दार्चुला । जिल्लाको नौगाड गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्ना रहेका छन् ।
यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ ।
यसैबीच नौगाड गाउँपालिका-३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको हो ।
बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा घट्ट र तीन वटा पानीको मुहान पनि बगाएको बताइएको छ ।