पोखरा । आन्तरिक विवादका कारण पोखराको प्याराग्लाइडिङ बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्म हालका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।
प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा पाएको नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरुबिच विवाद बढेको हो । नाले संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्न र आफैँ बुकिङ गर्न खुला गरिदिएको छ ।
यसअघि संस्थागत रूपमा ग्राहकले नाम टिपाउने र उनीहरूलाई संस्थाले नै कम्पनी भाग लगाएर पठाउने गरेको थियो । ग्राहकले पनि निर्धारित शुल्कमा प्याराग्लाइडिङ गर्ने गर्थे । ‘ना’ को निर्णयलाई एकाथरीले ठिक मानेका छन् भने अर्को थरीले गलत भनेका छन् । दुवै पक्षको विवाद चरम भएपछि प्राधिकरणले नै बन्द गरिदिएको हो ।
विवाद चुलिएपछि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै पाइलटहरूले पनि प्याराग्लाइडिङ नउडाउने निर्णय गरेका छन् ।