९ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री दिशामा अघि बढाउन हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता भएको बताउनुभएको छ।

काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो २०२६’ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले वातावरण संरक्षण, ऊर्जा सुरक्षा र दिगो विकासका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालजस्तो विकासशील राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरको सवारी प्रदर्शनीको महत्व बहुआयामिक रहेको बताउनुभयो। यस्ता प्रदर्शनीले उपभोक्तालाई बजारमा भित्रिएका नयाँ प्रविधि, इन्धन दक्षता, सुरक्षा सुविधा तथा वातावरणीय प्रभावबारे प्रत्यक्ष जानकारी लिन र सही निर्णय गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।

उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतमध्ये एक रहेको उल्लेख गर्दै यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ युवालाई रोजगारी र प्राविधिक सीप प्रदान गरिरहेको बताउनुभयो। यसले युवालाई आत्मनिर्भर बन्ने आधारसमेत तयार गरेको उहाँको भनाइ थियो।

विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्न सके पेट्रोलियम पदार्थको आयातमा हुने ठूलो खर्च घटाएर व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो। साथै, कार्बन उत्सर्जन घटाउँदै सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न विद्युतीय सवारी निर्णायक बन्न सक्ने उहाँको धारणा थियो।

वातावरण संरक्षण र दिगो विकासका लागि विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। त्यसका लागि नीतिगत स्थायित्व कायम गर्नुका साथै चार्जिङ स्टेसनलगायत आवश्यक पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रको विकासबाट प्राप्त हुने लाभ समाजका सबै वर्ग र समुदायसम्म पुग्नुपर्ने बताउनुभयो। नयाँ सोच, नवप्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन गर्दै मुलुकभित्रै उद्यमशीलताको वातावरण निर्माण गर्न नाडा अटो शोले योगदान पुर्‍याउने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।

स्वदेशी कच्चा पदार्थमा आधारित अटोपार्ट्स उत्पादनलाई प्रवद्र्धन गर्दै नेपाललाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा अघि बढाउन व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “हाम्रो देश जलस्रोतमा धनी छ र हामी जलविद्युत् उत्पादनमा तीव्र गतिमा अघि बढिरहेका छौँ। यस्तो अवस्थामा पेट्रोलियम पदार्थको आयातमा बाहिरिने अर्बौँ रुपैयाँ जोगाउन विद्युतीय सवारी साधनको प्रयोग बढाउनु नै बुद्धिमानी र दिगो उपाय हो।”

नाडाको स्वर्ण जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले ‘नाडा अटो शो २०२६’ ले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक प्रविधि र हरित ऊर्जातर्फ उन्मुख गराउन सशक्त उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

देशको समृद्धिका लागि निजी क्षेत्र, सरकार र नागरिक समाजबीचको एकीकृत प्रयास अपरिहार्य रहेको उहाँले बताउनुभयो।