• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

विश्वविद्यालय व्यवस्थापन गर्ने विषयमा सरकार उल्टाे बाटाे हिँडिरहेकाे छ : गगन थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले सरकार सुल्टो बाटो नभइ विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको बताउनु भयो । सांसद थापाले संविधानको अनुसूची ५ ले केन्द्रिय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भनेपनि संविधानअनुसार काम नभएको गुनासो गर्नुभयो । उहाँले सरकार शिक्षासम्बन्धी एउटा राष्ट्रिय नीति, त्यसअन्तर्गत संघीय शिक्षा ऐन, त्यससँग जोडेर विश्वविद्यालयको छाता ऐन, छाता ऐनले विश्वविद्यालयको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा गम्भीर बनेर लाग्नुपर्ने बताउनु भयो ।

सांसद थापाले संघीय शिक्षा ऐन नल्याएको र अर्कोतर्फ शिक्षा नीति बनाएर प्रश्तुत गर्न नसकेको बताउनु भयो । उहाँले संघीय शिक्षा ऐन एकातिर र विश्वविद्यालय व्यवस्थापन गर्ने सन्दर्भमा विश्वविद्यालयको छाता ऐन नबनाउने, नयाँ विश्वविद्यालय बनाउँदै जाने हो भने भइरहेका विश्वविद्यालयलाई थप ध्वस्त पार्ने दाबी गर्नुभयो ।

सांसद थापााले भन्नुभयो, ‘हामी सुल्टो बाटो होइन, उल्टो बाटो हिँडिरहेका छौँ । हाम्रो संविधानले अनुसूची ९ मा शिक्षा तीनै तहको सरकारको अधिकार हो भन्यौँ । अनुसूची ५ ले केन्द्रिय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भन्यो । संविधानले यी सबै व्यवस्था गरिसकेपछि हाम्रो यात्रा अघि बढाउनुपर्ने काममा हाम्रो संघीय विश्वविद्यालय थिए, छन् । केही विश्वविद्यालयको अवस्था थिए, केही समस्या थिए, अवसर पनि हामीलाई प्राप्त भएको थियो । समग्र नेपालको विश्वविद्यालयको शिक्षाको व्यवस्थापन कसरी गर्ने ? हाम्रा कमी, कमजोरी अपर्याप्ततालाई सम्बोधन गरेर कसरी अघि बढ्ने ? एउटा अवसर हामीलाई आएको थियो । हामी हिँड्ने बाटो भनेको शिक्षासम्बन्धी एउटा राष्ट्रिय नीति, त्यसअन्तर्गत संघीय शिक्षा ऐन, त्यससँग जोडेर विश्वविद्यालयको छाता ऐन, छाता ऐनले विश्वविद्यालयको व्यवस्थापन कसरी गर्ने ? भइरहेकोलाई के गर्ने ? नयाँ कसलाई खुल्न दिने, कसलाई नदिने ? केन्द्र र प्रदेशले के गर्ने भनेर बाटो देखाउँथ्यो । हामीले त्यो गरेनौँ । एकातिर संघीय शिक्षा ऐनपनि ल्याएनौँ । शिक्षा नीति बनायौँ, प्रश्तुत गर्न सकेनौँ । हामीले अहिले विद्यमान भएको त्रिभूवन विश्वविद्यालय लगायतको ऐनलाई संशोधन गर्यौं । अहिले धमाधम प्रदेशले प्रदेशका विश्वविद्यालयको ऐनहरु बनाउन थालेको छ । अहिले पनि हामीले संघीय शिक्षा ऐन एकातिर र विश्वविद्यालय व्यवस्थापन गर्ने सन्दर्भमा विश्वविद्यालयको छाता ऐन नबनाउने र कहिले एउटा, कहिले अर्को विश्वविद्यालय बनाउने हो भने यसले हाम्रो विश्वविद्यालयलाई थप ध्वस्त बनाउँछ । विश्वविद्यालय बनाउने, संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने सन्दर्भमा सरकारको ध्यान जाओस् ।’

सांसद थापाले समग्र नेपालको विश्वविद्यालयको शिक्षाको व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो ।