८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’



अ+ अ-

काठमाडाैँ । कांग्रेस सभापति गगन थापाले नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको योगदानको स्मरण गरेका छन्।

थापाले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठको निधनले आफूलाई स्तब्ध र मर्माहत बनाएको बताएका हुन्।

उनले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन निर्माण र लोकतन्त्रको रक्षाका लागि श्रेष्ठले पुर्‍याएको योगदान सधैं प्रेरणादायी रहने उल्लेख गरेका छन्। स्याङ्जाबाट सुरु भएको श्रेष्ठको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्वउपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा उहाँले पार्टी र देशका लागि पुर्‍याएको योगदान अविस्मरणीय रहेको थापाले बताएका छन्।

थापाले श्रेष्ठजस्तो समर्पित, निष्ठावान, अनुभवी र निडर नेता गुमाउनु नेपाली कांग्रेस र सिंगो देशकै लागि अपूरणीय क्षति भएको बताएका छन्। साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै श्रेष्ठको निष्ठा र समर्पणको बाटोमा निरन्तर अघि बढिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पणका लागि बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म उहाँको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने थापाले जानकारी दिएका छन्।