आइसिसी विश्वकप क्रिकेट अन्तर्गत भारतको पुणेमा आज भएको दिवारात्रि खेलमा अफगानिस्तानले श्रीलंकालाई सात विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।
श्रीलंकाले जितका लागि प्रस्तुत गरेको २४२ रनको मध्यम लक्ष्य अफगानिस्तानले पाँच ओभर अघि नै तीन विकेट गुमाएर पूरा गरेको थियो ।
यस विश्वकपका पछिल्ला खेलहरुमा सुदृढ खेल प्रदर्शन गरिरहेको अफगानिस्तानका लागि अज्मातुल्लाह ओमरजाईले ७३, कप्तान हस्मातुल्लाह शाहिदीले ५८, रहमत शाहले ६२ र इब्राहिम जड्रानले ३९ रन बनाएका थिए ।
यसअघि टस जितेर अफगानिस्तानले श्रीलंकालाई ब्याटिङको निम्तो दिएको थियो । अफगान बलिङ र फिल्डिङ चुस्त थियो, र श्रीलंकाली ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेका थिएनन् ।
श्रीलंकाका लागि पथुम निस्सान्काले ४६, कुसल मेन्डिसले ३९, सदिरा समरविक्रमाले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान सस्तैमा पवेलियन फर्केका थिए ।
श्रीलंकाको इनिङ ध्वस्त पार्नेक्रममा अफगानी बलरहरु फजलहक फारुकीले ४, मुजीब उर रहमानले २, अज्मातुल्लाह ओमरजाई र रशिद खानले समान एकएक विकेट लिएका थिए ।
यो जितसँगै अफगानिस्तानले ६ खेलबाट ६ अंक सहित पाँचौं स्थानमा छ भने श्रीलंकाले ६ खेलबाट ४ अंक सहित छैटौं स्थानमा छ ।
पहिलो स्थानमा १२ अंक सहित भारत, दोस्रोमा दक्षिण अफ्रिकाको १०, तेस्रोमा न्युजील्यान्डको ८ तथा चौथो स्थानमा रहेको अस्ट्रेलियाको पनि ८ अंक छ ।