२९ भाद्र २०८३, सोमबार
,
Latest
हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासचिव गुटेरेस सगरमाथा क्षेत्र, पोखरा जाँदै



अ+ अ-

काठमाडौँ: नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जानुहुने भएको छ ।

मौसम अनुकूलताअनुसार उहाँ आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जानुहुने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्नुहुने जनाइएको छ ।

त्यसपछि ललितपुर पुल्चोकस्थित संयुक्त राष्ट्र सङ्घको कार्यालयमा यहाँको टोलीसँग बैठक गर्नुहुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासचिव गुटेरेस दिउँसो पोखरा भ्रमणका लागि प्रस्थान गर्नुहुने छ ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुग्नुभएको हो । उहाँले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।

भेटवार्तापछि उहाँले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँ सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ ।

यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको औपचारिक भ्रमणमा आउनुभएको हो ।

महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते (१ नोभेम्बर) काठमाडौँबाट प्रस्थान गर्नुहुनेछ ।