९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिव के हो ?



अ+ अ-

ब्रम्हाण्डको उत्पत्ति नहुँदै, पृथ्वीमा प्राणी एवम् प्रकृतिमा प्राण नआउँदै, सबै शिवमा लुकेका थिए । कोही नहुँदा पनि शिव थिए । शिवमा सबै रहन्छन् र नष्ट हुँदा यहीँ विलिन हुन्छन् । कहिल्यै नाश नहुने ऊर्जापूञ्ज, ब्रम्हाण्डका सञ्चालक, परमात्मा, शक्तिका स्रोतलाई शिव भनिन्छ ।

वैदिक शास्त्रहरूले ब्रम्हालाई सृष्टिकर्ता, विष्णुलाई पालनकर्ता एवं महादेवलाई संहारकर्ताकारूपमा वर्णन गरेका छन् । यी सबैका उत्पत्तिकर्ता शिव (ब्रम्हा) हुन् । एउटै ब्रम्हा शिव)का विभिन्न रूप र नाम भएकाले ऋग्वेदले– ‘एकंं सद् विप्रा बहुधा वदन्ति भनेको छ । ब्रम्हा, परमात्मा, हर, परब्रम्हा जे भने पनि शिव हुन् । सत्व, रज र तम तीन गुणयुक्त भएर पनि शिव गुणरहित हुनुहुन्छ । शिवलाई निराकारमा परमात्मा, साकारमा शिवलिड्ड, ध्वनिमा ‘ॐ’, मन्त्रमा ‘ॐ नम: शिवाय’का रूपमा बुझिन्छ ।

कुलार्णवतन्त्र (९।४२)ले पाशले बाधिएकालाई जीव, पाशमुक्त गर्नेलाई शिव भनेको छ । ॐ र श्रीको मिश्रण, प्रकृति र पुरुषको एकाकार स्वरूप, मन्त्र, तन्त्र र यन्त्रको सार नै शिव हो । शिव नै सबैका गुरु, नाथ, प्रभू हुन्, शास्त्र पनि शिवबाट आएका हुन्, म र प्रपञ्च पनि शिव नै हो अर्थात् शिवभन्दा भिन्न केही छैन ।

य: शिव: सर्वग: सूक्ष्मश्चोन्मना निष्कलोग्व्यय: ।

व्योमाकारो भजोग्नन्त: स कथं पूज्यते प्रिये ।।–कुलार्णवतन्त्र (१३।५१)

अर्थात् “शिव सर्वव्यापी, सूक्ष्म, उन्मना, निष्कल, अव्यय, आकाशको जस्तो आकार, अजन्म र अनन्त हुनुहुन्छ भने उहाँको पूजा कसरी सम्भव छ ?” । शिवलाई श्रद्धा, परम्परा, विश्वास, बुद्धिको तीक्ष्णता, विवेकको क्षमताअनुसार पूज्छन्, बुझ्छन् र चिन्तन गर्छन् । ब्रम्णो द्वे रूपे मूर्तञ्चामूर्तञ्च अर्थात् त्यो परमतत्व ब्रम्ह (शिव)लाई मूर्त (आकार) र अमूर्त (निराकार) दुवै रूपमा लिइन्छ ।

केशी (जटावाला )ले अग्निको धारण गर्नुभएको छ, जटावाला (महादेव)ले जलको पनि धारण गर्नुभएको छ, जटावालाले पृथ्वीको धारण गर्नुभएको छ, विश्वको धारण गर्नुभएको छ र उहाँलाई ज्योति भनिन्छ । “शेते प्रलयकाले चराचरञ्जगत् अस्मिन् इति शिव:” अर्थात् प्रलयकालमा चराचर जगत् एवं त्यसमा विद्यमान समस्त प्राणी जसमा बस्छन् त्यसलाई शिव भनिन्छ । शिवकै अंशबाट सृष्टि भएका देवीदेवताले सृष्टि, पालन, लय, सञ्चालन गर्छन् ।

निष्कल परब्रम्हा नै शिव हो, जसले सबै जान्दछ, सबै काम गर्दछ, जो ज्ञानस्वरूप, अनादि, अनन्त र निर्विकार छ । महर्षि वेदव्यासले ‘शि’ को अर्थ समग्र पाप नाश गर्ने, ‘व’ को अर्थ मोक्ष गर्ने भन्नुभएको छ । आगामी, सञ्चित र प्रारब्ध कर्मले जन्माएकाहरू धर्म एवं पापको नाशपछि मोक्ष हुन्छन् । मोक्ष दिनेलाई शिव भनिन्छ ।

शिवशब्दमा ‘श्’ को अर्थ आनन्द, ‘इ’को अर्थ पुरुष, ‘व’को अर्थ अमृतस्वरूप हुन्छ । जसले सबैलाई नित्य सुख, अखण्ड आनन्द दिन्छ त्यसलाई शिव भनिन्छ । सुख क्षणिक हुन्छ, आनन्दले कहिल्यै दु:ख आउन दिँदैन । पद, पैसा, सन्तानलगायतका धनले सुख दिन्छ । सन्तोष, सेवा, ज्ञान आदिले आनन्द दिन्छन् । धनले निश्चित समयसम्म सन्तुष्ट गराउँछ तर सम्पत्तिले अनन्तकालसम्म आनन्द दिन्छ । आनन्द भनेकै शिव (परमात्मा) हो । शिव नै आत्मा हो, आनन्दको भण्डार हो । जन्म, कर्म, सुख, दु:ख मुक्ति दिने भएकाले शिवलाई दाता, धाता र विधाताको पनि मालिक भनिन्छ ।

स एष हरिरित्यास्ते भवत्येष पितामह: ।

चन्द्रार्कइन्द्रवरुणोयमोवैश्रवणोनल: ।।

–योगवासिष्ठरामायण, (निर्वाणप्रकरण, उत्तराद्र्ध ८२।२१)

अर्थात् “त्यो परमात्मा शिवबाट विष्णु, ब्रम्हा, चन्द्र, सूर्य, इन्द्र, वरुण, यम, कुबेर तथा अग्निले रूप धारण गर्छन् ।” देखेका र नदेखेका सबै शिव हुन् । पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रियद्वारा बुझ्न नसकिने हुँदा शिवतत्वलाई व्याख्यामा सुनेर, मूर्तिमा देखेर, ग्रन्थमा पढेरमात्र जान्न सकिँदैन । शिवतत्वलाई साधना, संगत र शास्त्रबाट अनुभूत गरी शिवकै कृपाबाट बोध गर्न सकिन्छ । ऋषिमुनि र देवीदेवताले मात्र होइन रावण, विभीषण, मयलगायतका राक्षसहरूले इष्टसिद्धिका लागि शिवको पूजा, उपासना र ध्यान गरेका थिए । अगस्त्य, दधीचि, विश्वामित्र, उपमन्यु, शतानन्द, गौतम, दुर्वासा, ऋष्यश्रृड्ड, वेदव्यास आदि शिवका उपासक हुन् । वेदव्यासले घण्टाकर्णबाट पाशुपतधर्मको दीक्षा लिए । काशीस्थित कर्णघण्टा उनैबाट नामकरण भएको किंवदन्ती छ । शिवलाई शान्ति, कल्याण र अद्वैतको समष्टि मानिन्छ । जहाँ शान्ति छ, त्यहाँ वैभव हुन्छ, उन्नति हुन्छ, रामराज्य हुन्छ अनि शिवचिन्तनका मार्गहरू देखिन्छन् ।

कलि वास्तवमा घोर अज्ञान, अन्याय, अनिष्ट र अन्धकारको युग हो । सत्ययुगमा एउटा हिरण्यकश्यपु, त्रेतामा एउटा रावण, द्वापरमा एउटामात्र दुर्योधन र कंश हुँदा पनि पृथ्वीलाई जोगाउन, धर्मलाई बचाउन भगवान्ले अवतार लिनुपर्‍यो । कलियुगमा हजारौँ महिषासुर, रक्तबीज, रावण, होलिका, पुतना एवं कंशहरू गल्लीगल्ली र घरघरमा सर्वत्र पाइन्छन् । कुनै पनि वर्ण शुद्ध छैन, जातहरू दुषित छन्, थरहरूमा वर्णशंकर बढेका छन्, हरेक पूज्य स्थलहरू प्रतिदिन दूषित छन्, संस्कार टुट्नाले प्रत्येक धर्मगुरु, सन्तानले बाटो छोड्दा अभिभावकहरु दु:खी हुँदैछन् । कुनै पनि कर्म शास्त्र मर्यादाअनुसार गरिँदैन, अग्रज र पूज्यको आदर छैन । यो अत्यास, विडम्बना र विकृतिबाट बच्न शिवलाई पुज्नु र बुझ्नुपर्छ ।

नेपाल शैवभूमि भएकाले हरेक विपत्तिबाट जोगिन शिवको शरणमा जानुपर्छ, उपासना र अनुष्ठान गर्नुपर्छ । धर्म र सत्कर्म भनेको पिपलका वृक्षजस्तै हुन्, जसलाई हुर्कन, बढ्न र प्रतिफल दिन समय लाग्छ । पाप भनेको वनमारा वा वर्षायाममा पलाउने झार हो, जो तुरुन्तै उम्रन्छ, फैलन्छ र नासिन्छ । अशान्ति र अनिकालबाट छुट्कारा पाउन, पाप र परचक्रीको दबाबबाट मुक्त हुन शिवको नाम, शिवलिड्डको पूजन, शैवक्षेत्रको दर्शन आवश्यक छ । जो भक्तिपरायण भएर नित्य शिवलिड्डको पूजा गर्दछ, त्यसले सबै सिद्धि पाउनेछ, कहिल्यै पापले छुँदैन । शिव अद्वैत भएकाले पूर्ण र सम्पूर्ण हुन् । द्वैतमा शंका उठ्छ, भेद हुन्छ, तेरो र मेरो हुन्छ ।

शिवरूपी बिउबाट उम्रिएको वृक्षका हाँगा, पात, फल, फूल आदिलाई लोक, प्रकृति, प्राणी भनिन्छ । शिवबाट सर्वप्रथम उत्पत्ति भएका महादेवलाई पहिलो देवता मानेर शंकरका नामले चिनिन्छ । एकाक्षरीकोषका अनुसार ‘शं’ को अर्थ ‘आनन्द’, ‘कर’ को अर्थ ‘गर्ने’ हुन्छ । शंकरले सबैलाई आनन्द, खुशी र सुख प्रदान गरेकाले महादेव भनियो । अहिले पनि सन्तानलाई बुबाआमाको नामबाट, शिष्यलाई गुरुको नामबाट चिनाइन्छ । यसकारण महादेवलाई शिवको नामले चिनियो । अहिले पनि फलानोको छोरा, यसको विद्यार्थी भन्ने चलन प्रयोग हुँदै आएको छ । संसारको विनाश न्यायपूर्ण तरिकाले गर्ने हुँदा पहिले शिवबाट महादेव उत्पन्न हुनुभयो । त्यसपछि विष्णु, ब्रम्हा र महादेवलाई कार्य गर्न प्रकृतिको आवश्यकता पर्ने हुनाले क्रमश: लक्ष्मी, ब्राह्मी र पार्वती (दशमहाविद्याकी प्रतिमूर्ति)को उत्पत्ति भयो । देवीदेवताको शरीर हुनेहुँदा देखिन्छ, बुझिन्छ तर शिव निराकार भएकाले अनुभव गर्न सकिएला साक्षात्कार गर्न सकिँदैन । ‘म शिवतत्व जान्दिनँ, महेश कस्ता छन् थाहा छैन, हे महादेव ¤  तिमीजस्ता छौ, त्यस्तै तिमीलाई नमस्कार छ । ‘शीङ् स्वप्ने’ धातुबाट शिव शब्द बन्दछ । ‘शेरते प्राणिनो यत्र स शिव:’ अर्थात् जन्मजन्मान्तरका पाप र तापबाट तड्पिएका प्राणीहरू विश्राम वा मुक्तिका लागि जहाँ सुत्दछन्, बस्ने इच्छा गर्दछन्, त्यही सर्वाधिष्ठान, सर्वाश्रयलाई शिव भनिन्छ । जीवात्माको विलयपछि आत्मामात्र रहन्छ, त्यही शिव वा कुटस्थ हो । अविनाशी, अचल, अक्षर जसलाई गीताले कुटस्थ (शिव) भनेको छ ।

तृष्णा लज्जा भयं दु:खं विषादो हर्ष एव च ।

एभिर्दोषैर्विनिर्मुक्त: स जीव: शिव उच्यते ।।–योगशिखोपनिषत् (१।११)

अर्थात् “तृष्णा, लज्जा, भय, दु:ख, विषाद, खुसी आदिले जसलाई छुँदैन वा जो यीबाट मुक्त छ, त्यसलाई शिव भनिन्छ ।” जो अबोध्य, अगम्य, अदृश्य हुँदाहुँदै पनि भक्तको वशमा छ, चिन्तकको ध्यानमा द्रवीभूत हुन्छ, शवरूपी अज्ञानी प्राणीलाई ज्ञानरूपी शिव बनाउँछ, ज्ञानको प्रकाश, विज्ञानको सुगन्ध, ध्यानको ध्येय नै शिव हो । जसलाई जानेपछि, बुझेपछि अर्को जान्न र बुझ्ने बाँकी हुँदैन तर ज्ञान, उपासना र भावबाट सजिलै प्राप्त हुनेलाई शिव भनिन्छ । देखेका, बुझेका, सुनेका र तीबाहेक सबै शिवका अंश हुन् ।

सबै धर्मग्रन्थले व्याख्या गरे, जो देखिँदैनन् तर जसको ईशारामा सारा कार्य भइरहेका छन्, त्यो निराकार शिव हो । साधकहरूले स्मरण, पूजा, भजन, चिन्तनबाट शिवको अनुभूति गर्छन् । शिवको ईशारामा ब्रम्हा, विष्णु र महादेवले काम गर्छन्, सरस्वती, लक्ष्मी र पार्वतीले जिम्मेवारी निभाउँछन्, ब्रह्माण्ड चलायमान हुन्छ । सृष्टि, पालन र संहारशक्ति जसमा छ, ऊर्जा र आत्मा जसमा रहन्छ, दृश्य र अदृश्य जसमा आश्रित छन् त्यही शिव हो । प्राणीका प्राण, प्रकृतिका इष्टदेव, जगत्का जनार्दन, जन्मको जरो, सृष्टिको श्वास, नेपालका कुलदेवतालाई शिव भनिन्छ ।




भर्खरै