३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन
अ+ अ-

काठमाडौं । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षालाई प्रभावकारी बनाउन आधुनिक प्रविधिको प्रयोगसहित व्यापक ट्रयाकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति रहबर अन्सारीले नेपाल आयल निगमलाई ग्यास सिलिण्डरको लगत व्यवस्थित गर्न तथा व्यावसायिक र घरायसी प्रयोजनका सिलिण्डर छुट्टाछुट्टै वर्गीकरण गर्न निर्देशन दिनुभएको हो।

सभापति अन्सारीले प्रत्येक ग्यास सिलिण्डरको ‘डिजिटल प्रोफाइल’ वा ‘चिना’ तयार गरी सिलिण्डरको उत्पत्ति, कहिले भरिएको र अन्तिमपटक कहिले परीक्षण गरिएको हो भन्ने विवरण डिजिटल प्रणालीमार्फत सहजै पत्ता लगाउन सकिने व्यवस्था गर्नुपर्ने बताउनुभयो।

उहाँले ट्रयाकिङ प्रणाली केवल सिलिण्डरको आवागमन निगरानीमा सीमित नभई बजारमा मौज्दात व्यवस्थापन, सिलिण्डरको रोटेशन बढाउने, उत्पादन तथा वितरण प्रणालीलाई व्यवस्थित गर्ने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने गरी व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो।

‘सिलिण्डरको उत्पत्ति कहाँ भयो, कहिले भरियो र यसको अन्तिम परीक्षण कहिले भयो भन्ने स्पष्ट जानकारी ट्रयाकिङ प्रणालीमार्फत थाहा हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘ट्रयाकिङ भनेको खाली ट्रयाकिङ मात्र होइन, यो कम्प्रिहेन्सिभ हुनुपर्छ। सिलिण्डरको स्टक कसरी व्यवस्थापन गर्ने र बढीभन्दा बढी रोटेशन कसरी गराउने भन्ने विषय पनि यसमा जोडिनुपर्छ।’

सभापति अन्सारीले प्रविधि प्रयोगको प्रारम्भिक लागत बढे पनि त्यसबाट प्राप्त हुने दीर्घकालीन लाभ बढी हुने बताउनुभयो। उहाँले नयाँ प्रविधि अपनाउन सुरुमा हिचकिचाहट भए पनि अन्ततः त्यसले उपभोक्ता र व्यवसाय दुवैलाई फाइदा पुग्ने उदाहरणका रूपमा वासिङ मेसिनको प्रयोगलाई प्रस्तुत गर्नुभयो।

उहाँले हालको विद्युतीय पूर्वाधारले मात्र सबै घरायसी आवश्यकता पूरा गर्न नसक्ने भएकाले आगामी १५ देखि २० वर्षसम्म एलपीजी ग्यासको सान्दर्भिकता कायम रहने बताउनुभयो।

समितिले नेपाल आयल निगमलाई आगामी एक वर्षभित्र ग्यास वितरण तथा व्यवस्थापनसँग सम्बन्धित समस्या समाधान गरी प्रणालीलाई व्यवस्थित गर्नसमेत निर्देशन दिएको छ।

सभापति अन्सारीले कुरियर सेवामा पार्सल ट्रयाक गरेजस्तै प्रत्येक ग्यास सिलिण्डरलाई छुट्टै ट्रयाकिङ आईडी उपलब्ध गराएर निगरानी गर्न सकिने बताउनुभयो। यस्तो प्रणालीले सिलिण्डरको व्यवस्थापनसँगै भुक्तानी प्रणालीलाई समेत थप व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो।

त्यसैगरी, व्यावसायिक क्षेत्रमा प्रयोग हुने सिलिण्डरमा उचित नाफा कायम गरी बिक्री गर्ने व्यवस्था मिलाउँदा निगमको वित्तीय अवस्था सुधार गर्न तथा घरायसी उपभोक्तालाई राहत दिन सहज हुने उहाँले बताउनुभयो। उहाँले नेपाल आयल निगमले उपभोक्तालाई दिँदै आएको सहुलियतलाई मात्र नभई निगमले व्यहोरिरहेको वित्तीय भारका रूपमा समेत ग्यासको व्यवस्थापनलाई हेर्नुपर्ने धारणा राख्नुभयो।

सभापति अन्सारीले व्यावसायिक र घरायसी प्रयोजनका सिलिण्डरको आकार तथा रंगमा समेत भिन्नता ल्याउन सुझाव दिनुभयो। यसबाट बजार अनुगमनलाई प्रभावकारी बनाउन र सिलिण्डरको दुरुपयोग रोक्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

बैठकमा सभापति अन्सारीले उद्योगी तथा व्यवसायीलाई राज्यले अघि सारेको नीति र प्रविधिसँग अभ्यस्त हुन आग्रह गर्दै ग्यास व्यवस्थापन प्रणाली सुधारका लागि नेपाल आयल निगमसँग सहकार्य गर्नसमेत आह्वान गर्नुभयो।