• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल ★   डढेलोले पाइप जल्यो, खानेपानीको समस्या ★   फास्ट ट्रयाकबाट कानून बनाइ सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय ★   कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत ★   तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित ★   श्रम स्वीकृती २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ: मन्त्री अर्याल

अष्ट्रेलियामा नेपालको प्रबद्र्धन गर्न ‘नेपाल फेष्टिभल सिड्नी’ हुँदै



सिड्नी । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपालको प्रबद्र्धनात्मक नेपाल फेष्टिभल शनिबार हुने भएको छ ।

शनिबार १९ नोभेम्बरका दिन नेपालीहरुको घना बसोबास रहेको क्षेत्र बरउडको केन्द्र बरउडपार्कमा नेपाल फेष्टिभल गर्न लागिएको हो ।

नेपाल फेष्टिभलमा नेपाली कला, संस्कृति, पहिरन, वाद्यवादनका साथै खाना, संगीत र पर्यटकीय स्थलहरुको प्रचार गरिनेछ । अष्ट्रेलियाको सिड्नीमै नेपालको झल्को दिनका लागि नेपाल हाउस निर्माण गरिने महोत्सवका संयोजक एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले सम्पूर्ण तयारी पूरा भएको र शनिबार दिनभर मनोरञ्जनात्मक कार्यक्रमका साथै खानाका स्टलहरु, नेपाली व्यवसायीहरुले पाएको सफलताका कथाहरु नेपाल फेष्टिभलमा हेर्न पाइने बताए ।

औपचारिक उद्घाटन कार्यक्रममा अष्ट्रेलियाका राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुनका लागि नै अष्ट्रेलियाका विभिन्न राज्यबाट समेत नागरिक समाजका अगुवाहरु सिड्नी आइपुगेका छन् ।

अष्ट्रेसलियामा रहेका नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटाले यस किसिमको कार्यक्रम हरेक शहरमा गरेर यहाँको समूदायमा आफ्नो उपस्थिति जनाउने कार्य उदाहरणीय भएको बताए । उनले भने, ‘सन् २००६ बाट एनआरएनहरुले सिड्नीबाटै नेपाल फेष्टिभल सुरु गरेका थिए । अहिले यो सबै राज्यमा फैलिसकेको छ । अष्ट्रेलियाको बहुसांस्कृतिक समाजले यस्ता मेला महोत्सवलाई सम्बन्धित देशको खानाको स्वाद, पहिरन र सांस्कृतिक विविधता बुझ्ने अवसरको रुपमा लिने हुनाले नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्छ । नेपाल गइसकेका अष्ट्रेलियनहरुले नेपालको झल्को यहाँ पाउँछन् भने नेपाल नगएकाहरुले जाने प्रोत्साहन महोत्सवमा पाउँछन् जस्तो लाग्छ ।’

यस पटकको नेपाल फेष्टिभलमा ५५ वटा स्टलहरु राखिएको छ भने यीमध्ये ९ वटा स्टल नेपाली खानाका परिकारहरुको रहेको छ । रेमिट्यान्सका अन्तर्राष्ट्रिय कम्पनी, अष्ट्रेलियाको सरकारी बैंकसहितका व्यापारिक घरानाहरुले नेपाल फेष्टिभलमा आफ्नो उपस्थिति जनाएका छन् ।

नेपाल फेष्टिभलका उपसंयोजक एवं एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल पछिल्लो समयमा अष्ट्रेलियन समूदायमा नेपालप्रतिको चासो बढेको पाइएको बताउँछन् । उनी भन्छन् नेपालीलाई मेहनती भनेर धेरैले चिनेका छन् । काम गर्ने ठाउँमा हाम्रो फेष्टिभल हुँदैछ त्यहाँ नेपाली स्वाद पस्कन्छौं भन्दा उनीहरु मम चाख्न जानुपर्छ भन्दै आउने गर्दछन् । यस्तै नेपाली गीत संगीतले पनि उनीहरुलाई आकर्षित गर्ने गरेको छ ।

यस पटकको नेपाल फेष्टिभलमा अष्ट्रेलियाका नेपालीमूलका कलाकारहरुका साथै नेपालको चर्चित गायक दिपक बज्राचार्य र रिदम व्याण्ड, गायक प्रकाश सपुत, हाँस्य कलाकार सन्दिप क्षेत्री लगायतको प्रस्तुति समेटिएको छ । मञ्च र सांस्कृतिक कार्यक्रमको संयोजन गरिरहेकी एनआरएन अष्ट्रेलियाको ओसेनिया क्षेत्रीय महिला संयोजक उषा बारिया नेपाल फेष्टिभलमा सहभागी हुने दर्शकहरुले सम्पूर्ण मनोरञ्जन प्राप्त गर्ने बताउँछिन् ।

उनी भन्छिन् ,’अष्ट्रेलियामा अधिकांश नेपालीहरु विद्यार्थीको रुपमा आउनुभयो । उहाँहरु जति नै व्यस्त भएपनि नेपाली गीत संगीतलाई मन पराउनुहुन्छ र त्यसमै रमाउनुहुन्छ । यस पटक हामीले सबै उमेर समूहका नेपालीहरुलाई समेट्नका लागि त्यही अनुरुप कलाकार छनोट गरेका छौं । शनिबार दिनभरि नेपाली गीत संगीतले बरउडको पार्क घन्किनेछ । तपाईंहरुलाई निम्तो छ । सकेसम्म एकजना विदेशी साथी पनि साथैमा लिएर आउनुभयो भने अझ रमाइलो हुनेछ ।’

महोत्सवको सुरुवातमा भने नेपाली पोशाकमा सजिएर विभिन्न झाँकीसहितको नेपाल फेष्टिभल परेड आयोजना गरिनेछ । परेड संयोजक सन्ध्या शाहले कुमारी, शिव पार्वती सहित नेपाली पोशाकमा सैयौं नेपालीले परेडमा सहभागिता जनाउने निश्चित भइसकेको जानकारी दिएकी छिन् ।