नेपाली सेना र भारतीय सेनाका प्रधानसेनापतिलाई सममानस्वरुप मानार्थ प्रदान गरिदै आएको महारथी पद र सो प्रचलनको सुरुवातबारे नेपालमा व्यापक चर्चा छ । यहाँ यसबारेमा संक्षिप्त विवेचनाकोे प्रयास गरिएको छ ।
सैनिक पद रथी, महारथी, अतिरथी
हिन्दु ग्रन्थ महाभारतमा रथी, महारथी, अतिरथी लगायत सैनिक पदहरुको चर्चा छ । बि।सं।२०२० पछि नेपाली सेनामा सहायक रथी, उपरथी, रथी, महारथी पद प्रचलनमा छ । महारथीभन्दा माथिको सैनिक पद अतिरथी हो । राजा त्रिभुवनले नेपाली सेनाका पुर्वप्रधानसेनापति रुद्रशमशेर जबरालाइ र राजा महेन्द्रले नेपाली सेनाका पुर्वप्रधानसेनापति केशरशमशेर जबरा, महारथी हरिशमशेर जबरालाइ फिल्डमार्शल र पुर्वप्रधानसेनापति नीरशमशेर जबरा र सुरेन्द्रबहादुर शाहलाइ अतिरथी पद दिएका थिए ।
अतिरथी आजिवन पद हो । यो पदको कुनै कार्यकारी भूमीका हुदैंन, मानार्थ जस्तै हो । अतिरथीको सवारीमा पाँंच खुकुरी क्रस अर्थात पाँच स्टार हुन्छ । अतिरथी अंग्रेजीमा फिल्डमार्शल समान सैनिक पद हो । महारथी अतिरथीपछिको सेनाको उच्च पद हो । महारथी भारत वर्षको प्राचीन सैनिक पद हो । महारथी पद हाल नेपालमा मात्र प्रचलनमा छ । यो संस्कृत शव्द हो । महारथी अंग्रेजीको जनरल समान सैनिक पद हो । महारथी पद पाएका सैनिक अधिकारीले सवारीमा चार खुकुरी क्रस राख्छन् । यसैले महारथी / जनरललाइ सेनामा चारतारे जनरल भनिन्छ ।
झण्डै एक लाखको नेपाली सेनामा महारथी दरबन्दि एक मात्र छ । महारथी पदमा नियुक्त सैनिक अधिकारीले नै नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएर नेपाली सेनाको कार्यकारी भूमीका निर्वाह गर्दे आएका छन् । प्रधानसेनापतिलाई कम्याण्डर–इन–चीफ र चीफ अफ जनरल स्टाफ जस्ता फरक नामबाट पनि सम्बोधन गरिन्छ ।
प्रधानसेनापति कुनैपनि देशको सेनाको कार्यकारी प्रमुख हो जो मेजर जनरल वा उपरथी, लेफ्टिनेण्ट जनरल वा रथी र जनरल वा महारथी जुनकुनै पदका सैनिक अधिकारी नियुक्त हुन सक्छन् । समान र एकै जस्तो लाग्नसक्छ, महारथी र प्रधानसेनापति अलग हुन् । महारथी पद हो, प्रधानसेनापति नियुक्ति हो ।
एउटा समयमा सेनामा एकजना मात्र प्रधानसेनापति नियुक्त हुन्छन् । प्रधानसेनापति मानार्थ दिइदैन र अन्य देशका सैनिकलाई पनि दिन मिल्दैन । तर महारथी सहायक रथी, उपरथी र रथी भन्दा माथिको एक सैनिक दर्जा हो जुन पद सेवारत सैनिकलाई पदोन्नतिबाट र देश वा सेनामा बिशेष योगदान गर्ने व्यक्तित्वलाई मानार्थ दिइन्छ ।
सन् १९५० मा मानार्थ महारथी पद दिएको तथ्य छैन
भारतीय राष्ट्रिय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोजकुमुन्द नरवाणेको नेपाल आगमनको समयमा नेपाल र भारतका प्रधानसेनापतिलाइ सन् १९५० देखि मानार्थ महारथी पद प्रदान गर्ने प्रचलन रहि आएको भनि प्रचार भइरहेको छ । नेपाल र भारतका सेनापतिलाई मानार्थ महारथी पद दिने प्रचलन सन् १९५० बाट सुरु भएको लिखित तथ्य छैन ।
बेलायती उपनिवेसबाट सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतीय राष्ट्रिय सेनाका सेनाप्रमुख हुने भारतीय मुलका पहिलो सेनापति जनरल के एम करिअप्पा हुन् । उनी १४ जनवरी सन् १९४९ देखि १३ जनवरी सन् १९५३ सम्म भारतीय सेनाको कमाण्डर–इन–चीफ थिए ।
भारतीय सेनाका कमाण्डर इन चीफ जनरल के एम करिअप्पा सन् १९५० मा नेपाल भ्रमणमा आएका र उनलाइ नेपाली सेनाको मानार्थ महारथी पद दिएको लिखित तथ्य छैन । सन् १९५० बि.सं.२००६ पुष १८ बाट बि.सं.२००७ को पुष १७ सम्मको समय हो । त्यसबेला नेपालका कार्यकारी प्रमुख श्री ३ महाराज मोहनशमशेर जबरा थिए । नेपाली सेनाका प्रधानसेनापति बबरशमशेर जबरा थिए । बबरशमशेर जबरा प्रधानसेनापति र मिनिष्टर समेत थिए । जनरल करिअप्पा प्रधानसेनापति हुंदा नेपालभ्रमणमा नआउनुका कारण केहि हुनसक्छन ।
भारतीय सेनाप्रमुख समकक्षिको निमन्त्रणामा आउने हो । तर मर्यादाक्रममा प्रधानसेनापतिभन्दा मन्त्रीपद माथि हुनेहुंदा बबरशमशेरले भारतीय प्रधानसेनापतिलाइ नेपाल भ्रमणमा निमन्त्रणा नदिएको हुनसक्छ । साथै त्यसबेला भारतका हिन्दु मुस्लिमबीच हिंसात्मक दंगा, कास्मिर समस्या र हैदरावाद समस्याका कारण पनि हुनसक्छ ।
जंगी अड्डाले सन् १९५० मा नेपालले भारतीय सेनाप्रमुखलाइ मानार्थ महारथी पद दिएको दावी गरेको छ । सन् १९५० बि.सं.२००६–७ हो । त्यस समय नेपालमा महारथी पद प्रचलनमा छैन । दिएको हो भने मानार्थ जनरल पद हो । सन् १९५० को कुन महिना, कति तारिखमा कुन पद दिइयो ? यसको भरपर्दो स्रोत के हो ? यसबारेमा स्पष्ट पार्नु जंगी अड्डाको दायित्व हो ।
सन् १९५० मा नेपाली सेनामा महारथी पद प्रचलनमा थिएन
सन् १९५० नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर जबराको कार्यकाल हो । नेपाली सेनाको इतिहास, २०६९, जंगी अड्डा, पृ.११४ मा उल्लेख भए अनुसार राणाकालमा नेपाली सेनामा प्रचलनमा रहेका सैनिकपदहरु: १. श्री ३ महाराज प्रधानमन्त्री तथा सर्वोच्चप्रधानसेनापति २. कम्याण्डर–इन–चीफ, ३. जङ्गीलाठ, ४. जनरल, ५. मेजर जनरल, ६. कम्याण्डर कर्णेल, ७. चीफ कर्णेल, ८. लेफ्टिनेण्ट कर्णेल, ९. मेजर क्याप्टेन, १०. क्याप्टेन, ११. मेजर एडजुटेन्ट १२. लप्टन, १३. खरिदार १४. सुबेदार इन्साइन, १५. जमादार १६. कोते, १७. लैन जमादार सरजङ्ग १८. हवल्दार १९. अमलदार २०. वहिदार २१. सिपाही २२. पिपा जमदार २३. पिपा २४. खलासी जमदार २५. खलासी २६. बन्दर नायक २७. पिपा खलासी हवल्दार हुन् ।
नेपाली सेनामा महारथी लगायतका हाल प्रचलनमा रहेका उच्च सैनिक पद राणाकालमा प्रचलनमा नरहेको तथ्य नेपालको इतिहासबारेका अन्य पुस्तकहरुमा पनि प्रकाशित छन् ।
बि.सं.२००८ चैतसम्म नेपाली सेनामा माथिका पदहरु प्रचलनमा रहे । बि.सं.२००८ चैत अन्तिममा भारतीय सेनाका मेजर जनरल वाइ एस परान्जपे नेतृत्वमा २० जना अधिकृत, १७ जना जुनियर कमिसन अफिसर र १२० जना अन्यदर्जा समेत १५७ जना नेपाली सेनालाइ आधुनिकीकरण र समयानुकुल तालिम, सेनाको पुनर्गठन, पुनःसंरचनाको लागि नेपाल आए । सो टोलीले नेपाली सेनाको तालिम, संगठन, नीति र व्यवस्थामा सुझाव, सल्लाह दियो । सो टोलीको सल्लाहमा नेपाली सेनाका सैनिक पदसमेत परिमार्जन गरियो ।
त्यसपछि अर्थात बि.सं.२००९ पछि, बि.सं.२०१० माघसम्ममा नेपाली सेनामा कम्याण्डर–इन–चीफ, कम्याण्डिङ्ग जनरल, लेफ्टिनेण्ट जनरल, मेजर जनरल जस्ता सैनिक पद सृजना गरियो । बि.सं.२०१७ मा प्रधानसेनापति नियुक्त नीरशमशेर जबरा लेफ्टिनेण्ट जनरल पदबाट जनरल पदमा बढुवा भइ कम्याण्डर–इन–चीफ बन्नुभएको हो, त्यसबेला वहांले महारथी पद लिनु भएको होइन । बि.सं.२००९ देखिका नेपाली सेनाका प्रधानसेनापतिलाइ कमाण्डर–इन–चीफ सम्बोधन गरिन्थ्यो ।
नीरशमशेर जबरा प्रधानसेनापति भएको कार्यकालमा बि.सं.२०२० पछि नेपाली सेनाका पदहरु अंग्रेजीबाट नेपालीकरण गरियो र पदावधि समाप्त हुनेबेला नीरशमशेर जबरालाइ महारथी सम्बोधन गर्न थालिएको थियो । त्यसपछि जनरललाइ महारथी, ले।जनरललाइ रथी, मेजर जनरललाइ उपरथी लगायत पद नामाकरण गरियो र सम्बोधन गर्न थालियो । नीरशमशेर जबरापछि सुरेन्द्रबहादुर शाहलाइ रथी पदबाट महारथी पदमा बढुवा गरी कमाण्डर–इन–चीफ नियुक्त गरिएको थियो ।
तसर्थ राणाकालमा प्रचलनमा नरहेको पद महारथी, मानार्थ भएपनि सन् १९५० मा भारतीय सेनाका प्रमुखलाइ दिएको चर्चा र सन्दर्भ तथ्यहीन र गलत छ । यसमा थप स्पष्टता वा शव्द सच्याउन आवस्यक छ ।
प्रधानसेनापतिको पदको नाम फरकफरक: सैनिक इतिहासका जानकारलाइ पनि सैनिक पदहरुबारेमा यहांनेर अलमल हुनसक्छ ।
नेपाली सेनाका प्रधानसेनापतिहरुले कालसमयमा पद फरकफरक लेख्ने गरेका छन् । बि.सं.२०२० सम्म पनि तत्कालीन नेपाली सेनाका प्रधानसेनापति नीरशमशेर जबरा लेखापढीमा कम्याण्डर–इन–चीफ लेख्दथे । राजा पृथ्वीनारायण शाहका मुख्यसहायक कालु पांडे काजी लेख्दथे । बडाकाजी अमरसिंह थापाले बि.सं.१८७३ सम्म काजीका रुपमा पश्चिम नेपालको सेनापतिको कार्यभार सम्हाले । बि.सं.१८६८ मा मुख्तियार भीमसेन थापाले जनरल पद लिए ।
बि.सं.१८९२ मा भीमसेन थापाले जनरल कम्याण्डर–इन–चीफ लिए । भीमसेन थापापछिका रणजंग पांडेले काजी लेखे । तर उनीपछिका माथवरसिंह थापाले पुनः जनरल कम्याण्डर–इन–चीफ लेखे । उनीपछि बि.सं.२०३२ सम्म प्रधानसेनापति चलाएका सिंहबहादुर बस्नेतले कम्याण्डर–इन–चीफ लेखे ।
बि.सं.२०३२ देखि २०३६ सम्म प्रधानसेनापति रहेका महारथी गुणशमशेर जबराले चीफ अफ आर्मी स्टाफ लेखे । बि.सं.२०३६ जेठ १ देखि हालसम्मका नेपाली सेनाका सेनाप्रमुखहरुले प्रधानसेनापति लेख्दै आउनु भएको छ ।
नेपाली सेनाका प्रधानसेनापतिहरुले बि.सं.२०२० पछि मात्र महारथी पद ग्रहण गर्नुभएको हो । उनीपछिका हालसम्ममा प्रधानसेनापतिहरुको पद महारथी रहिआइको छ । बि.सं.२०२० अघि बि.सं.२०१० पछिका प्रधानसेनापतिहरु आफ्नो पद महारथी होइन जनरल लेख्दथे । त्यसअघिका सेनापतिहरुले कम्याण्डर–इन–चीफ लेख्दथे । नेपालका प्रधानसेनापतिहरुले ग्रहण गर्ने पद समयक्रममा फरकफरक भएकाले नेपाली सेनाको मानार्थ पद दिएको तथ्यमा जनमानसमा केहि भ्रम पैदा हुनु स्वाभाविक देखिन्छ ।
भारतीय सेनाप्रमुखलाइ जनरल र महारथी
बि.सं.२०२० जेठ २५ गते भारतका सेनाप्रमुख जनरल जे.एन.चौधरीसम्मलाइ नेपाली सेनाको मानार्थ जनरल पद दिइएको हो । महारथी होइन । महारथी बि.सं. २०२० को असारपछि मात्र नेपाली सेनामा सम्बोधन गर्न थालियो ।
नेपाली सेनाको मानार्थ महारथी पद पाउनु हुने भारतका पहिलो सेनाप्रमुख जनरल साम हर मुसजी फ्राम जमशेद जी मानेक साह हुन । उनी ९–६–१९६९ देखि १४–१–१९७३ सम्म भारतीय सेनाप्रमुख थिए । त्यसबेला भारतका सेनाप्रमुखको पदलाइ चीफ अफ स्टाफ सम्बोधन गरिन्थ्यो । हाल स्थलसेनाध्यक्ष सम्बोधन गरिन्छ ।
बृटिश भारतका सेनापतिलाइ मानार्थ जनरल
बि.सं.१९४६ मा तत्कालीन श्री ३ महाराज प्रधानमन्त्री वीरशमशेर जबराले बृटिश भारतका प्रधानसेनापति लर्ड रबर्टलाई नेपाली सेनाको मानको खातिर अनरेरी जनरल पद प्रदान गरेका थिए । वीरशमशेरले त्यसबेला अनरेरी जनरल पदसंँग जर्नेली पगरी, हुमाउँं, कल्की प्रदान गरेका थिए । नेपालले बिदेशीलाइ मानार्थ सैनिक पद प्रदान गरेको त्यो नै पहिलो हो ।
पछि जुद्धशमशेर जबरा (श्री ३ महाराज, बि.सं.१९८९–२००२) ले छँदा तत्कालिन बृटिस भारत सरकारका प्रधानसेनापति सर क्लाइड जेकोव यडवर्ड अकिनलेक सन् १९४५ अक्टोवर २४ मा काठमाडौं आउदा नेपाली सेनाको मानार्थ जनरल पद प्रदान गरेका थिए ।
त्यसबेला जुद्धशमशेर जबराले अकिनलेकलाई अनरेरी अर्थात मानार्थ जनरल पद, तरवार, जनरल पदको हेलमेट र सुप्रसिद्ध मान्यवर नेपाल तारा पदक दिएका थिए । प्रधानसेनापति अकिनलेक नेपाली सेनाको मानार्थ जनरल पाउने दोस्रा बिदेशी थिए ।
बिदेशी सेनाको मानार्थ पद नेपालीलाई
प्रथम बिश्वयुद्धमा बेलायतलाइ सैनिक र आर्थिक सहयोग गरेबापत श्री ३ चन्द्रशमशेरलाइ बि.सं.१९७६ अर्थात सन् १९१९ डिसेम्बर २७ मा बेलायति सेनाको मानार्थ जनरल र दोस्रो विश्वयुद्धमा सैनिक सहयोग दिएबापत श्री ३ जुद्धशमशेरलाइ बि.सं.१९९१ साउनमा बेलायति सेनाको मानार्थ जनरल र सिभिलियन जिसिभि पदक दिएको थियो ।
बि.सं.१९४२ देखि १९५६ सम्म श्री ३ महाराज रहेका वीरशमशेर जबरालाई बेलायतले रङ्गरुट भर्ती खोल्नदिएबापत मानार्थ कर्णेल पद दिएको चर्चा पाइन्छ । बेलायतले श्री ३ वीरशमशेरलाइ बि.सं.१९४८ मा के.सी.आइ. पदक र बि.सं.१९५५ मा जि.सि.एस.आइ.नामका उच्चपदक दिएको थियो ।
वीरशमशेर नेपालका त्यसबेलाका राष्टप्रमुखको हैसियतमा थिए । उनले बृटिश भारतका प्रधानसेनापतिलाइ मानार्थ जनरल पद दिएका थिए । जनरल पद दिने हैसियतको व्यक्तिले जनरल भन्दा तल्लोतहको सैनिक पद कर्णेल ग्रहण गरेका थिए भन्ने चर्चालाइ कसरी सत्य मान्न सकिन्छ ?
भारतका सेनाप्रमुखलाइ मानार्थ सैनिक पद दिनुको तत्कालीन कारण
पाकिस्तानका सैनिक शासक, राष्ट्रपति तथा फिल्डमार्शल मोहम्मद अयुव खा बि.सं.२०२० बैशाख २० गते नेपाल भ्रमणमा आए । उनको सम्मानमा सिंहदरबारस्थित स्टेटहलमा आयोजित रात्रीभोजमा राजा महेन्द्रबाट पाकिस्तानी राष्ट्रपतिलाई नेपाली सेनाको मानको खातिर सर्वोच्च पद अनरेरी (मानार्थ) फिल्ड मार्शल पदवी प्रदान गरे ।
त्यसबेला भारत पाकिस्तानबीच शत्रुता बढेको थियो । नेपाल पाकिस्तानसंग नजिक हुने डर भारतलाइ हुनु स्वाभाविक हो । कुटनीतिकस्तरमा भारतले नेपालसग सैनिक सम्बन्ध पनि बढाउन प्रयास गरिरहेको थियोे ।
त्यसअघि बि.सं.२०१७ पुष १ मा राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइरालाको सरकार अपदस्थ गरिदिएका थिए । त्यससमय भारतका सेनाप्रमुख जनरल धिमैया नेपाली सेनाका कम्याण्डर–इन–चीफ जनरल नीरशमशेरको निमन्त्रणामा नेपाल भ्रमणमा थिए । नीरशमशेरले जनरल धिमैयालाइ चितवनको जंगलमा शिकार गराउने कार्यक्रम राखेका थिए । तर राजाले पुष १ को कदममा साथ दिन नीरशमशेरलाइ कतै नजान आदेश दिए ।
सेनापति नीरशमशेरले आफु मातहतका मेजर जनरललाइ जनरल धिमैयासंँग सिकारमा पठाए र आफु काठमाण्डौमै बसे । राजाले दिएको काम पुरागरेपछि सेनापति जबरा चितवन शिकार क्याम्पमा पाहुना आएका जनरल धिमैयालाइ भेटन पुगे । जनरल धिमैयाले राजा महेन्द्रको कदम थाहा पाएका रहेछन । उनले सेनापति नीरशमशेरसग भने ‘ यह लोटा वालेको निकाल कर राजा ने ठिक किया ‘ (नीरशमशेर जबरा, मेरो एक शताव्दि, पृ। ३६) ।
भारत रिसाउला भन्ने डर थियो नीरशमशेरलाइ । तर सेनापति खुशी भएको देखेपछि नीरशमशेर दंग परे ।
सेनापति धिमैयाले नेपाली सेनालाइ सैनिक सामग्री दिने आश्वासन दिएर भारत फर्किएका थिए तर उनले भनेझै सहयोग भारतले दिन मानेन । पदावधि छंदै नेपालबाट फर्किएको करिब एक महिनापछि उनलाइ भारत सरकारले पदबाट हटायो । उनीपछि पि एन थापर र उनीपछि जनरल जे एन चौधरी सेनाप्रमुख बने । भारतले राजा महेन्द्रसंँग असन्तुष्ट नेपाली कांग्रेसका कार्यकर्तालाइ साथ सहयोग दिनथाल्यो ।
नेपाली कांग्रेसले देशका बिभिन्न स्थानमा शान्ति सुरक्षा भडकाउने गतिबिधि गरिरहेको समयमा प्रधानसेनापति नीरशमशेर जबराले राजा महेन्द्रसंँग परामर्श गरेर भारतीय सेनाप्रमुखलाइ नेपाल भ्रमणको निमन्त्रणा दिए । निमन्त्रणा स्वीकार गरेर जनरल जे एन चौधरी बि।सं। २०२० जेठ २१ गते नेपाल भ्रमणमा आए । भारतीय सेनाका चीफ अफ द आर्मी जनरल स्टाफ जनरल जे।एन।चौधरीलाई सोही जेठ २५ गते सिंहदरबारको बेलायती बैठक कक्षमा राजा महेन्द्रवीरबिक्रम शाहबाट नेपाली सेनाको अनरेरी जनरलको पदवी, स्वर्ड अफ अनर र इयुनेट्स प्रदान गरेका थिए । उनी सन् १९६२–१९६६ तक् भारतीय सेनाप्रमुख थिए ।
यसबेला नेपाली सेनामा महारथी पद प्रचलनमा थिएन तसर्थ जनरल पद दिइएको थियो ।त्यसबेला राजा महेन्द्र र नेपाली सेनाको आशय भारतले बिद्रोही नेपाली कांग्रेसलाइ हतियार र तालिम नदियोस र सहयोग नगरोस भन्ने थियो । साथै नेपाली सेनाका लागि आवस्यक सैनिक सामग्रीहरु खरिदका लागि सहज वातावरण बनोस, सेनाप्रमुखले भारत सरकारसमक्ष सहजीकरण गरिदिउन भन्ने थियो ।
नीरशमशेर जबरा (प्रधानसेनापति, नेपाली सेना, बि.सं.२०१७–२२) लाइ भारतीय सेनाको मानार्थ पद दिएको तथ्य पाइदैंन ।
नेपाली सेनाको इतिहास, बि.सं.२०६९, पृ.३४९ मा नेपाली सेनाका कम्याण्डर–इन–चीफ रहेका महारथी सिंहबहादुर बस्न्यातलाइ पहिलोपटक स्वतन्त्र भारतको राष्ट्रिय सेनाको मानार्थ जनरल पद दिएको उल्लेख छ । आजसम्म प्राप्त लिखित तथ्य यस्तो छ । भोलिका दिनमा थप लिखित तथ्य प्राप्त भएमा सोही तथ्य जानकारीमा आउने नै छ ।
बि.सं.२०२७ पछिका दिनमा नेपाली सेना र भारतीय सेनाबीच असल सम्बन्ध रहि आएको छ । बि.सं.२०४४–४८ समय प्रधानसेनापति रहनुभएका महारथी सत्चितशमशेर जबराबाहेक अन्य प्रधानसेनापतिहरुले भारतीय सेनाको मानार्थ जनरल पद पाउनु भएको छ । नेपाल र भारतीय सेनाबीचको आपसी सम्बन्ध दुबै देशका सरकारका लागि पनि सहयोगी बनेको छ । दुइ देशबीच यदाकदा सम्बन्धमा जटिलता आइपर्दा पनि सैनिक सम्बन्ध यथावत रहि आएको छ ।
– लेखक मोहन थापा, नेपाली सेनाको अबकासप्राप्त सुबेदार हुनुहुन्छ ।