४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोमाञ्चक खेलमा इरानसँग श्रीलंका पराजित



अ+ अ-

काठमाडौँ । रोमाञ्चक खेलमा इरानले शुक्रवार श्रीलंकामाथि जित निकाल्दै काभा महिला भलिबल नेसन्स लिगमा पहिलो सफलता प्राप्त गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)इरानले श्रीलंकामाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगमा अंकको खाता खोलेको हो । इरानले दोस्रो खेलमा पहिलो जित निकाल्दा श्रीलंकाले भने दुई खेलमा पनि जित प्राप्त गर्न सकेको छैन ।

यसअघि पहिलो खेलमा इरान भारतसँग ३–१ र श्रीलंका आयोजक नेपालसँग ३–० को सोझो सेटमा पराजित भएका हुन् । पहिलो दुई सेट गुमाए पनि श्रीलंकाले उत्कृष्ट पुनरामनको संकेत गरेको थियो ।

इरानले पहिलो सेट २५–२० र दोस्रो २५–१२ ले सहजै आफ्नो बनाउन सफल भएको हो । तर श्रीलंकाले तेस्रो र चौथो सेट आफ्नो बनाउँदै खेलमा फर्कने संकेत गर्‍यो । यो सेटमा श्रीलंकाले २५–२२ र २५–१३ ले आफ्नो पक्षमा पार्दै उच्च आत्मबल बटुल्यो । तर पाँचौं तथा निर्णायक सेटमा भने श्रीलंकाले तालमेल मिलाउन सकेन । यो सेटमा एक समय श्रीलंका १०–१० को बराबरीको स्थितिमा थियो । तर, यसबीच तालमेल गुमाउँदा इरानले लगातार अंक बटुल्दै १५–११ ले सेट आफ्नो बनायो ।

यससँगै पाँच राष्ट्र सम्मिलित काभा महिला भलिबल नेसन्स लिगमा समान दुई खेलबाट इरानले दुई अंक र श्रीलंकाले एक अंक जोड्यो । यसअघि पहिलो खेलमा जित निकालेका नेपाल र भारतको समान एक खेलबाट तीन अंक छ ।

घरेलु टोली नेपाल र भारतले काभा महिला भलिबल नेसन्स लिगमा बिहीवार सुखद् शुरुवात गरेका थिए । अहिले भारतले दोस्रो खेल माल्दिभ्ससँग खेलिरहेको छ । नेपालले भने दोस्रो खेल शनिवार भारतसँग नै खेल्नेछ ।

राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा लिगको शिर्ष स्थानमा रहने टोली र चौथो हुने टोली तथा दोस्रो स्थानको टोली र तेस्रो स्थानको टोलीबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । नेपालसहित पाँच राष्ट्रले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता साउन २३ गतेसम्म हुँदैछ ।

प्रतियोगितामा नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्दैछन् । नेपाल लिगको शिर्ष स्थानमा रहँदै फाइनलमा पुग्न बलियो दाबेदारी प्रश्तुत गर्ने लक्ष्यमा छन् ।