४ भाद्र २०८३, बिहीबार
,
Latest
कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

“नेपाल–जापान सम्बन्धमा जापानी भाषा र संस्कृतिको भूमिका”



अ+ अ-

नेपाल र जापान बीचको मैत्री सम्बन्ध धेरै पुरानो र महत्वपूर्ण छ । नेपालको विकासमा निरन्तर रूपमा सहयोग गर्दै आएका मित्र राष्ट्रहरू मध्ये जापान अग्रस्थानमा छ । सन् १९५६ सेप्टेम्बर १ मा दुई देश बीचमा औपचारिक रुपमा कुटनीतिक सम्बन्ध स्थापना भएपछि सात दशक लामो दुईपक्षीय मित्रता आपसी हित, नेपालको विकासमा जापानको साझेदारी र दुई देशका नागरिक बीचको सम्बन्ध फराकिलो र मजबुत बनाउँदै अगाडि बढिरहेको छ । दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानले आज आफूलाई सक्षम राष्ट्रको रुपमा खडा गरी विश्वका नेपाल जस्ता धेरै मुलुकहरूको विकासमा सहयोग गरिराखेको छ ।

दुई देश बीचको मित्रताको इतिहास हेर्दा सन् १८९९ मा जापानी भिक्षु इकाई कावागुची तिब्बती बौद्ध धर्म अध्ययनको सिलसिलामा तिब्बत जाने क्रममा नेपाल आउनुभएको बुझिन्छ र उहाँ नेपाल आउँदा गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नु भई लुम्बिनीको प्रारम्भिक विकासमा सहयोग पुर्‍याउनु भएको इतिहास छ । भिक्षु कावागुचीको भ्रमणको केही वर्षपछि राणा प्रधानमन्त्री देव शमशेरले आठ जना नेपाली विद्यार्थीलाई अध्ययन गर्न जापान पठाउने निर्णय गरी प्रधानमन्त्री चन्द्रशमशेरको कार्यकालमा सन् १९०२ मा यी आठ जना विद्यार्थीहरुलाई खनिज, यान्त्रिकी, खरखजाना, प्रविधि तथा उन्नत कृषि सम्बन्धी विषयमा अध्ययन गर्न जापान पठाइएको थियो । उनीहरु जापान पुग्ने र अध्ययनको लागि तेस्रो वैश्विक मुलुक जाने प्रथम नेपाली थिए । यी विद्यार्थीहरूले आफ्नो तीन वर्षे अध्ययन पूरा गरी सन् १९०५ मा नेपाल फर्की मुलुकको कृषि तथा औद्योगिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको पाइन्छ । यसरी नेपाल जापानको मैत्री सम्बन्ध औपचारिक रुपमा सन् २०५६ मा स्थापना भए पनि अनौपचारिक रुपमा सन् १८९९ को जापानी भिक्षु इकाई कावागुचीको नेपाल भ्रमणबाटै सुरुवात भएको देखिन्छ ।

नेपाल र जापान बीचमा कूटनीतिक स्थापना भए पश्चात् जापानले नेपालको औद्योगिक विकास, कृषि, जलविद्युत, शिक्षा, स्वास्थ्य, मानव संसाधन र पूर्वाधार विकास लगायतका क्षेत्रमा जापानी प्रविधि र सीपद्वारा महत्वपूर्ण सहयोग गर्दै आएको छ । नेपालमा अहिले करिब ३०० जापानीहरु सरकारी तथा गैरसरकारी क्षेत्र का विभिन्न संघसंस्थामा आबद्ध भई बसोबास गरिरहेका छन् भने जापानमा यतिबेला तीन लाखको हारहारीमा नेपालीहरू विभिन्न पेशा व्यवसाय गरेर तथा अध्ययनको क्रममा बसेको पाइन्छ । यसबाट पनि दुई देश बीचको सम्बन्ध र सहयोग, दुई सरकारको बीच र जनताको बीचमा समेत दिनानुदिन सुदृढ र मजबुत बन्दै गएको देखिन्छ । नेपाल र जापान बीचको सम्बन्ध स्थिर, दीर्घकालीन र विश्वासिलो छ भने जापानले नेपाललाई गर्दै आएको सहयोग निस्वार्थ र निरन्तर छ ।

जापानले दोस्रो विश्वयुद्ध पछिको कठिन परिस्थितिलाई अवसरको रुपमा लिँदै अहिले विश्वमै समृद्ध मुलुकहरू मध्ये अग्र स्थानमा रहेको छ । त्यस्तो कठिन परिस्थितिलाई पार गर्दै जापान अहिलेको अवस्थामा कसरी आइपुग्यो र यसको पछाडि के कारण छन् थाहा पाउन सकेमा हामीले जापानबाट लिनुपर्ने शिक्षा र सिक्नु पर्ने कुराहरुको बारेमा बुझ्न सजिलो हुन्छ ।

जापानी समाजले प्राकृतिक स्रोत साधन प्रति गहिरो सम्मान तथा संरक्षणको भावना राख्दै उन्नत प्रविधिहरुसँग समन्वय गरी ती स्रोतहरूको प्रभावकारी उपयोगबाट आर्थिक प्रगति हासिल गरी जापान आज विश्वको चौथो ठूलो अर्थतन्त्रको रूपमा स्थापित छ । जापानमा पुरानो परम्परा र आधुनिक जीवनशैलीको विशिष्ट समिश्रण रहेको देखिन्छ । जापान मुख्यत बौद्ध परम्पराबाट प्रभावित देश भएपनि जापानमा करिब ६५ प्रतिशत भन्दा बढी विवाह समारोह चर्चमा सम्पन्न हुने तथ्यले धर्मप्रति यसको लचिलो दृष्टिकोण र आधुनिक जीवनसँग अनुकूल हुने सामाजिक अभ्यासलाई प्रतिबिम्बित गर्छ ।

जापानीहरूले आफ्नो देश तथा आफू जापानी हुनुमा अत्यन्त गर्व गर्ने गर्छन् । देश प्रेमको गहिरो भावमा उनीहरूको राष्ट्रिय विकास प्रतिको दृढ प्रतिबद्धता स्पष्ट रूपमा देखिन्छ । उनीहरू राष्ट्रिय प्रगतिलाई सामूहिक दायित्वको रुपमा लिदै समाजको विकासको लागि एकताबद्ध भएर परिश्रमपूर्वक काम गर्छन् । “इमान्दारिता नै सर्वोत्तम नीति हो” भन्ने मान्यता जापानीहरूको दैनिक जीवनमा व्यावहारिक रुपमा स्पष्ट देखिन्छ । सार्वजनिक तथा निजी दुवै परिवेशमा नियम कानुनको कडाईका साथ पालना गरिन्छ जसले व्यवस्था कायम राख्न र अराजकता हुन नदिन सहयोग पुर्‍याउँछ । जापानमा समय निष्ठताप्रति उच्च सम्मान गर्दै समय व्यवस्थापनलाई प्राथमिकता दिइन्छ । लामो लाइनमा पनि मानिसहरुले उल्लेखनीय शान्तपना र धैर्य प्रदर्शन गर्छन्, जसबाट शान्तिपूर्ण र दृढ मानसिकता प्रवद्र्धन हुन्छ ।

जापानी उखान “नाना कोरोवी याओकि” जसको अर्थ “सात पटक लड, आठ पटक उठ” हो यसले जापानको लचिलोपन र धैर्यता झल्काउँछ र जति चुनौती आए पनि अगाडि बढिरहने दृढ इच्छाशक्ति विकास गर्न प्रोत्साहन गर्छ । जापानीहरु आफ्नो र अरुको गोपनियतालाई धेरै सम्मान गर्छन् । जापानमा जेष्ठ र वरिष्ठहरुलाई व्यवहारिक रुपमै सम्मान गरिन्छ । दैनिक रूपमा नै आदरपूर्वक व्यवहार गरिन्छ । जापानमा अनुशासनलाई सम्मानको रुपमा लिइन्छ जसले मानिसलाई आत्म नियन्त्रण र उद्देश्य सहित काम गर्न प्रेरित गर्छ । अनुशासन, मेहनत र जिम्मेवारी जापानी संस्कृति र जीवनका मुख्य आधार हुन् । यी मूल्य अपनाउँदा धैर्यता र आत्मनियन्त्रण बढ्छ र चुनौती पार गरेर लक्ष्य हासिल गर्न मद्दत पुग्छ ।
जापानका नीतिहरुले समानतालाई बढावा दिन्छन् । सबै सरकारी कर्मचारीलाई हरेक तीन वर्षमा सरुवा गर्नु एउटै क्षेत्रमा बस्ने सबै बालबालिकालाई प्राथमिक तहमा एउटै विद्यालयमा जानुपर्ने व्यवस्था समानताको उदाहरण हो । जापानमा हरेक पेशालाई सम्मान गरिन्छ र “सम्मान चाहियो भने सम्मान देऊ” भन्ने सोच सानैदेखि सिकाइन्छ । त्यसैले बच्चादेखि नै म ड्राइभर बन्छु, म नर्स बन्छु, म किसान बन्छु जस्ता पेशा छनोटका कुरा बच्चाहरुले निर्धक्क साथ व्यक्त गर्छन् । बालबालिकालाई सही गलत छुट्याउन र आफ्नो निर्णय आफै गर्न प्रोत्साहन गरिन्छ जसले आत्मनिर्भरता विकास गर्छ ।

जापानमा घरदेखि पार्क र विद्यालय जस्ता सार्वजनिक स्थानसम्म सफाईलाई अत्यन्त महत्व दिइन्छ। मानिसहरू आफ्नो वातावरणप्रति गर्व गर्छन् र समुदाय सुन्दर राख्न आफैले फोहोर सफा गर्ने बानी हुन्छ । जापानी समाजले साझा हितका लागि सहकार्यलाई महत्व दिन्छ जुन कुनै चाडपर्व, सामुदायिक कार्यक्रम र स्वयंसेवा गतिविधिमा देखिन्छ । जापानी संस्कृतिमा शिक्षालाई उच्च मान्यता दिइन्छ र अभिभावकहरूले आफ्ना बच्चाको शैक्षिक उपलब्धिलाई प्राथमिकता दिन्छन् । जापानको शिक्षा प्रणाली प्रतिस्पर्धात्मक छ र शिक्षा व्यावहारिक छ ।

जापानीहरूले ताजा र मौसमी उत्पादनमा केन्द्रित सन्तुलित खाना खाने, बेलुकाको खाना चाँडै खाने, खानापछि हल्का व्यायाम गर्ने र सुत्नुअघि तातो पानीमा डुबेर नुहाउने (ओफुरो बस्ने) गर्छन् जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । यस्ता खानपान र जीवनशैलीले समग्र स्वास्थ्य सुधार्ने र दीर्घायु बढाउन मद्दत गर्ने भएकै कारणले जापानमा १०० वर्ष नाघेको जनसङ्ख्या झन्डै एक लाख छ । जापानीहरू आफ्नो मेहनत र काममा गर्व गर्छन् जसले देशको विकासमा महत्वपूर्ण योगदान दिन्छ । जापानमा कडा कार्य अनुशासन भएकै कारण लामो समय काम गर्नु र ओभरटाइम गर्नु सामान्य हुन्छ । जापानी शब्द “गामान” (सहनशीलता/धैर्य) भन्ने अवधारणाले काममा निरन्तरता, धैर्य र कर्तव्य बोध प्रति जापानी प्रतिबद्धता देखाउँछ । “पहिला काम, पछि खाना” भन्ने भनाइले जापानीहरूले उनीहरूको जीवनमा सबैभन्दा बढी आफ्नो जिम्मेवारी र कामलाई प्राथमिकतामा राख्दछन् भन्ने बुझाउँछ ।

जापानको तीव्र आर्थिक विकास नेपाल जस्तो विकासोन्मुख देशहरूको लागि प्रेरणादायी उदाहरण बनेको छ । जापानको सफलताको मुख्य कारणमा माथि उल्लेखित कुराहरूको साथसाथै उच्च बचत र लगानी दर हो । जसले पूँजी संकलन छिटो गर्न मद्दत गर्‍यो । साथै जापानले गरेको दक्ष जनशक्ति विकास कामदार र संलग्न संघ संस्थाप्रतिको बलियो र दीर्घकालीन सम्बन्ध जापानीहरूको उच्च नागरिक जिम्मेवारी, प्रभावकारी राजनीतिक नेतृत्व, सुशासन लगायतका कुराहरुले अहिलेको जापान बनेको हो र यी कुराहरु हामीले जापान र जापानी जनताहरूबाट सिक्न सक्छौँ ।

जापान जस्तो विकसित मुलुकले पनि अहिले केही समस्याहरु भोगिरहेको छ । ढिलो विवाह र व्यस्त जीवनको दबाबको कारण जापानको घट्दो जन्मदर र बढ्दो वृद्धहरूको सङ्ख्या जापानको चुनौती बन्दै गएको छ । यसले भविष्यमा श्रम शक्ति घटाएर आर्थिक उत्पादकत्व र सामाजिक सहायतामा नकारात्मक असर पार्न सक्छ । अर्को कुरा जापानमा पश्चिमी देशको प्रभावले सामाजिक, धार्मिक र सांस्कृतिक परिवर्तन आउन गई जापानको आफ्नोपनमा ह्रास हुने सम्भावना बढ्दै गएको छ । यसको उदाहरणको रुपमा जापानका धेरै युवा जोडीहरूले जापानको पुरानो सिन्तो परम्परा र क्रिश्चियन शैली मिसाएर विवाह गर्ने गर्छन् । जसले आजको जापानी समाजमा देखिने धार्मिक विश्वास र अभ्यासको मिश्रणलाई दर्शाउँछ ।

अहिले जापानमा विदेशीहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । कुल विदेशीहरूको सङ्ख्या झन्डै ४२ लाख मध्ये नेपालीहरू मात्रै करिब तीन लाख छन् । यसरी बढ्दै गएको विदेशीहरूको सङ्ख्या जापान, जापानी जनता र जापानमा बस्ने विदेशीहरू खासगरी जो सँग जापानीज भाषा, संस्कृति र त्यहाँको नियम कानुनको ज्ञान छैन उनीहरूको लागि कठिन बन्दैछ । जापानीहरुलाई जापानको बारेमा पर्याप्त ज्ञान नभएका विदेशीहरूले जापानको संस्कृति, परम्परा र समुदायमा विकृति ल्याउँछन् कि भन्ने त्रास छ भने जापानमा बस्ने विदेशीहरूमा जापानी भाषा, संस्कृति, नियम, कानुनको ज्ञानको अभावमा उनीहरूको बसाइ कठिन बन्दैछ । जापानी चलन–संस्कृतिमा भएको काँचो माछा एवं काँचो अण्डा खाने, जुठो खाने, तातोपानीमा सामूहिक नुहाउने जस्ता अभ्यासमा मिल्न विदेशीहरूको लागि कठिनाई महसुस हुन सक्छ किनकि उनीहरूका लागि यी कुराहरु नयाँ हुन सक्छन् । जापानी भाषाको ज्ञान नहुँदा एक आपसको संवादमा नै समस्या आई जापानी समुदायहरूको वढ्दो विदेशीहरूको संख्याप्रति चिन्ता बढेको छ । विदेशीहरुले भोग्नुपर्ने भाषा र संस्कृतिको समस्या, सामाजिक एक्लोपना र जटिल प्रशासनिक प्रक्रिया जस्ता चुनौतीले गर्दा र जापान र जापानी जनताप्रति नै नकारात्मक धारणा बनाई दुवै तर्फ जटिल समस्याहरु आउन थालेका छन् । यस्तो अवस्थामा कतिपय नेपालीहरु आफ्नो जापान बस्ने समय अवधि नसकिँदै नेपाल फर्कने, आत्महत्या गर्ने लगायतका समाचार समेत बारम्बार आउन थालेका छन् । यस्ता घटनाहरु हुनु नेपाल र जापान दुवैको लागि दु:खद हुन् र भविष्यमा यस्ता घटनाले नेपाल जापानको मैत्री सम्बन्धमा नै क्षति पुग्न सक्छ । दुवै मुलुकका सरकार, जापानी समुदाय एवं जापान जाने वा त्यहाँ बस्ने नेपालीहरूले यी समस्याहरुलाई समयमै गम्भीरतापूर्वक लिई आपसी प्रयास र समझदारीमा समाधान तर्फ लाग्नुपर्छ ।

यसको लागि सर्वप्रथम जापान जाने नेपालीहरूसँग कम्तीमा मान्यता प्राप्त जापानी संस्थाले लिने परीक्षामा एनफोर  (N4) लेभलको जापानी भाषाको ज्ञान हुनु आवश्यक छ । अन्यथा भाषाको कारणले जापानको दैनिक जीवन नै कष्टकर हुन्छ । जापानी भाषाको साथै जापान जाने नेपालीहरूसँग जापानको संस्कृति, खाना, दैनिक जीवनयापन, आधारभूत नियम, कानुन लगायतका विषयमा ज्ञान हुनु अति आवश्यक छ । जापान जाने नेपालीहरू भिसा प्राप्त भएपछि यी कुराहरुमा ध्यान नदिने र सिप समेत नसिकी जापान जाने हुँदा अहिले त्यस्ता व्यक्तिहरु समस्यामा परेको देखिन्छ र भविष्यमा जापानी समुदायमा पनि नेपालीहरू प्रतिको धारणा नकारात्मक हुन सक्छ ।

त्यसको लागि जापान जाने नेपालीहरू खास गरी जो कुनै व्यवसाय वा कामको लागि जान्छन् उनीहरूको लागि गुणस्तरीय अभिमुखीकरण कार्यक्रमको आवश्यकता छ । औपचारिकताको लागि मात्र दिइने अहिलेको केही घण्टाको अभिमुखीकरण कार्यक्रम (Pre-departure Orentation) प्रभावकारी हुन सकेको छैन । जापान जानु अघि दिइने अभिमुखीकरण कार्यक्रमको लागि युवा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, वैदेशिक रोजगार विभाग, नेपाल स्थित जापानी राजदूतावास, जापानस्थित नेपाली राजदूतावास, जाइका, वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल जापान मैत्री सम्बन्धमा लामो समयदेखि निरन्तर रुपमा कार्यरत र जापानको विविध विषयमा ज्ञान भएका विज्ञहरू संलग्न संघ/संस्थाहरूसँग समन्वय गरी सम्बन्धित सरोकारवाला सबैको समन्वय र सहमतिमा अभिमुखीकरणको कम्तीमा ३–५ दिनको प्याकेज कोर्स तयार गरी नेपाल सरकारबाट स्वीकृत गरी त्यसैको आधारमा जापानको विविध विषयमा ज्ञान भएका प्रशिक्षकहरूबाट अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु अति आवश्यक छ ।

जापानी भाषा अध्ययनको लागि नेपालमा अहिले धेरै भाषा स्कुल छन् । भाषा परीक्षाको लागि समेत जापानकै मान्यता प्राप्त परीक्षा प्रणाली (JLPT/JFT) भएकोले यो प्रणाली अन्तर्गत कम्तीमा एनफोर (N4) लेभलको परीक्षा उत्तीर्ण गरेको व्यक्तिहरू मात्र जापान पठाउने र गुणस्तरीय अभिमुखीकरणको पाठ्यक्र बनाई अनिवार्य रुपमा अभिमुखीकरण तालीम प्राप्त गरी प्रमाणपत्र समेत लिएका व्यक्तिहरुलाई मात्र जापान पठाउने व्यवस्था गर्दा जापान जाने नेपाली र जापानी समुदाय दुवै लाभान्वित हुन्छन् । यसले जापानी समुदायको नेपाली प्रतिको धारणा अझै सकारात्मक भई नेपाल जापानबीचको मैत्री सम्बन्ध सुमधुर बनाउन समेत सहयोग पुग्नेछ । हाल जापानलाई विविध विषयमा काम गर्ने युवा जनशक्तिको खाँचो छ । नेपाली युवाहरुलाई रोजगारी चाहिएको छ । यस सन्दर्भमा हामीले बुझ्नुपर्ने कुरा के छ भने जापान र जापानी समाजले जापानी भाषा, संस्कृति विषयमा सिप समेत भएका गुणस्तरीय कामदार खोजेको छ । हामीले नेपालबाट रोजगारीको लागि युवाहरूलाई जापान पठाउँदा सङ्ख्यात्मक मात्र नभई गुणात्मक पक्षमा ध्यान दिनु आवश्यक छ ।

नेपालबाट भाषा, संस्कृति, दैनिक जीवनयापन र नियम कानुनको ज्ञान नभएका व्यक्तिहरू पठाउन हतार गर्ने होइन । यी विषयको ज्ञान र सीप भएका गुणस्तरीय युवाहरु रोजगारीको लागि जापान पठाउने भरपर्दो र दिगो प्रणालीको विकास गरी त्यही प्रणाली मार्फत नै जापान पठाउनुपर्छ । यसको लागि सरोकारवाला सबैको ध्यान जानु जरुरी छ र यसले हालको नेपाल जापान मैत्री सम्बन्ध भोलिका दिनमा थप मजबुत बनाउँदै जापान जाने नेपाली युवाहरु र जापानी समुदाय दुवैलाई सहयोग पुग्नेछ ।

 विगत तीन दशकदेखि नेपाल जापान मैत्री सम्बन्ध सुदृढीकरणमा सक्रिय डा. भुसाल नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र जाइका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रीज (जाफ्स) का अध्यक्ष एवं नेपाल कृषिप्रवर्धन आयोजना (अप्पीन) का टिम लिडर/कृषि विज्ञ हुन् । उनले जापानको एहिमे युनिभर्सिटीबाट कृषि विषयमा विद्यावारिधि गरेका छन् ।