• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

ओलीलाई लक्षित गर्दै माधव नेपालले भनेः यो गिरिजाको समयको नेपाल होइन



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताउनुभएको छ ।

उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महशुस अध्यक्ष ओलीले गर्नुभएको होला भन्ने सोचेपनि अझै आत्मलोचना हुन नसकेको बताउनुभएको हो । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाउन भयो । उहाँले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्नेकुरामा नलाग्न सचेत गराउनु भयो ।

उहाँले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसदमा नअल्झाउन आग्रह गर्नुभयो । अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले अहिले आफूले आशा गरेकै व्यक्ति प्रधानमन्त्री भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्नुपर्ने हतारो छ, हतार गरेर केही हुँदैन । प्रमुख प्रतिपक्ष दलले नै विश्वासको मत दिने भनेपछि अब झस्किनुपर्ने केही छैन । हामीले आशा गरेकै व्यक्ति प्रधानमन्त्री बनेपछि आत्तिनुपर्ने आवश्यक्ता छैन । तर ख्याल गर्नुपर्छ, संविधानप्रतिको प्रतिवद्धता छ की छैन, शंका गर्नुपर्ने कुरा त्यहाँ छ । किनभने यही रोस्टममा मैले सुने संसद विघटन गर्न पाइन्छ । यो मान्यता यो गठबन्धनको हो भने खतरनाक संकेत हो । जसरी प्रतिनिधि सभालाई बीचमै विघटन गरियो । के यो ब्रिटेन हो, भारत हो, पुरानो नेपाल हो ? गिरिजाप्रसाद कोईराला नेतृत्वको २०५१ सालको सरकार हो ? २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो ? होइन, ख्याल के होस् भन्दा राणा कालमा पनि २००५ सालमा, २००७, २०१९, २०४७ सालमा संविधान बन्यो, २०४७ मा त म आफैँ संलग्न छु ।

विगतका त्रुटी नहो-याउने प्रतिवद्धता गरेका छौँ । हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् ख्याल होस् । गठबन्धनले आत्मलोचना, महशुस गरेको होला भनेको त यहाँ गर्जिएको देख्दा अचम्म लाग्यो, हिजै जवाफ दिने पक्षमा थिएँ, पहिलो दिन के भन्नु भनेको त कुरा अझै आत्मलोचना छैन । यस्तो गोल चक्करमा नफस्नुस् । संविधानले आफूखुशी संसद विघटन गर्ने अधिकार दिएको छैन ।’

अध्यक्ष नेपालले अर्को सकरार विकल्प हुन्जेलसम्म कसैको लहडको भरमा प्रतिनिधि सभा विघटन नपाउने स्पष्ट पार्नुभयो ।

तस्बिरः रत्न श्रेष्ठ-रासस