१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सका लागि प्रस्तावित स्थान कति सुरक्षित ?

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्सका लागि प्रस्तावित स्थान कति सुरक्षित ?
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको अहिले (सिन्धुपाल्चोकको हेलम्बु)मा रहेको हेडवर्क्स करिब एक किलोमिटरमाथि सार्कस्थलीमा सार्ने गरी नयाँ स्थान प्रस्तावित गरिएको छ । हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजना सुधारको काम अगाडि बढाउँदा विपत्को जोखिम बढी भएको भन्दै र लागत बढी लाग्ने भन्दै नयाँ स्थानमा हेडवर्क्स बनाउने तयारी गरिएको हो ।

खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना नै उपत्यकावासीको धारामा मेलम्चीको खानेपानी उपलब्ध गराउनका लागि आयोजना सुधारको कार्य अगाडि बढाउन लागेको हो । आयोजनालाई दिगो बनाउनका लागि नयाँ स्थानमा आयोजनाको हेडवर्क्स सार्नुको विकल्प नभएको विकास समितिको ठहर छ ।

हेडवर्क्स बनाउने भनिएको नयाँ स्थान तुलनात्मकरुपमा सुरक्षित रहेको रहेको अध्ययन समिति तथा मेलम्ची खानेपानी विकास समितिको दाबी छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले नयाँ हेडवर्क्स निर्माणका पहिचान गरिएको स्थान हाल हेडवर्क्स भएको स्थानबाट एक किलोमिटरको दूरीमा रहेको बताउनुभयो । उहाँले उक्त स्थानमा एक किलोमिटरभन्दा कम लम्बाइको सुरुङ निर्माण गरे पुग्ने देखिएकाले सार्कस्थलीमै नयाँ हेडवर्क्सका लागि उपयुक्त रहेको जिकिर गर्नुभयो ।

“प्रस्तावित नयाँ स्थान हाल हेडवर्क्स रहेको स्थानभन्दा करिब एक सय मिटर उचाइमा छ । ‘फ्लसिङ’ प्रणालीबाट निर्माण गर्न सहज हुने तथा विगतमा जस्तै प्राकृतिक विपत् आएमा कम प्रभाव पर्ने अध्ययनले देखाएको छ”, उहाँले भन्नुभयो, “प्रस्तावित स्थानको दायाँ, बायाँ र पिँधमा समेत चट्टान अवस्थित रहेकाले दिगो हुने देखिएकाले प्रस्तावित नयाँ स्थान सुरक्षित छ ।”

उहाँले हरेक मनसुनको औसत बाढी र यस्तै किसिमको बाढीबाट संरचनामा कम प्रभाव पर्ने, हरेक वर्ष बर्सातको समयमा जम्मा हुनसक्ने ढुङ्गा, माटो र गेग्रानबाट पानी पथान्तरणमा प्रतिकूल असर नपर्ने देखिएको बताउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानका लागि प्रारम्भिक अनुमानित खर्च रु चार अर्ब ५० करोड लाग्न सक्ने भन्दै उहाँले लागत व्यवस्थापनका लागि दातृ निकायसँग पनि अनुरोध गर्ने बताउनुभयो । उहाँका अनुसार नयाँ हेडवर्क्स निर्माणका लागि पाँच वर्ष लाग्नेछ ।

अन्सारीले ग्राभेल र सेडिमेन्ट हटाउने प्रणाली सुरुङभित्रै निर्माण गर्ने, बाढीको कारणले निर्मित संरचनामा कुनै असर नपर्ने, प्रस्तावित नयाँ इन्टेकसम्म पुग्नो लागि सुरुङभित्रै मार्ग निर्माण गर्ने बताउनुभयो । बर्सातको समयमा पनि रेखदेख, मर्मत र सम्भारमा समस्या नपर्ने, याङ्ग्रीबाट आउने सुरुङलाई पनि हालको मेलम्ची सुरुङमा सिधै जोडिने भएकाले कुनै एक नदीमा समस्या भएमा पनि अरू दुईवटा नदीबाट निरन्तररुपमा काठमाडौँ उपत्यकामा पानी प्रवाह गर्न सकिने उहाँको भनाइ छ ।

“एसियाली विकास बैङ्कको प्राविधिक सहयोगमा बाढी आउनुको सम्भावित कारण र दिगो समाधानको उपायको सम्बन्धमा अध्ययन गरिएको छ”, उहाँले भन्नुभयो, “नयाँ हेडवर्क्सका लागि डिजाइन अवधारणा तयार गरी हेडवर्क्स निर्माणका लागि स्थान पहिचान गरिएको छ । विद्यमान हेडवर्क्सको दिगो उपयोगको सम्बन्धमा अध्ययन गर्ने र दिगो समाधानको अवधारणा अध्ययन गरी सोबारे राय दिने काम भइरहेको छ ।”

हालको हेडवर्क्स प्रयोगमा समस्या

हालको हेडवर्क्स प्रयोगका लागि खोलालाई १० किलोमिटरभन्दा बढी गहिराएर साबिककै सतहमा ल्याउनुपर्ने भएकाले अहिलेको स्थानमा हेडवर्क्स प्रयोग गर्दा थप समस्या उत्पन्न हुनसक्ने अन्सारीले बताउनुभयो । “हाल जम्मा भएको गेग्रानको करिब ७० देखि ८० प्रतिशतसम्म हटाउनुपर्ने र खोलामा जम्मा भएको गेग्रान एकपटक हटाए पनि हरेक वर्ष बर्षातको समयमा पुन: गेग्रान जम्मा हुने अवस्था आउनसक्छ”, उहाँले भन्नुभयो, “भूकम्प पश्चात हेडवर्क्सको विपरीत बायाँ किनारामा ठूलो पहिरो सक्रिय रहेकाले कुनै पनि समयमा हेडवर्क्समा क्षति गर्नसक्ने सम्भावना छ । साथै यस सवलीकरणका लागि ठूलो रकम आवश्यक पर्ने तर दिगो हुने सम्भावना कम छ ।”

हाइड्रोलोजी विज्ञ तथा अध्ययन कार्यदल प्रमुख प्रा डा विष्णुप्रसाद पाण्डेले पनि हालको हेडवर्क्स पानी जम्ने स्थानमा पर्ने भएकाले हेडवर्क्स सञ्चालन गर्न चुनौती देखिएकाले नयाँ स्थानमा सार्नुपर्ने बताउनहुन्छ । “पुरानै स्थानमा हेडवर्क्स रहँदा फ्लसिङ सुविधाको व्यवस्था गर्नुपर्छ, निकास फ्लसिङ व्यवस्थाका लागि नदीको घुमाउरो एल प्रोफाइल परिमार्जन गर्न गाह्रो देखिने चुनौतीहरु छन्”, उहाँले भन्नुभयो, “बायाँ किनारमा पहिरोको स्थिरीकरणका लागि ठूलो लगानीको आवश्यकता पर्दछ, जुन लामो समयसम्म टिकाउ नहुन पनि सक्ने भएकाले अन्यत्र हेडवर्क्स सार्नु उपयुक्त हुन्छ ।”

मेलम्ची खानेपानी आयोजनालाई स्थायी बनाउन मध्यकालीन र दीर्घकालीन समाधानको समेत प्रस्ताव गरिएको छ । “दीर्घकालीन समस्या समाधानका लागि सार्कस्थलीमा नै आयोजना सार्नुको विकल्प छैन,” पाण्डेले भन्नुभयो, “मध्यकालीन समाधानका प्रस्तावित सबै उपायहरू डिजाइन/लागू गर्न करिब साढे दुई वर्ष लाग्छ । बायाँ किनारबाट हुनसक्ने पहिरोसँग सम्बन्धित जोखिम भने कायमै रहन्छ ।”

मेलम्चीमा यसअघि नै ठूलो मात्रामा लगानी भइसकेको र टनेल पूर्वाधारमा बजेटको ठूलो हिस्सा खर्च भएकाले पुरानै संरचना प्रयोग गरी हेडवर्क्स सार्नुपर्ने उहाँको सुझाव छ । “सन् २०२१ को बाढीले हेडवर्क्समा क्षति पुर्‍याए पनि धेरै लागतमा निर्माण भएका टनेल तथा अन्य संरचनाहरु सुरक्षित छन् । ती संरचनालाई सदुपयोग गर्दै पहिले नै उपलब्ध पूर्वाधारको सदुपयोग गर्नु उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो ।

यद्यपि हेडवर्क्स सार्ने हालको प्रस्तावित नयाँ स्थान सुरक्षित रहेको भन्ने आधार नभएको भन्दै आलोचनासमेत भइरहेको छ । सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई दिगो व्यवस्थापन गर्दै बाह्रै महिना पानी ल्याउनका लागि सार्कस्थलीमा आयोजनाको हेडवर्क्स बनाउने तयारी गरिरहेका पनि उक्त स्थान पनि असुरक्षित रहेको उहाँको भनाइ छ । “सार्कस्थली कसरी सुरक्षित हुन्छ रु सुरक्षित हुन्छ भनेर त्यहाँ आयोजना सार्नु गलत छ, मुहान सार्ने निर्णय गलत हो”, उहाँले भन्नुभयो ।

गत साता मन्त्रालयले आयोजना गरेको दिगो व्यवस्थापनसम्बन्धी अन्तक्रियामा धारणा राख्दै अन्य सरोकारवालाहरुले पनि सार्कस्थली सुरक्षित भन्ने आधारको विषयमा प्रश्न उठाउनुभएको थियो ।

तीन दशकको पखाइपछि बनाइएको आयोजना अनिश्चित बनेसँगै उपभोक्तालाई खानेपानीको समस्या फेरि पनि झेल्नुपर्ने अवस्था आएको उहाँहरुको भनाइ थियो । गत साउन २८ र २९ गते आएको बाढीले पहिलेको अस्थायी संरचनामा क्षति हुँदा मेलम्चीको खानेपानी आयोजनाबाट पानीको आपूर्ति बन्द गर्नुपरेको थियो । आयोजनाको अस्थायी सुधारभएपछि गत माघ १ गते उपत्यकामा खानेपानी वितरण भएको थियो ।

विज्ञहरुले भने कम जोखिमपूर्ण स्थानमा आयोजना निर्माण गर्न सुझाव दिनुभएको छ । विगतमा पनि मेलम्चीको भौगर्भिक अवस्थाबारेमा राम्रो अध्ययन नहुँदा मेलम्ची आयोजनामा समस्या भएको उहाँहरुको भनाइ छ ।

भूगर्भविद् डा सुबोध ढकालले आयोजना सुधार कार्य प्रारम्भ गर्नुअघि नै प्रास्तावित नयाँ स्थान जोखिमपूर्ण रहेको वा नरहेको विषयमा गहन रुपमा अध्ययन गर्न सुझाव दिनुभएको छ । “आयोजना क्षेत्रको मात्रै अध्ययन गरेर हुँदैन, तल्लो र माथिल्लो तटीय क्षेत्रको पनि अध्ययन गर्न जरुरी छ, पहिरोको सम्भावना कतिको छ ? विगतमा के भएको थियो ? कसरी विपत्मैत्री आयोजना निर्माण गर्ने विषयमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “यदि आयोजनामा फेरि पनि लापरबाही गर्न थालियो भने अब हेडवर्क्स स्थानान्तरण गर्दैमा आयोजना सुरक्षित हुने छैन ।” उपत्यकामा जनसङ्ख्याको बढ्दो चापसँगै खानेपानीको मागअनुसार आपूर्ति व्यवस्थापन सहज हुन सकिरहेको छैन । हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी वितरण भइरहेको छ । रासस