१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक विद्यालयलाई सूचना प्रविधिमा सहयोग गर्न ५५ करोड रकम विनियोजन



अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेशभित्रका तीन सयवटा सामुदायिक विद्यालयहरुलाई सूचना, प्रविधि र विज्ञानसँग जोड्नका लागि आगामी आर्थिक वर्षका लागि ५५ करोड रकम विनियोजन गरिएको बताउनुभएको छ । उहाँका अनुसार मन्त्रालयले प्रदेशका एक सय सामुदायिक आधारभूत विद्यालय र दुई सय सामुदायिक माध्यमिक विद्यालयको छनोट गरी उपलब्धि सूचकका आधारमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशाला स्थापना लगायतका सिकाइ उपलब्धि बढाउने कार्यका लागि पूँजीगत अनुदान विनियोजन गरेको हो ।

मन्त्रालयले प्रदेशभित्रका सामुदायिक विद्यालयको नतिजा सुधार गर्नका लागि विद्यालय शिक्षामा नतिजा सुधारका लागि विद्यार्थी केन्द्रित विद्यालय व्यवस्थापन सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रदेशभित्रका रहेका एक सय सामुदायिक आधारभूत विद्यालय र दुई सय सामुदायिक माध्यमिक विद्यालयको छनोट गरी व्यवस्थापन सुधारको लक्ष्यसहित अनुदान दिन रु २५ करोड विनियोजन गरेको मन्त्री मोक्तानको भनाइ छ ।

उक्त कार्यक्रमका लागि सङ्घीय सरकारसँगको समन्वयमा प्रधानाध्यापकको शैक्षिक नेतृत्व, सीप तथा व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिने जनाइएको छ । उहाँका अनुसार विद्यालयमा जाने अनुदानलाई शैक्षिक नतिजासँग आबद्ध गर्न उपलब्धि सूचकहरु निर्धारण गरिनेछ । यसैगरी माध्यमिक तहमा कृषि तथा पशु सेवासम्बन्धी विषयको अध्यापन गराउने सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नसमेत बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “अबको शिक्षामा प्रविधि र व्यवसाय नजोडेसम्म उपलब्धि हासिल हुन सक्दैन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत सञ्चालित शिक्षालयहरुको भौतिक पूर्वाधार सुधार तथा क्षमता अभिवृद्धि गरिने छ । ” यसका लागि सिन्धुलीमा प्रदेशको बहुप्राविधिक शिक्षालय स्थापना गरिने र सिन्धुपाल्चोकमा निर्माणाधीन दिनेश–रामजी प्राविधिक शिक्षालय आगामी वर्ष निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाँले जनाउनुभयो ।

सामुदायिक विद्यालयको कक्षा ११ र १२ वा सो सरहमा प्राविधिक विषय अध्ययन गर्ने अल्पसङ्ख्यक, लोपोन्मुख, अति सीमान्तकृत, विपन्न दलित समुदायका छात्रछात्रामध्ये प्रतिस्थानीय तह एक जनालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्न र सामुदायिक क्याम्पसमा अध्ययनरत छात्रालाई प्रदान गरिने छात्रवृत्तिसमेत बजेट छुट्याइएको मन्त्री मोक्तानले जानकारी दिनुभयो । आगामी वर्ष पाँच विद्यालयलाई आवासीय विद्यालयका रुपमा स्तरोन्नति गरी लोपोन्मुख, अति सीमान्तकृत, अल्पसङ्ख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरूलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गरिने उहाँले बताउनुभयो ।

प्रदेश विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनाको प्रक्रिया सुरु गरिने र उच्च शिक्षा परिषद् सचिवालय व्यवस्थापन र सम्भाव्यताको आधारमा प्रदेश विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गरिने मन्त्री मोक्तानले बताउनुभयो । प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गर्न र हाल सञ्चालित बाल विकास केन्द्रहरुको भौतिक पूर्वाधार विकास गर्न बजेट छुट्याउना साथै स्थानीय तहलाई बालमैत्री संरचनाहरु स्थापना गर्न प्रोत्साहित गरिने उहाँले जनाउनुभयो ।