१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को सामना गर्न सबै राजनीतिक दललाई दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान गर्नुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले राजनीतिक दलसँग रहेका उद्धार तथा राहत कार्यमा दक्ष र तालिमप्राप्त जनशक्तिलाई सरकारी निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्ने बताउनुभयो ।

उहाँले विपद्का बेला कुनै राजनीतिक दलको झण्डा नभई देशको झण्डा बोकेर नागरिकको सेवामा समर्पित हुन सबैलाई आग्रह गर्नुभयो । विगतका विपद्, विशेषगरी २०७२ सालको भूकम्पका बेला राजनीतिक दलहरूले देखाएको उच्च राजनीतिक चरित्रको स्मरण गर्दै उहाँले यसपटक पनि त्यस्तै एकताको आवश्यकता रहेको बताउनुभयो ।

‘जब देशमा विपत्ति आउँछ, नेपालले सधैँ राजनीतिभन्दा माथि उठेर नागरिकको सेवालाई परम धर्म मान्दै आएको छ । यसपटक पनि सोही प्रतिबद्धताको आवश्यकता छ,’ उहाँले भन्नुभयो ।

सभापति लामिछानेले रास्वपाले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउँदै आवश्यकता परे सर्वदलीय बैठकमार्फत विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चीनको तिब्बततर्फको जलाधार क्षेत्रमा आएको हिमपहिरोका कारण भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट उत्पन्न जोखिमप्रति उहाँले सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत नदी किनारका बस्तीलाई उच्च सतर्कतामा राखिएको उल्लेख गर्दै उहाँले सरकारले खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उहाँले विपद्को समयमा विदेशमा रहेका नेपालीहरूले विगतमा पनि सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटक पनि उनीहरूको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । पुनःस्थापनाका बाँकी काम चुनौतीपूर्ण भए पनि राष्ट्रिय सामर्थ्य परिचालन गरेर त्यसलाई सफलतापूर्वक अघि बढाउन सकिने उहाँको भनाइ थियो ।

लामिछानेले विपद्का बेला सञ्चारमाध्यम तथा नागरिकलाई अपुष्ट सूचना सम्प्रेषण नगर्न पनि आग्रह गर्नुभयो । विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित भ्रमपूर्ण भिडियो तथा तस्बिर सार्वजनिक गरेर नागरिकमा त्रास सिर्जना नगर्न उहाँले सचेत गराउनुभयो ।

स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायको तयारीबारे जानकारी दिँदै उहाँले अस्पतालहरू २४सै घण्टा तयारी अवस्थामा रहेको, स्वास्थ्यकर्मीहरू स्ट्यान्डबाईमा रहेको तथा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा रहेको बताउनुभयो ।

विपद् व्यवस्थापनका सम्बन्धमा सरकारले गरिरहेका तत्कालीन तथा दीर्घकालीन योजनाबारे गृहमन्त्रीले सदनलाई छिट्टै जानकारी गराउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

राहत तथा उद्धारका नाममा हुने अव्यवस्थित भिडभाडले व्यवस्थापनमा थप चुनौती सिर्जना गर्ने भन्दै लामिछानेले जनप्रतिनिधि वा विशिष्ट व्यक्ति घटनास्थलमा पुग्दा सुरक्षा निकायमाथि अतिरिक्त कार्यभार थपिने र राहत वितरणमा समेत असन्तुलन आउन सक्ने बताउनुभयो ।

त्यसैले सबै प्रकारका सहायता स्थानीय प्रशासनमार्फत व्यवस्थित रूपमा वितरण गर्नुपर्ने उहाँको सुझाव थियो । वर्तमान सरकार बलियो रहेको र विपद्का बेला प्रभावकारी ढङ्गले कार्यसम्पादन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले नागरिकको सेवामा सरकार अब्बल रूपमा प्रस्तुत हुने अपेक्षा व्यक्त गर्नुभयो ।