१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो



अ+ अ-

काठमाडौं ।  रसुवामा आएको भीषण बाढीपहिरोबाट प्रभावित तथा घाइते नागरिकको उद्धार र उपचारलाई तीव्रता दिन बागमती प्रदेश सरकारले विभिन्न अस्पतालबाट आकस्मिक स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

मुख्यमन्त्री किरण थापा मगरको निर्देशनमा प्रदेशअन्तर्गतका अस्पतालबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सामग्रीसहितका टोली रसुवा र त्रिशूली क्षेत्रमा पठाइएको हो। प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको संयोजनमा विभिन्न अस्पतालबाट स्वास्थ्यकर्मी परिचालन गरिएको प्रदेश सरकारले जनाएको छ।

भक्तपुर अस्पतालबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. दिवाकर सुवेदीको नेतृत्वमा आकस्मिक स्वास्थ्य टोली रसुवातर्फ प्रस्थान गरेको छ। टोलीमा जनरल सर्जन डा. विजय भट्ट, मेडिकल अधिकृत डा. कविकान्त चौधरी, आईटी इन्जिनियर दिपेश खड्का, स्टाफ नर्स संगिता प्याकुरेल र हेल्थ असिस्टेन्ट अलिसा पोखरेल सहभागी छन्।

त्यस्तै, टोखा चण्डेश्वरी अस्पतालबाट मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्काको नेतृत्वमा स्वास्थ्य टोली त्रिशूलीतर्फ परिचालन गरिएको छ। टोलीमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सिबेश बर्मा, एनेस्थेसिया सहायक संगिता छत्कुली, स्टोर किपर लीलाबहादुर श्रेष्ठ, हेल्थ असिस्टेन्ट छिद्धो कुमारी राना र चालक उत्तरकुमार गुरुङ छन्।

बज्रबाराही अस्पतालबाट पनि हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. कसिन नेपालीको नेतृत्वमा आकस्मिक स्वास्थ्य टोली परिचालन भएको छ। टोलीमा मेडिकल अधिकृत डा. आयुषजंग थापा, एनेस्थेसिया सहायक सूर्य बम, हेल्थ असिस्टेन्ट महेन्द्र थापा र स्टाफ नर्स सण्डिला महत सहभागी छन्।

प्रदेश सरकारले अन्य प्रादेशिक अस्पतालबाट समेत थप स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ। प्रदेशअन्तर्गतका सबै अस्पताललाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

### त्रिशूली र रसुवा अस्पतालमा घाइतेको उपचार

बाढीपहिरोमा घाइते भएका नागरिकको उद्धार तथा उपचार जारी रहेको प्रदेश सरकारले जनाएको छ। हालसम्म त्रिशूली अस्पतालमा २२ जना, रसुवा अस्पतालमा १४ जना र आयुर्वेदिक अस्पताल, त्रिशूलीमा आठ जना घाइतेको उपचार भइरहेको छ।

त्यस्तै, टिमुरे भन्सार क्षेत्रबाट हेलिकप्टरमार्फत घाइतेको उद्धार गरी थप उपचारका लागि रेफर गर्ने कार्यसमेत जारी छ। हालसम्म राजेन्द्र भट्ट, बलबहादुर घर्ती, एन्जल पौडेल, प्रदीप चन्द्र, राजकुमार खड्का र भूपेन्द्र भुजेललाई हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ।

मुख्यमन्त्री किरण थापा मगरले विपद्को समयमा नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ।

उहाँले दुर्गम तथा विपद्को कठिन परिस्थितिमा रहेका घाइतेसम्म समयमै स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उद्धार र उपचार कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ।

यसअघि रसुवामा आएको भीषण बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहत व्यवस्थापन र थप जोखिम न्यूनीकरणका विषयमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो।

प्रदेश सरकारले प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, सुरक्षा निकाय तथा अन्य आवश्यक संयन्त्रबीच समन्वय बढाएको जनाएको छ।




भर्खरै