• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार जिम्मेवार हुनुपर्नेमा सांसदहरुको जोड ★   दुबईमा पुन: भारी वर्षा, उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द ★   महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार ★   विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीको शुभकामना ★   वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल ★   प्रेमीसँगको झगडापछि बिना लुगा र खाली खुट्टा होटलबाट निस्किइन् ब्रिटनी ★   चलचित्र ‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो ★   सय रुपैयाँको नोटमा चुच्चे नक्सा राखिने ★   सरकारको आँकलन: एक वर्षको अवधिमा विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँको क्षति ★   वैज्ञानिकहरूले पत्ता लगाए संसारको सबैभन्दा गहिरो खाडल

टोखामा बिस्का नख: (जात्रा) मनाइँदै, लिङ्गो उठाइयो



काठमाडौँ । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नख: (जात्रा) मनाइने भएको छ ।

नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म पाँच दिन बिस्का नख: मनाउन लागिएको हो । टोखा नगरपालिका वडा नं २ र ३ को मुख्य आयोजना तथा नेवा: गुथी टोखाको व्यवस्थापनमा उक्त जात्रा मनाउन लागिएको हो । जात्रा मनाउनका लागि वडाले विभिन्न सङ्घसंस्थालाई समेटेर विभिन्न उपसमिति निर्माण गरेको छ ।

जात्रालाई व्यवस्थित र मर्यादित बनाउनका लागि नेवा: गुथीले शान्तिसुरक्षा, स्वयम्सेवक व्यवस्थापन, पार्किङ व्यवस्थापन, यातायात व्यवस्थापन, बाजागाजा व्यवस्थापन, रथजात्रा व्यवस्थापनलगायत उपसमिति गठन गरेको नेवा: गुथी टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । उहाँले पाँच दिनसम्म मनाइने बिस्का जात्राको लिङ्गो उठाइसकिएको बताउनुभयो । उक्त लिङ्गो जात्रा सकिएपछि वैशाख ५ गते ढालिन्छ ।

चैत मसान्तबाटै बिस्का जात्रा सुरु

चैत मसान्तबाटै सुरु हुने बिस्का जात्राका भक्तजन मसान्तको बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न जान्छन् । बागद्वारबाट सोही दिन राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउने प्रचलन रहेको छ ।

सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्धपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदै गर्दा वैशाख १ गते एकाबिहानै नुहाउने गर्दछन् । मसान्तको दिन साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’ का रुपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खल:ले मूल नाइके बहाल गरी रथ आ–आफ्नो मन्दिरमा लैजान्छन् ।

नयाँ वर्षकै दिन साँझ ६ बजे आ–आफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलाग: टोलमा, चण्डेश्वरीको रथ थलाग: टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइने गरिएको मूल नाइके हेमराज श्रेष्ठले जानकारी दिनुभयो । वैशाख २ गते बिहान तीन वटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलाग: टोलमा लस्करै बिसाइन्छ ।

सोही दिन अपराह्न ३ बजे जीवित गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दूरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षी:मा बिसाइन्छ । सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

यही वैशाख ३ गते बिहान ७ बजे तपलाक्षी:बाट सिन्दूरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन् । सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ । मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी कोनेलाक्षी:मा बिसाइन्छ । सोही रात पनि भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान ६:३० बजे सिन्दूरजात्रा गरी सारा बाजागाजासहित गाउँ परिक्रमा गर्न लगिन्छ र बिहान ११ बजेतिर गच्छे टोलमा बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथ कपडा बिच्छ्याइ गाउँ परिक्रममा गरी आ–आफ्नो देवी घरघरमा भित्र्याइन्छ । त्यसबाट जात्रा समापन हुन्छ । वैशाख ५ गते बिहान ६:३० लिङ्गो ढाली जात्रा विर्सजन हुन्छ ।

सपनतीर्थ मेलाको महत्व

टोखामा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते सपनतीर्थ स्नान मेला सुरु हुन्छ । उक्त मेला भर्न तथा स्नान गर्नका लागि काठमाडौँ उपत्यकासहित देशभरका लाखौँ भक्तजन टोखा सपनतीर्थ आउने गर्दछन् । सपनतीर्थ मेलालाई टोखाले विशेष महत्वसमेत दिँदै आएको छ ।

सपनतीर्थ मेलामा स्नान गरेपछि कोरी कुष्ठरोग पनि निको हुने जनविश्वास रहेको टोखा भगवती क्लबका पूर्वअध्यक्ष राजकाजी श्रेष्ठले बताउनुभयो । परापूर्वकालदेखि सत्यवन्त राजाका छोरीहरुमध्ये कान्छी छोरी सत्यकेशरीले बुबाको वचनलाई शिरोपर गरी राजाको मुखबाट ठट्टावश निस्केको बोलीअनुसार कुष्ठरोगबाट ग्रसित महारोगीबाट विवाह गर्न पुग्छिन् ।

ती महारोगीले हरेक दिनजस्तो अन्जान पोखरीमा स्नान गर्दा नयाँ जीवन पाएको सपनामा बारम्बार देख्ने गरेको र एक समय श्रीमतीको अनुपस्थितिमा सपनतीर्थ क्षेत्र रहेको कुण्डमा बच्चाहरुले कीरो फट्याङ्ग्रा समाउँदै मार्दैै उक्त कुण्डमा फाल्दा ती कीरो पुन: जीवित भएर उडेको प्रत्यक्ष देखेपछि महारोगीले केटाहरुको सहयोगमा कुण्डमा स्नान गर्दा सम्पूर्ण रोगबाट मुक्त भई नयाँ जीवन पाएको किंवदन्तीअनुसार सपनतीर्थ मेला लाग्ने गरेको पाइन्छ ।

यसैगरी, उक्त मन्दिरमा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ । वैशाख १ गते सपनतीर्थ मेलासँगै वैशाख ४ गतेसम्म बिस्का जात्रा हुने भएकाले स्वदेश तथा विदेशीको सहभागिता रहने टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिनुभयो । सपनतीर्थ मेलामा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहने नगरपालिकाले जनाएको छ ।

नेवारी भाषाको ‘टु’ र ‘ख्य’ अर्थात् उखुको बारीबाट टोखाको नामकरण भएको हो । टोखा–२ र ३ मा नेवार समुदायको बाहुल्यता रहेको छ । यहाँ बिस्कासहित विभिन्न जात्रा मनाइने गरिन्छ । नेवा गुथी टोखाका अध्यक्ष नापितका अनुसार टोखामा मात्र झन्डै २५ हजार नेवार समुदायको बसोबास रहेको छ । रासस