१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

सफलतालाई छेक्दैन अपाङ्गताले

सफलतालाई छेक्दैन अपाङ्गताले
अ अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन हुनुहुन्छ । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा इपिएम (एजुकेसन म्यानेजमेन्ट प्लान)मा स्नातकोत्तर अध्ययनरत विश्वकर्मा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा खुला, दलित र अपाङ्ग गरी तीनवटा समूहमा नाम निकाल्न सफल हुनुभएको छ ।

पहिलोपटक शिक्षक सेवा आयोगको परीक्षा दिनुभएका विश्वकर्माले शिक्षा विकास तथा समन्वय एकाइबाट मङ्गलबार नियुक्तिपत्रसमेत बुझिसक्नुभएको छ । आठ वर्षको उमेरमा आँखाको ज्योति गुमाउनुभएका विश्वकर्मा स्थायी शिक्षकमा नाम निकालेर नगरपालिकामा सिफारिस हुनुभएको छ ।

कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिनुभएका विश्वकर्मा दोस्रो पेपरमा एक सय १० जनाले परीक्षा दिएकामा ७८ जना उत्तीर्ण हुँदा ४९औँ नंमा नाम निकाल्नुभएको थियो । अरूले पढेर सुनाएको भरमा शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गर्नुभएका दिक्तेलस्थित सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङमा सिफारिस हुने निश्चित भएको छ ।

विसं २०६९ मा आफ्नै गाउँ खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका विश्वकर्मा दुई वर्षअघिदेखि दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलमा सङ्गीत शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । विसं २०६५/६६ र ०६७ सालसम्म तीन वर्ष श्री सङ्गीत पाठशाला डिल्लीबजार काठमाडौँमा बसेर सङ्गीत सिक्नुभएका अहिले साइनो कला केन्द्र, खोटाङका अध्यक्ष हुनुहुन्छ ।

विसं २०७१ देखि सङ्गीतमा लाग्नुभएका विश्वकर्माका छवटा गीत रेकर्ड पनि भएका छन् । गीतसङ्गीतसँगै अध्ययनलाई समेत निरन्तरता दिँदै आउनुभएका विश्वकर्मा दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक हुनुले धेरैका लागि प्रेरणाका स्रोत बन्नुभएको छ ।

कक्षा–८ मा अध्ययन गर्दै गर्दा वैवाहिक जीवनमा बाँधिनुभएका विश्वकर्माको श्रीमतीसहित एक छोरा र एक छोरी छन् । वाद्यवादनमा समेत उत्तिकै दखल राख्नुहुने विश्वकर्माले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी वेदना राईसँग १२ वर्षअघि अन्तरजातीय विवाह गर्नुभएको हो ।

आँखामा दृष्टि नभए पनि व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा शिक्षण गर्ने विश्वकर्माले बताउनुभएको छ । “घरमा पूर्वतयारी गरेर कक्षामा प्रवेश गर्छु । कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउने छु”, उहाँले भन्नुभयो, “मसँग ट्युसन पढाएको अनुभव पनि छ । जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड, पात, फूललगायत देखाएर पढाउन सकिन्छ ।”

विश्वकर्मा आठ वर्षको उमेर हुँदा टाउकोमा आएको पिलोका कारण दृष्टिविहीन भएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नसा बिग्रेका कारण आफूले ज्योति गुमाएको विश्वकर्माको भनाइ छ ।

उता, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उहाँकी श्रीमती सूर्यमायाँ लिम्बूले पनि विश्वकर्मासँगै स्थायी शिक्षकमा नाम निकाल्नुभएको छ । उहाँहरु दुवैजनाले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय खोटाङबाट सोमबार नियुक्तिपत्र बुझ्नुभएको छ ।

जन्मजात दृष्टिविहीन राई दम्पतीले मङ्गलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसक्नुभएको छ । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित मावि र लिम्बू केपिलासगढी गाउँपालिका–३ बास्पानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिस हुनुभएको छ ।

स्थायी शिक्षकमा नाम निकाल्न सफल दृष्टिविहीन राई दम्पती दुवैजनाले सहयोगी राखेर परीक्षा दिनुभएको थियो । राई एक वर्षदेखि भगवती मावि बेलबारीमा मावि राहतमा शिक्षकमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँकी श्रीमती लिम्बू भने हालसम्म पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा अध्यापन गरिरहनुभएको थियो । खोटाङबाट धरान झरेका राई र बराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरी निवासी लिम्बूबीच २०७७ सालमा विवाह भएको थियो ।

राई आँखाको उपचारका सिलसिलामा बाल्यवस्थामै धरान झरेको सुनाउनुहुन्छ । धरानमा राईको आँखाको ज्योति फर्किएन तर धरानले उचित शिक्षादीक्षा दिलाएको थियो । स्थायी शिक्षकमा नाम निस्केपछि राई श्रीमतीसहित गाउँ फर्किनुभएको छ ।

दृष्टिविहीन विश्वकर्मा र राई दम्पतीको सफलताले सपाङ्ग व्यक्तिका लागि चुनौती थपिएको छ । मेहनत गर्नेका लागि सफलता चुम्न शारीरिक अपाङ्गताले नछेक्ने विश्वकर्मा र राई दम्पतीको सफलता उदाहरणीय बनेको छ ।

गत जेठ २० गते पहिलो पेपर, असोज १३ गते दोस्रो पेपरको लिखित परीक्षा तथा फागुन २९ गतेको अन्तर्वार्ता भएको शिक्षक सेवा आयोगको परीक्षामा विश्वकर्मा र राई दम्पतीसँगै ७८ जना स्थायी शिक्षक भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा ९२ जना माग भएकामा ७८ जनाले मात्र नाम निकाल्न सफल भएका छन् । रासस