काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोईरालाले क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताउनुभएको छ ।
बिहीबार महामन्त्री कोईरालाले पार्टीको क्रियाशिल सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताउनुभएको हो । विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उहाँले असार महिनाभित्र क्रियाशिल सदस्य नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताउनुभयो । क्रियाशिल सदस्य छिटो टुंग्याउनको निम्ति आफुहरुले भरमग्दुर प्रयास गरेको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – क्रियाशिल सदस्य यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि । यति जटिल छ अहिले क्रियाशिल सदस्यको बारेमा । ४६ जिल्ला भईसक्यो त्यसमा पनि उजुरीहरु आएको छ त्यसलाई पनि हेर्नुप¥यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिदैनँ कि टाईममा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्नचिन्ह चाहीँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ । हामी भरमग्दुर प्रयास गर्दैछौँ क्रियाशिलको छिटो टुंग्याउँ भनेर ।
महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप पनि निकै बढेको छ । बिहीवार नै काठमाडौंस्थित अनुपम फुडल्याण्डमा पौडेल पक्षीय नेताहरुले बैठक गरेका थिए । रामचन्द्र पौडेल, शशांक कोईराला, शेखर कोईराला, मिनेन्द्र रिजाल लगायतका नेताहरु सहितको बैठकमा पनि पार्टीको क्रियाशिल सदस्य कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोईरालाले न्यूज एजेन्सी नेपाललाई बताउनुभयो । क्रियाशिल सदस्य टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उहाँको भनाई छ ।