५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता



अ+ अ-

मनहरी । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो ।

सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो ।

उपमहानगर प्रमुख मीनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग बताउनुभयो । उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उहाँले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने जानकारी दिनुभयो ।

होटल व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताउनुभयो । उहाँले होटलहरुले यहीँ उत्पादन भएको गुन्द्रक खपत गर्नेमा प्रतिबद्धता जनाउनुभयो । “सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नु परेन । अब जिल्लाका होटलहरुमा यहाँ उत्पादित गुन्द्रक प्रयोगमा समस्या छैन”, उहाँले भन्नुभयो ।

गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ । करिब चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाको रु एक लाख लगानीबाट सुरु अग्र्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरु निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनिमाया गुरुङले बताउनुभयो ।

“उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो ।  उपमहानगरको सहयोग र सहकारीको रु ८० हजार ऋणबाट १५ कठ्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो”, उहाँले भन्नुभयो ।

अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाएको उहाँले बताउनुभयो । “अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा रु तीन लाख बराबरको गुन्द्रुक यत्तिकै थन्किएको थियो, अब सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

यस समूहमा हाल १२ जना हुनुहुन्छ । समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो । उद्योग शाखाको तथ्याङ्कअनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएपनि हाल दुई सय ६८ जना उद्यममा जोडिएको जनाएको छ । रासस




भर्खरै