी दिने गतिविधिमाथि समेत प्रहरीले निगरानी गर्नेछ । यात्राका क्रममा चालकले लापरवाही गरेको वा ट्राफिक नियम उल्लंघन गरेको देखिएमा तत्काल प्रहरीलाई सूचना दिन प्रहरीले यात्रुलाई आग्रह गरेको छ ।
लामो समयका लागि घर छाडेर बाहिर जाने नागरिकलाई प्रहरीलाई वा छिमेकीलाई जानकारी गराउन, ढोका–झ्याल सुरक्षित रूपमा बन्द गर्न, ग्यास तथा विद्युत उपकरण जाँच गर्न र सम्भव भएसम्म सीसीटीभी तथा पर्याप्त प्रकाशको व्यवस्था गर्न प्रहरीले आग्रह गरेको छ । घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले भीडभाडमा नगद, गरगहना, महँगा मोबाइल तथा अन्य बहुमूल्य वस्तु बोकेर हिँड्दा विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायमाथि हुन सक्ने हिंसाप्रति प्रहरीले शुन्य सहनशीलताको नीति अपनाएको जनाएको छ ।
प्रहरीले शंकास्पद वा आपराधिक गतिविधिबारे सूचना भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन पनि विशेष अनुरोध गरेको छ । –न्युज एजेन्सी नेपाल








