काठमाडौं । गत बिहीबार साँझ ललितपुरको धोवीघाटस्थित घरबाट सुसाइड नोट लेखेर बेपत्ता भएकी गायिका जेरुसा राई अझै फेला परेकी छैनन् ।
प्रहरीका अनुसार सोहि दिन राति ८ बजेको आसपाससम्म उनी ललितपुर र काठमाडौं जोड्ने कीर्तिपुर सुन्दरीघाटको बागमती खोलाको झोलुङ्गे पुलमा देखिएकी थिइन् । तर, त्यहाँबाट उनी कता गइन् भन्ने कुनै क्लु फेला पार्न नसकेको अनुसन्धानमा खटिएका प्रहरी बताउछन् ।
प्रारम्भिक अनुसन्धानमा जेरुसा डिप्रेसनको बिरामी भएको पाइएको छ । डिप्रेसनको बिरामी भएकोले उनीले आत्महत्या गरेको भएपनि एकान्त ठाउँमा हुनसक्ने या विरक्तिएर कुनै ठाउँमा बसिरहेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
जेरुसा बागमती आसपासमा खोज्दा भेटिएको छैन । तालिमप्राप्त कुकुरसमेत ल्याएर उनको खोजी भईरहेको प्रहरीले बताएको छ ।
जेरुसाले मोबाइल घरमै छाडेर गएकी छन् । उनीले छाडेको सुसाइड नोटमा आफूले बाँच्नुपर्ने जीवन बाँचिसकेको उल्लेख गरेकी छन् ।
जेरुसाको खोजीमा आफन्त र साथीभाइको टोली पनि लगातार जुटिरहेको छ । सामाजिक सञ्जालका विभिन्न समूहहरुमा पनि ‘तपाईंले हाम्रो जेरुसालाई देख्नुभयो’ लेखिएका पोस्टहरु मार्फत उनको खोजि भईरहेको छ ।
लामो समय बेलायत बसेर नेपाल फर्किएकी उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझमा निकै चलेको थियो । उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित रहेका छन् ।