२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय भयो- प्रदीपकुमार ज्ञवाली



अ+ अ-

काठमाडौं । नेकपा एमालेले दशौँ महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकार दिनुभयो । 

सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकतालाई बदर गरी नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)लाई ब्युँताएपछि एमालेको २०७७ साल चैत्र ७ गते बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिती तोकी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । तर सर्वोच्च अदालतले २०७८ जेठ २७ गते फैसला गर्दै सो महाधिवेशन कमिटीलाई वैधता नदिएका कारण एमालेले आजको २०७५ साल जेठ २ गतेको अवस्थामा रहेको नेकपा(एमाले)को केन्द्रीय कमिटी ब्युँताउने निर्णय गरेको हो ।

बैठकले नेकपा(नेकपा)मा रहदा स्थायी कमिटी सदस्य रहेका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणीचन्द्र थापा, विष्णु रिमाल, रघुविर महासेठ, रघुजी पन्त र बेदुराम भुसाललाई एमालेको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

प्रवक्ता ज्ञवालीले एमालेले बैशाख १२ गते र जेठ १० गते पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई गरेको कारबाही निष्प्रभावि भएको पनि बताउनुभयो । बैठकले पार्टी एकतामा रचनात्मक र सिर्जनात्मक योगदान गर्न नेता कार्यकर्तालाई आव्हान पनि गरेको छ । प्रवक्ता ज्ञवालीले भन्नुभयो –‘२०७८ बैशाख १२ गतेको दशौँ महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठक र जेठ १० गते बसेको स्थायी कमिटीको सातौँ बैठकले पार्टीका नेता, कार्यकर्तामाथि कारबाही गरिएको अवस्था थियो ।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरीत गर्ने यो फैसलासँगै त्यो कारबाही निष्प्रभावि भएको छ । अब त्यो कारबाहीको कुनै सन्दर्भ रहेन । यो निर्णय सँगै पार्टी एकतालाई थप सुदृढ गर्ने, एकताबद्ध गर्ने एउटा नयाँ आधार पनि सिर्जना भएको छ । त्यो आधारलाई सम्मान गर्दै, कदर गर्दै, पार्टी एकतामा रचनात्मक, सिर्जनात्मक योगदान गर्न नेता, कार्यकर्ताहरुलाई पार्टीले आव्हान गरेको छ आजको बैठकबाट ।’

बैठकले भारतमा उपचाररत एमाले बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना समेत गरेको छ । केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।