काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध नेपालको नियन्त्रणभन्दा बाहिर रहेको बताउनुभएको छ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री साहले अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण नेपालको आपूर्ति प्रणाली प्रभावित भएको बताउनुभयो।
उहाँले रुस–युक्रेन तथा मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य र आपूर्तिमा अस्थिरता आएको भन्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री साहले परम्परागत इन्धनको विकल्प खोज्ने समय आएको बताउँदै स्वदेशमै वैकल्पिक ऊर्जा तथा खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो। उहाँले ब्रिकेट, विद्युत् तथा अन्य स्वदेशी ऊर्जाको प्रयोग बढाउन सकिने बताउनुभयो।
‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले बाह्य निर्भरता मात्र बढाउनेभन्दा स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्छ,’ उहाँले भन्नुभयो।
मन्त्री साहले पेट्रोलियम पदार्थमा मात्रै नभई खाद्यान्नमा समेत बाह्य निर्भरता घटाउनुपर्ने बताउनुभयो। आयातित चामलमा निर्भर हुनुको सट्टा स्थानीयस्तरमा मकै, फापर, कोदो, सिमी लगायतका रैथाने कृषि उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो।
स्वदेशी उत्पादन र ऊर्जाको प्रयोगलाई बढावा दिन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री साहले नागरिकलाई समस्या मात्र नभई स्वदेशमै उपलब्ध विकल्प र सम्भावनाबारे जानकारी गराउन आग्रह गर्नुभयो।
‘जनतालाई समस्या मात्र होइन, स्वदेशमै उपलब्ध विकल्प र सम्भावनाबारे पनि जानकारी गराउँदै आत्मनिर्भरतातर्फ प्रेरित गर्नुपर्छ,’ उहाँले भन्नुभयो।
सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री साहले बदलिँदो भू–राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर बाह्य वस्तुमाथिको निर्भरता घटाउने नीति आवश्यक रहेको दोहोर्याउनुभयो।







