२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरियो आपत्कालीन उद्धार अभ्यास- फोटो फिचर



अ+ अ-

पोखरा । अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता अनुप जोशीले बताउनुभयो ।

उहाँका अनुसार यस्तो खालको उद्धार अभ्यास हरेक दुई–दुई वर्षमा गर्ने गरिए पनि विमानस्थल सञ्चालनमा ल्याउनुअघि पहिलोपटक गरिएको हो । जोशीले भन्नुभयो, “विमानस्थलमै जहाज दुर्घटना भएको अवस्थामा उद्धारका कामलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पूर्वअभ्यास गरिएको हो । घटनापछि त्यसलाई कसरी ‘ह्याण्डल’ गर्ने र जनधनको क्षति कमका लागि यस्ता अभ्यासले सघाउ पुग्दछ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडान (क्यालिब्रेसन फ्लाइट) गत मङ्सिर ५ गतेदेखि १२ गतेसम्म गरिएको थियो । यान्त्रिक उडान परीक्षणको प्रतिवेदन प्राप्त भइनसकेको प्रवक्ता जोशीले बताउनुभयो ।

विमानस्थल सञ्चालनको चुनौतीका रूपमा रहेको रिठ्ठेपानीडाँडा कटानको काम सुरु भए पनि ल्याण्डफिल साइट स्थानान्तरण अझै हुनसकेको छैन । रिठ्ठेपानीको ४० मिटरमध्येमा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने विश्वास रहेको प्राधिकरणले जनाएको छ ।

पोखरा महानगरले विमानस्थल नजिकको ल्याण्डफिल साइट हटाउने प्रतिबद्धता जनाए पनि अझै सोही स्थलमै फोहोरमैला विसर्जन हुँदै आएको छ । महानगरले ल्याण्डफिलका लागि महानगरका विभिन्न वडामा स्थान खोजी गरे पनि टुङ्गोमा पुग्न सकेको छैन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ निर्माण कम्पनी सिएएमसीईले निर्माण गरेको हो । यसअघि गत वर्ष चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेलामा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।

चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि बल्ल निर्माण सुरु भएको थियो । विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकामा विसं २०७४ देखि निर्माण सुरु भएको हो ।रासस