१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल

नातिपुस्तासँगै रिपोटिङमा दौडिनुहुन्छ असीवर्षे पत्रकार छेत्री

नातिपुस्तासँगै रिपोटिङमा दौडिनुहुन्छ असीवर्षे पत्रकार छेत्री
अ अ+ अ-

झापा । काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई उमेरले छेक्दैन । “बुढ्यौली लाग्यो भन्ने त अल्छी गर्नेहरुको बहाना मात्र हो,” भद्रपुर नगरपालिका–६ भानुनगरका ८० वर्षीय गोविन्दचन्द छेत्रीलाई सक्रिय पत्रकारिता गर्न उमेर बाधक भएको छैन । मोटरसाइकल हाँकेर झापाको उत्तरी भेग बाहुनडाँगीदेखि दक्षिणको गौरीगञ्जसम्म कलम, कापी र मोबाइल बोकेर फिल्ड रिपोर्टिङमा हिँड्नुहुने छेत्री भन्नुहुन्छ, “एक दिन फिल्ड नगई घरमा बस्नु पर्‍यो भने दिक्क लाग्छ । स्थलगत रिपोर्टिङमा गएपछि नयाँ समाचार भेटिन्छ । नयाँ मानिस र परिवेशसँग घुलमिल भइन्छ । त्यसमै आनन्द लाग्छ ।”

उहाँ अहिले पनि काठमाडौँबाट प्रकाशित ‘द हिमालयन टाइम्स’ अङ्ग्रेजी दैनिक र झापाबाट प्रकाशित ‘नयाँ सन्दर्भ साप्ताहिक’ पत्रिकामा उहाँ नियमित समाचार लेखन र सम्पादन गरिरहनु भएको छ । असीवर्षे पाको उमेरमा यसरी मोटरसाइकल हाँकेर गाउँ गाउँ पुग्ने झापाका अग्रज पत्रकार छेत्रीको जोस, जाँगर र पत्रकारिताप्रतिको लगाव उहाँको नाति पुस्ताका पत्रकारहरुका लागि प्रेरणादायी बनेको छ । कुनै ठूलो घटना भयो या कुनै सभाको आयोजना भएको थाहा पाउने बित्तिकै उहाँ समाचारका लागि घटनास्थलमै पुग्न रुचाउनुहुन्छ । नयाँ पुस्ताका पत्रकारहरु फिल्डमा जाँदा छेत्रीलाई पछ्याउन रुचाउँछन् । सक्रिय पत्रकारिता जीवनको ५५ वर्षे अनुभवहरु सुन्न र जान्न समेत नयाँ पुस्ताका पत्रकारहरु उहाँसँगै रिपोर्टिङमा जाने गर्छन् ।

पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभव

२००१ जेठ २ गते धनकुटामा जन्मनुभएका छेत्री बुबा टेकबहादुर थापा र आमा कृष्णमाया थापासँगै १८ वर्षको किशोर उमेरमै भद्रपुर बसाइँ आउनुभएको थियो । भद्रपुरको तत्कालीन मेची इन्टरकलेज (हाल मेची बहुमुखी क्याम्पस) मा स्नातक तहसम्म अध्ययन गर्नुभएका उहाँले २०२५ सालमा भद्रपुरबाट प्रकाशित ‘युवक साप्ताहिक’बाट पत्रकारिता प्रारम्भ गर्नुभएको थियो ।

उहाँले पञ्चायती व्यवस्थाको निरङ्कुश शासनकालदेखि प्रजातन्त्र र गणतन्त्रकालीन शासन व्यवस्थाको पत्रकारिताको अनुभव हासिल गर्नुभयो । “निर्दलीय पञ्चायती व्यवस्थामा राज्य नियन्त्रित पत्रकारिता थियो,” उहाँले उसबेलाको पत्रकारिता अनुभव सुनाउँदै भन्नुभयो, “राजपरिवार र सत्ताधारी पञ्चहरुका बारेमा नकारात्मक समाचार लेख्यो भने सिधै मुद्दा लगाएर जेलमा कोचिदिन्थे । तैपनि कतिपय पत्रकारहरुले निडर भएर सत्ताको विरोध र प्रतिबन्धित राजनीतिक दलहरुको समर्थनमा समाचार र विचार सम्प्रेषण गर्दथे ।”

अहिले प्रविधिमा आएको क्रान्तिले पत्रकारिता गर्नका लागि सहज माध्यम र उपकरणहरु उपलब्ध भएको उहाँको बुझाइ छ । अहिलेजस्तो हातहातमा मोबाइल, कम्प्युटर र इन्टरनेट नभएको जमानामा हातैले लेखेका समाचारलाई चिट्ठीमा हालेर हुलाकबाट काठमाडौँमा रहेको पत्रिकाको कार्यालयमा पठाउने गरेको उहाँको कतिपय अनुभूति सुन्दा धेरैलाई दन्त्यकथा जस्तो लाग्छ । “समाचार लेखेर हुलाकबाट पत्रिकाको कार्यालयमा पठाउनु पथ्र्यो,” उहाँले सुनाउनुभयो, “हप्तामा एउटा बार पत्रिका प्रकाशित हुन्थ्यो । हुलाकबाट पठाउँदा ढिलो हुन्छ भन्ने लाग्यो भने चन्द्रगढीमा आकाशवाणी ९आवा० को अफिसमा गएर छोटो साङ्केतिक खबर पत्रिकाका सम्पादकलाई पठाउँथ्यौँ ।”

छेत्रीले पत्रकारिता गरेको सुरुका दुई दशकसम्म आम नेपालीमा रेडियो र टिभीको पहुँच न्यून थियो । सडकहरु बनेका थिएनन् । बनेका सडकमा पनि पुल थिएनन् । यातायातका साधन नहुँदा दिनभरि हिँडेर फिल्ड रिपोर्टिङ गर्नु परेको उहाँले बताउनुभयो । स्थानीय पत्रपत्रिका र पत्रकारहरुको सङ्ख्या पनि थोरै थियो ।

झापामा पत्रकारिताको पहिलो अभ्यास गर्ने ऐतिहासिक व्यक्ति स्व श्यामकृष्ण उपाध्याय हुनुहुन्थ्यो । उहाँले २०१० सालमा पहिलो साप्ताहिक पत्रिका ‘केटो’ र २०२१ सालमा दोस्रो पत्रिका ‘युवक’ प्रकाशित गर्नुभएको थियो । पत्रकार छेत्रीले स्व श्यामकृष्ण उपाध्यायलाई गुरु मानेर ‘युवक’बाट पत्रकारिता थालनी गर्नुभयो । उपाध्यायले २०२७ सालदेखि ‘आलोक’ नामक अर्को साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गर्नुभयो । ‘आलोक’मा छेत्री लामो समय कार्यरत हुनुभयो ।

पञ्चायतकालमा भद्रपुर झापाको प्रशासनिक र राजनीतिक सदरमुकाम मात्र नभएर पत्रकारिता र साहित्यको समेत केन्द्रविन्दु थियो । अधिकांश पत्रपत्रिका भद्रपुरबाटै प्रकाशित हुन्थे । २०३० सालमा भद्रपुरबाट चुडामणि रेग्मीले ‘युगज्ञान’ नामक साप्ताहिक पत्रिका सुरु गर्नुभयो तर रेग्मी मेची क्याम्पसको प्राध्यापक समेत रहनुभएको हुँदा प्रशासनले उहाँलाई पत्रिकाको सम्पादक बन्न विभिन्न बाधा–व्यवधान खडा गर्‍यो । त्यहीबेला छेत्रीले ‘युगज्ञान’को सम्पादक बनेर पत्रकारितालाई अघि बढाउनुभयो ।

उहाँले पञ्चायतकालीन काठमाडौँको ‘नयाँ सन्देश’, ‘जनमञ्च’, ‘विमर्श’लगायत लोकप्रिय र प्रजातान्त्रिक धारका पत्रपत्रिकामा समाचारदाता बनेर काम गर्नुभयो । निर्दलीय कालका नरोकिएको उहाँको पत्रकारिता यात्रा २०४६ सालमा प्रजातन्त्र बहालीपछि झन् उर्वर बनेर अघि बढ्यो । २०४९ देखि २०५२ सालसम्म गोरखापत्र दैनिकमा झापा समाचारदाता बन्नुभएको उहाँले त्यसपछि गृहजिल्लामै नयाँ पत्रपत्रिका स्थापना गरेर नेतृत्व गर्नुभयो । २०५२ सालमा उहाँकै सम्पादकत्वमा ‘पूर्वाञ्चल दैनिक’को प्रकाशन आरम्भ भयो । विर्तामोडबाट प्रकाशित ‘अर्जुनधारा दैनिक’को उहाँ संस्थापक प्रधान सम्पादक हुनुहुन्थ्यो । भद्रपुरको पहिलो रेडियो ‘नागरिक एफएम’को उहाँ संस्थापक प्रबन्ध सम्पादक हुनुहुन्थ्यो । उहाँले राजधानीबाट प्रकाशित ‘अन्नपूर्ण पोष्ट’को समेत झापा समाचारदाता भएर कार्य गर्नुभयो । हाल भद्रपुरबाट उहाँकै प्रधान सम्पादकत्वमा ‘नयाँ सन्दर्भ साप्ताहिक’को नियमित प्रकाशन भइरहेको छ । स्थानीय पत्रिकासँगै उहाँ हाल काठमाडौँको अङ्ग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’मा कार्यरत हुनुहुन्छ ।

पत्रकारिताका अथक योद्धा

समाजको ऐना मात्र नभएर पत्रकारिताले समाज रुपान्तरणको माध्यमका रुपमा पहिचान बनाएको छ । पत्रकारिता लोकतन्त्रको मानक भए तापनि विभेदकारी बन्न नहुने उहाँको दृढ धारणा छ । पञ्चायतकालमा सत्ता पक्षधरताले प्राथमिकता पाए जस्तै अहिले राजनीतिक दलहरुको पक्षधरताले गर्दा पत्रकारिता जनमुखी बन्न नसकिरहेको उहाँको भनाइ छ ।

नेपालका पुराना पत्रकारहरु हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, शिवबहादुर कार्की, रमेशनाथ पाण्डे लगायतको समकक्षी पत्रकार गोविन्दचन्द छेत्रीले २०३१ सालमा मेची अञ्चल पत्रकार सङ्घको पहिलो सभापति बनेर पत्रकारिता क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । उहाँ २०४९ सालमा नेपाल पत्रकार महासङ्घ झापाको एक कार्यकाल अध्यक्ष, २०६१ देखि २०६७ सम्म नेपाल प्रेस युनियन झापाको दुई कार्यकाल सभापति, २०६५ देखि २०६७ सम्म नेपाल पत्रकार महासङ्घको केन्द्रीय सल्लाहकार र २०७३ सालमा प्रेस क्लब भद्रपुरको अध्यक्ष हुनुभयो ।

पञ्चायतकालमा प्रजातन्त्र बहालीका लागि पत्रकारिताको माध्यमबाट भूमिका निर्वाह गर्नुभएको छेत्रीले जनप्रतिनिधि र शिक्षकका रुपमा पनि सेवा गर्नुभयो । २०३८ सालमा भएको नगर निर्वाचनमा उहाँ प्रजातन्त्र पक्षीय उम्मेदवार बनेर भद्रपुर नगरपञ्चायतको उपप्रधानपञ्च निर्वाचित हुनुभयो । “जनप्रतिनिधि र शिक्षक भएर काम गर्दा पनि मैले पत्रकारिता पेसालाई भने अक्षुण्ण राखेँ,” उहाँले भन्नुभयो, “२०३९ सालमा म कार्यवाहक प्रधानपञ्च बनेको थिएँ । त्यहीबेला बिपी कोइरालाको निधनको खबर आयो । नगर पञ्चायतमा केही सदस्यको विमति हुँदाहुँदै मैले बिपीको निधनमा शोक व्यक्त गर्न एक दिन नगरपालिका बिदा गर्ने घोषणा गरेँ । धेरैले मेरो यो निर्णयलाई अविस्मरणीय मानेका छन् ।”

पत्रकारिताले परिवारको गर्जो टार्दैन भन्ने बुझ्दा बुझ्दै पनि उहाँले पेसाबाट कहिल्यै पलायन हुने सोच्नु भएन । बरु अरू पेसा समेत गरेर पत्रकारितालाई धानिरहनुभयो । २०२१ देखि २०२८ सम्म उहाँ भद्रपुरको शारदा माध्यमिक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । राजनीति र शिक्षण पेसामा प्रशस्त अवसर हुँदाहुँदै पनि उहाँले पत्रकारितालाई नै आजीवन पेसा बनाइरहनु भएको छ ।

पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरुप सङ्घसंस्थाहरुबाट उहाँलाई विभिन्न पुरस्कार र सम्मान प्रदान गरिएको छ । त्यसो त पत्रकारिताकै कारण सत्ताधारीहरुले उहाँलाई हिरासतमा राखेका छन्भने मुद्दा लगाएका छन् । “२०२५ सालतिर झापामा एसपी शैलेन्द्र काण्ड मच्चियो । भद्रपुरमा सरकारविरोधी जनप्रदर्शन चर्कियो,” उहाँले पुरानो घटना सम्झँदै भन्नुभयो, “अञ्चलाधीश मनमोहन मिश्रको आदेशले मलाई पक्राउ गरियो । अञ्चलाधीश र जिल्ला प्रहरी कार्यालयमा बयान दिनुपर्‍यो । त्यसबेला पञ्चायतको विरोध गरेको आरोपमा सिधै जेल पठाउने चलन थियो ।”

युगज्ञान साप्ताहिकको सम्पादक रहेको बेला ‘जिल्ला पञ्चायत सदस्य मोहनलाल अग्रवाल फरार’ भएको भन्ने समाचार प्रशासनले झुटो जानकारी दिएर प्रकाशित गर्न लगाएको थियो । त्यसको खण्डन छाप्दा अञ्चलाधीशले झुटो मुद्दा लगाएर उहाँलाई एक महिनासम्म तारिख धाउन बाध्य बनाए । २०६२/६३ सालको दोस्रो जनआन्दोलनका बेला सत्ता हत्याउने माघ १९ को शाही कदमको विरोधमा नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा चन्द्रगढीमा प्रदर्शन गर्दा उहाँसमेत दर्जनौँ पत्रकारलाई तत्कालीन शाही सरकारले पक्राउ परेर एक दिन हिरासतमा राखेको नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले बताउनुभयो ।

छेत्रीले कोशी प्रदेश पत्रकारिता पुरस्कार, श्यामकृष्ण स्मृति पत्रकारिता पुरस्कार, एसएल शर्मा स्मृति पत्रकारिता पुरस्कार, ओमसाई पाथीभरा स्वास्थ्य पत्रकारिता पुरस्कार, आर्थिक पत्रकारिता पुरस्कार, भद्रपुर नगर पत्रकारिता पुरस्कार, मोतिराम पत्रकारिता पुरस्कारलगायत दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान प्राप्त गरिसक्नुभएको छ । रासस