काठमाडौं । नेकपा (एमाले)की सचिव एवं संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमार्फत प्रतिपक्षको आलोचना गर्नमा बढी केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै अर्यालले ग्यास, रासायनिक मल र राहदानीका लागि लाइनमा बसेका नागरिकका समस्या समाधान गर्न सरकार असफल भएको आरोप लगाउनुभयो । उहाँले सरकार निकटका सामाजिक सञ्जालका पेजमार्फत प्रतिपक्षको आलोचना गर्ने काम भइरहेको दाबी गर्नुभयो ।
‘के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हो ?’ भन्दै उहाँले नागरिकका समस्या समाधानमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । ठूलो जनमतसहित सरकारमा आएको सरकारले अपेक्षित परिणाम दिन नसकेको भन्दै उहाँले सरकारको कार्यक्षमतामाथि समेत प्रश्न उठाउनुभयो ।
अर्यालले प्रविधिको विकास आफैँमा समस्या नभए पनि त्यसको विकृत प्रयोगले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताउनुभयो । प्रविधिको प्रयोगका विषयमा गम्भीर बहस आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँले बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा उमेर र वर्गीकरणका आधारमा स्पष्ट मापदण्ड बनाउन सरकारसँग माग गर्नुभयो ।
त्यस्तै, अर्यालले गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यति धेरै जनताका समस्या छन्, ती समस्या समाधानमा ध्यान किन गएको छैन ? सरकारले आफ्नो कुशलता प्रदर्शित गर्न किन सकेको छैन ?’
अर्यालले प्रविधिलाई मानिसले आफ्नो हितमा प्रयोग गर्ने कि मानिस नै प्रविधिको दास बन्ने भन्ने गम्भीर प्रश्न उठेको बताउनुभयो । मोबाइल, ल्यापटप, सवारीसाधनदेखि ग्याससम्म प्रविधिको हिस्सा भए पनि प्रविधिको विकृत प्रयोगप्रति सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।









