११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध

बागमती सिँचाइ आयोजना: माग बढ्दो तर स्रोतमै पानी घट्दो

बागमती सिँचाइ आयोजना: माग बढ्दो तर स्रोतमै पानी घट्दो
अ अ+ अ-

जनकपुरधाम । सर्लाहीको वाग्मती नदी आसपासका जमिन हराभरा हुन थालेको धेरै भएका छैनन् । तीस वर्षअघिसम्म नदी किनारका बगर घर छाउन प्रयोग हुने खरले ढकमक्क ढाकेका र अरु अधिकांश ठाउँमा मकैखेती मात्रै हुने गरेको अवस्था सर्लाहीको बर्थना हजरियाका लक्ष्मी महतोको मानसपटलमा ताजै छ । तर अहिले भने त्यो अवस्था छैन ।

हिजोको बगरमा आज मौसमअनुसारको खेती हुन थालेको छ । धान, मकै र गहुँखेती गर्ने किसान त्यसैमा सीमित छैनन् । बाह्रै महिना कुनै न कुनै खेती गर्ने प्रचलन बढ्दो छ । त्यसैले खेत वर्षभरि हराभरा देखिन थालेका छन् । “बगरमा खर र अन्य ठाउँमा दुई याममा लगाइने परम्परागत धान, गहुँ र मकैखेती मात्रै हुन्थ्यो । त्यसबाट किसानको गुजारा पनि चल्थेन । अहिले त्यो समय बदलिएको छ । किसानहरुले उन्नत जातको बाली लगाउनुका साथै तरकारी खेती गरेर राम्रो आम्दानी गरिरहेका छन्”, महतोले भन्नुभयो ।

उहाँका अनुसार बागमती सिँचाइ आयोजनाको पहुँच क्षेत्रमा अन्य ठाउँभन्दा राम्रो उत्पादन भइरहेको छ । मकै उत्पादनमा नेपालकै नमूना भनेर चिनिन थालेको छ भने आलु, गोलभेंडालगायत तरकारी उत्पादनबाट उर्बरभूमिको पहिचान बनाउँदैछ । “सिँचाइ सुविधा र कृषकमा आएको चेतनाका कारण अहिले परम्परागत खेती गर्ने प्रवृत्ति बदलिएको छ । यस ठाउँमा अचेल बाह्रै महिना कुनै न कुनै खेती हुन्छ । मौसमअनुसारको बालीका साथै बेमौसमी उत्पादन पनि भइरहेको छ । अहिले दलहन, तेलहन, तरकारी, मकैलगायत बालीको वर्षभरि खेतीपाती हुन्छ”, महतोले भन्नुभयो,“यो वागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो । तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को माथ्र्यो ।”

वागमती नगरपालिका—१० का वीरबहादुर खड्का देशमै अन्नभण्डारको रुपमा परिचित मधेश प्रदेशमा सिँचाइ सुविधा पुगेमा उत्पादन वृद्धि र नमूना कृषि क्षेत्रको विकासमा टेवा पुग्ने उदाहरण पानीको पहुँच भएका ठाउँहरुको उत्पादनबाट प्रष्ट हुने बताउनुहुन्छ । खड्का भन्नुहुन्छ,“सिँचाइ सुविधा पुगेमा यहाँका किसानहरुले रोजगारीका लागि अर्को विकल्प सोच्नु पर्दैन । तर पर्याप्त र सबै ठाउँमा पानी पुग्न नसकेकाले सोचेजस्तो खेतीपाती गर्न सकिरहेका छैनौँ ।”

समस्याका बीच पनि विभिन्न माध्यमबाट सिँचाइ सुविधा पुगेका क्षेत्रमा गोलभेंडा, परबल, बोडी, सिमी, भान्टा, करेलालगायत तरकारी उत्पादनमा निरन्तर प्रगति हुँदै गएको कृषि थोक बजार व्यवस्थापन समिति, लालबन्दीका अध्यक्ष तोरणबहादुर मगरको भनाइ छ । त्यहाँको उत्पादन हाल सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणघाट, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका बजारमा निर्यात हुने गरेको उहाँले बताउनुभयो ।

“बागमती नहर बन्यो हाम्रो सपना पनि बढे । मकैमा निर्भर यहाँका कृषकहरुले धान, मकै, दलहन, तरकारीबालीको खेती गर्न थाल्यौँ तर पानी अभावले सोचे जस्तो खेतीपाती गर्न सकिरहेका छैनौँ । सुनकोशी–मरिन पथान्तरणपछि हाम्रो सपना थप फराकिलो हुनेछ । पक्कै यो अवस्था बदलिने छ”, रक्षापुर जल उपभोक्ता समिति, वागमती—१० का अध्यक्षसमेत रहनुभएका खड्काले भन्नुभयो ।

सुनकोशी–मरिन पथान्तरणको काम नहुँदासम्म भएकै बागमती सिँचाइबाट बढी लाभलिने गरी व्यवस्थापनको जरुरी रहेको भनाइ छ जल उपभोक्ता महासङ्घ, सर्लाहीका अध्यक्षसमेत रहनुभएको महतोको । “एकातिर स्रोतमै पानीको कमी छ भने अर्कोतिर धेरै पुराना, माटोका नहर हुँदा भएकै पानी पनि खेतसम्म पुग्दैन । चुहावटका कारण पहुँच भएकै ठाउँमा पनि पर्याप्त पानी पुगेको छैन”, महतोको गुनासो छ,“त्यसले आयोजनाले नहरको उचित मर्मतसम्भार र व्यवस्थापन सुधार गरी भएकै पानीबाट बढीभन्दा बढी लाभ लिने अवस्था बनाउनुपर्छ । आयोजनाले प्रभावकारी कार्ययोजना बनाएर काम गर्नुपर्‍यो ।”

कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख देवानन्द राय यादव पनि वागमती सिँचाइ अर्थात सतह सिँचाइको पहुँच पुगेका क्षेत्रमा बाली सघनता, उत्पादकत्व वृद्धि भए पनि जिल्लामा सिमानातर्फका क्षेत्रमा नहर पहुँच नहुँदा बहुसङ्ख्यक कृषकले लाभ लिन नसकेको बताउनुहुन्छ । “पानी लाग्ने क्षेत्रमा धानलगायत कृषि उपजको उत्पादन राम्रो देखिन्छ तर आकासे वर्षाको भर पर्ने स्थानका कृषकले राम्रोसँग खेती गर्न पाएका छैनन् । बोरिङबाट पानी चलाएर खेती गर्दा लागत बढ्ने हुँदा कृषितर्फको आकर्षण बढिरहेको छैन । यी ठाउँमा सिँचाइको पहुँच विस्तार गर्न जरुरी छ ।”

बागमती सिँचाइ आयोजना प्रमुख भिलानन्द यादव ३० वर्ष पहिले र अहिले खेती गर्ने प्रवृत्ति बदलिएर पानीको माग बढे पनि स्रोतमा नै पानीको अभाव भएकाले माग र आपूर्तिमा सन्तुलन मिलाउन कठिन भइरहेको बताउनुहुन्छ । तर भएकै पानीलाई आलोपालो विधिमार्फत खेतमा पुर्‍याउनका लागि हरसम्भव प्रयास भइरहेको यादवले बताउनुभयो । “धानखेती अर्थात वर्षमा दुई याममा मात्रै खेतीपाती हुने बेला आयोजना बनाइएको हो तर अहिले त दलहन, तेलहन, तरकारी, मकै गरी वर्षभरि खेतीपाती हुन्छ”, आयोजना प्रमुख यादवले भन्नुभयो,“उही संरचनाबाट कृषकको बदलिँदो आवश्यकता सम्बोधन गर्न वर्षभरि पानी चलाउनुपर्ने बाध्यता छ । यसले नहर मर्मत तथा व्यवस्थापनमा केही समस्या भइरहेको छ ।”

आयोजनाका प्रमुख डिभिज्नल इन्जिनीयर रञ्जनराज भट्टराईले नहरको पहुँच क्षेत्रमा बनाइएका जल उपभोक्ता समितिहरुसँगको सल्लाहमा पानीको वितरणलगायत कार्यहरु भइरहेको बताउनुभयो । पहुँच क्षेत्रमा एक सय ३० जल उपभोक्ता समिति गठन गरिएका र ती समितिमा आवद्ध किसानसँग नियमित बैठक बसेर समस्याको पहिचान र निदानको काम सँगसँगै अगाडि बढाउने गरिएको भट्टराईले बताउनुभयो । उहाँ भन्नुहुन्छ,“अहिले दुई वटा मूल नहर, त्यसका तीन/तीन वटा शाखा नहर र २१ वटा प्रशाखा नहरबाट पानी वितरणको काम भइरहेको छ । सर्लाही र रौतहटको ४५ हजार छ सय हेक्टरमा जमिनमा सिँचाइ पहुँच छ । त्यसको अभिकतम् उपयोगको नीतिअनुसार हामीले काम गर्दै आएका छौँ । एक लाख २२ हजार हेक्टरमा सिँचाइ पहुँच पुर्‍याउने लक्ष्यसहित बनिरहेको सुनकोशी–मरिन डाइभर्सनपछि किसानका सबै गुनासाहरु सम्बोधन हुनेछन् ।”

‘सबैको सपना सुनकोशी—मरिन पथान्तरण’

बागमती सिँचाइ आयोजना आर्थिक वर्ष २०३५/३६ मा निर्माण सुरु भई २०५० सालमा सम्पन्न भएको थियो । पहिलोपटक सन् १९६७–१९७२ मा तयार गुरुयोजना र पछि सन् १९७९/८० मा अध्ययन पुनर्संरचना गरिएको यस आयोजनाबाट समग्रमा एक लाख २२ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ । दुई चरणमा निर्माण गरिने योजनाअनुसार पहिलो चरणको प्रथम खण्डमा बागमती नदीमा ब्यारेज निर्माण गरी सर्लाही र रौतहट जिल्लाको ४५ हजार छ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको विकास र दोस्रो खण्डमा बारा जिल्लाको करिब २२ हजार चार सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको विकास समावेश गरिएको थियो ।

पहिलो चरणमा ६८ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पहुँच पुर्‍याउने परिकल्पना भए पनि पहिलो खण्डको काम सम्पन्न भई ४५ हजार छ सय हेक्टरमा नहर पहुँच पुगेको छ । तर बारातर्फको २२ हजार चार सय हेक्टरमा पानी पुर्‍याउने काम हुन सकेको छैन ।

त्यसैगरी आयोजनाको दोस्रो चरणअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजनाको काम भइरहेको छ । प्रमुख भट्टराईका अनुसार दोस्रो चरणको लक्ष्य हासिल गर्न करिब ६७ घनमिटर प्रतिसेकेन्ड पानी सुनकोशी नदीबाट बागमती नदीमा मिसाउने नदी स्थान्तरणको कार्य सम्पन्न भएमा रौतहट तथा सर्लाहीमा सीमित आयोजनाले धनुषा र महोत्तरी जिल्लामा समेत थप सिँचाइ विस्तार गर्नेछ । त्यसका लागि दोस्रो चरणको विस्तार तथा मौजुदा संरचनाको पुन:निर्माण एवं जीर्णोद्वारबारे अध्ययन तथा त्यसको कार्यान्वयन गर्न दुईवटा परामर्शदातामार्फत अध्ययनको काम भइरहेको आयोजना प्रमुख यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नदी पथान्तरणपछि धनुषाको नगराइन, महोत्तरीको रातुखोला र बाराको दुधौरासम्म सिँचाइ पहुँचका लागि पूर्वाधार निर्माण गर्न विस्कृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारी र अध्ययनकै क्रममा छ ।”

विसं २०५० अर्थात् ३० वर्षअघि निर्माण गरिएको सो आयोजनाले वर्षैपिच्छे नहर संरचना टालटुल र मर्मतसम्भार गरी सिँचाइ सुविधा पुर्‍याइरहेको छ । वागमती नदीको स्रोतमै पानी बहावमा कमी आएपछि आयोजनाको नहरमा पानी घट्दै गएको र चुहावटका कारण नहर मुहानको पानी खेतमा पुग्ने अवस्था पनि नरहेको किसानले गुनासो गर्दै आएका छन् । हाल ४९ किलोमिटर लम्बाई रहेको आयोजनाको मूल नहरको पूर्वतर्फ रौतहट क्षेत्रमा २२ हजार छ सय हेक्टर अर्थात २२।२५ किमी र पश्चिमतर्फ सर्लाहीतिर २३ हजार हेक्टर अर्थात २८ किमी क्षेत्रमा पहुँच छ । यो गुरुयोजनाअनुसार कूल क्षमताको ३७ प्रतिशत मात्रै हो । रासस