६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.76

Wind: 2.06

Humidity: 100

Latest
सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य सौर्यमण्डल बाहिरको ग्रहमा जीवनको सम्भावित लक्षण देखिएको वैज्ञानिकहरूको दाबी सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो, आयोगबाट बिदाइ एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल, के कुरा भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीनारायण शाहको उपदेश वर्तमान सन्दर्भमा पनि उत्तिकै मननीय: राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायण शाहले दिएका उपदेश वर्तमान सन्दर्भमा पनि उत्तिकै मननीय रहेका जनाउनु भएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्न समेतका बहुआयामिक क्षेत्रमा हामीले शाहका उपदेशलाई सर्वकालिक रुपमा लिनु पर्ने जानाउनु भयो ।

शुभकामना सन्देशको पूर्णपाठ

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

छरिएर रहेका साना राज्यहरूको एकीकरणबाट आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु हाम्रो इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय हो । तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल निर्माणको अभियानलाई दशकौंसम्म हाम्रा वीर पुर्खाले अगाडि बढाएकै हुनाले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व कायम रहन सकेको ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ ।

एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै हामी आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएका छौं । वर्तमान समयका उपलब्धिहरूमा गौरवबोध गरिरहँदा इतिहासमा हाम्रा पूर्वजहरूले गरेका त्याग र बलिदानप्रति हामीले उत्तिकै सम्मान व्यक्त गर्नु पर्दछ । लामो इतिहासको कालखण्डमा घटेका घटनालाई उही समयको सापेक्षतामा परिशीलन गर्दै तिनका सकारात्मक पक्षबाट आजको पुस्तालाई प्राप्त हुने मार्गदर्शन ग्रहण गर्नु मानव सभ्यताको शाश्वत अभ्यास हो । आफ्नो इतिहासका उपलब्धिप्रति कृतज्ञ हुने समाजले मात्र आफू र आफ्ना सन्ततिमाथि न्याय गर्न सक्दछ भन्ने सत्यलाई हामी सबैले मनन गर्नु पर्दछ । यस दिवसबाट हाम्रो सुदृढ देशभक्तिको भावनामा एउटा बलियो आयाम थप्न योगदान मिल्ने मैले विश्‍वास लिएको छु ।

तत्कालीन समयमा पृथ्वीनारायण शाहले दिएका उपदेश वर्तमान सन्दर्भमा पनि उत्तिकै मननीय रहेका छन् । स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्न समेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भ सामग्रीका रूपमा लिन सक्दछौं ।

अन्तमा, राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ।

२०७९ पुस २७ गते बुधबार ।