८ भाद्र २०८३, सोमबार
,
Latest
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले महिला उद्यमशीलतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत काँग्रेसले नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदानलाई कदर गर्दै उनीहरूले भोगिरहेका चुनौती सम्बोधन गर्न सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

काँग्रेसको उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा महिला उद्यमीको हिस्सा ६० देखि ७० प्रतिशत रहेको अवस्थालाई मध्यनजर गर्दै सम्मेलनको खाका तयार पारिएको हो ।

सम्मेलनअन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानेपाको प्राङ्गणमा विभिन्न क्षेत्रका ९० भन्दा बढी स्टल राखिनेछन् । ती स्टलमा हस्तकला, सूचना प्रविधि, पर्यटन तथा ‘मेड इन नेपाल’ लगायतका उत्पादन प्रदर्शन तथा बिक्रीका लागि राखिने आयोजकले जनाएको छ । नेपाली महिला उद्यमीले उत्पादन गरेका सामग्रीलाई विश्व बजारसम्म पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।

सम्मेलनको अर्को महत्वपूर्ण पक्षका रूपमा हलभित्र एकदिने प्राज्ञिक सत्र सञ्चालन हुनेछ । उक्त सत्रमा चार मुख्य विषयमा गहन छलफल गरिने संयोजक आचार्यले जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा सफल महिला उद्यमीबीच अनुभव आदानप्रदान तथा बहससमेत हुने बताइएको छ ।

महिला उद्यमीका लागि लगानीको उपलब्धता, सहुलियतपूर्ण कर्जा तथा सरकारी नीतिको कार्यान्वयनमा देखिएका समस्याबारे छलफल हुनेछ । विशेषगरी निजी क्षेत्र र भेन्चर क्यापिटलमार्फत महिला उद्यममा हुन सक्ने लगानीका विषयमा विज्ञहरूले धारणा राख्नेछन् ।

त्यस्तै, सूचना प्रविधिको क्षेत्रमा कार्यरत महिला उद्यमीलाई लक्षित गर्दै डिजिटल सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा कसरी प्रतिस्पर्धात्मक बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल केन्द्रित हुनेछ । ३० वर्षमुनिका पाँच जना सफल युवा महिला उद्यमीले आफ्नो व्यावसायिक यात्रा, सामाजिक चुनौती तथा सफलताका अनुभव प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ ।

सम्मेलनकै अवसरमा महिला उद्यमीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि ‘उन्नति’ र ‘फोनपे’सँगको सहकार्यमा दुई घण्टाको विशेष कार्यशाला आयोजना गरिनेछ । कार्यशालामा डिजिटल तथा वित्तीय साक्षरता, लेबलिङ, प्राइसिङ तथा बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको समापनमा महिला उद्यमशीलता प्रवद्र्धनका लागि आवश्यक नीतिगत सुधारका विषय समेटिएको ‘सानेपा घोषणापत्र’ जारी गरिनेछ ।

काँग्रेसले सम्मेलनलाई काठमाडौंमा मात्र सीमित नराखी सातै प्रदेश र ७७ वटै जिल्लामा अभियानका रूपमा विस्तार गर्ने तथा महिला उद्यमशीलतालाई पार्टीको मुख्य एजेन्डाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्य मधु आचार्यले सम्मेलनमा नेपाल महिला संघको विशेष सहकार्य र सक्रिय सहभागिता रहने बताउनुभयो । देशभरबाट महिला संघमा आबद्ध सदस्य तथा महिला उद्यमीको उत्साहजनक सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

सम्मेलनका लागि देशभरबाट करिब ४ सयदेखि ५ सयसम्म स्टलको माग आए पनि स्थानको सीमितताका कारण हाललाई ९० भन्दा बढी स्टल मात्र व्यवस्थापन गरिने भएको छ । विभिन्न प्रकृतिका उत्पादनलाई समेट्ने गरी न्यायोचित ढंगबाट स्टल छनोट प्रक्रिया अघि बढाइएको आयोजकले जनाएको छ ।

भदौ ११ गते सुरु हुने सम्मेलनको उद्घाटन काँग्रेस सभापति गगन थापाले गर्ने कार्यक्रम तय भएको छ ।

काँग्रेसले सम्मेलनले पार्टी पंक्ति र आम नागरिकमा उद्यमशीलताको नयाँ लहर सिर्जना गर्नुका साथै मुलुकमा स्वरोजगारीका सम्भावना खोजी गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रम सफल बनाउन पार्टीका सम्पूर्ण तह र तप्का क्रियाशील रहेको संयोजक आचार्यले बताउनुभयो ।