बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले आफ्नो सम्पत्ति तथा आर्थिक स्रोतको उच्चस्तरीय छानबिन गर्न आफू तयार रहेको बताउनुभयो ।
उहाँले आफूविरुद्ध केही सञ्चारमाध्यम तथा व्यक्तिहरूले लगाएका आरोपको खण्डन गर्दै आरोप प्रमाणित भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताउनुभयो । आफ्नो घरमा छापा मार्नेदेखि सम्पत्तिको छानबिन गर्नेसम्मका सबै प्रक्रिया स्वीकार गर्न आफू तयार रहेको उहाँको भनाइ थियो ।
सुनारले दलित समुदायबाट पार्टी खोल्नका लागि ६० करोड रुपैयाँ संकलन भएको भनिएको विषयमा पनि छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले आफूलाई मात्रै नभई आरोप लागेका सबै व्यक्ति र सम्बन्धित निकायको आर्थिक स्रोतको समान रूपमा अनुसन्धान गर्नुपर्ने माग गर्नुभयो ।

भारत, अमेरिका वा अन्य देशबाट आर्थिक सहयोग लिएको, विभिन्न व्यक्ति तथा संस्थासँग आर्थिक सम्बन्ध रहेको, बालुवाटारमा घर किनेको वा सुन व्यवसायमा लगानी गरेको जस्ता आरोपबारे समेत छानबिन गर्न उहाँले सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
‘मलाई ६० लाख दलितले पार्टी खोल्न ६० करोड रुपैयाँ दिएको भनिएको छ भने १० करोड मात्र आएको भनिन्छ । बाँकी ५० करोड कहाँ गयो, त्यो पनि खोजिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘ममाथि उठेका सबै आरोपको निष्पक्ष छानबिन होस् । प्रमाण छ भने सार्वजनिक गरियोस्, छैन भने निराधार आरोप लगाउनेलाई पनि जवाफदेही बनाइयोस् ।’
आफू छानबिनबाट भाग्ने नभई त्यसलाई स्वागत गर्ने व्यक्ति भएको बताउँदै सुनारले आरोप लागेका सबैको घर, सम्पत्ति र आर्थिक स्रोतको समान ढंगले छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफूलाई ‘हेडक्वाटर’बाट परिचालित समूहले नियोजित रूपमा बदनाम गर्न खोजेको आरोपसमेत लगाउनुभयो । साथै, आफ्नो नाम जोडिएका आर्थिक मामिला, बालुवाटार जग्गा प्रकरणदेखि सुन पसलमा भएको भनिएको लगानीसम्मका विषयमा निष्पक्ष अनुसन्धान गर्न सम्बन्धित निकायलाई आह्वान गर्नुभयो ।







