१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता
अ अ+ अ-

काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ले वैज्ञानिक अध्ययन र तथ्यमा आधारित निष्कर्षसहितको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्ने प्रतिबद्धता जनाएको छ ।

समितिका सभापति गणेश पराजुलीले समितिको नेतृत्वको जिम्मेवारी दिएकोमा सदस्यहरूप्रति आभार व्यक्त गर्दै निष्पक्ष अध्ययन, साझा सहकार्य र परिणाममुखी काममार्फत विश्वासलाई सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले विपद्मा आफन्त गुमाएका परिवारको पीडा, घरबार तथा जीविकोपार्जन गुमाएका नागरिकको भविष्य र जोखिममा रहेका बस्तीको सुरक्षालाई समितिले प्राथमिकतामा राख्ने बताउनुभएको छ । हिमालसहित विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभावको वैज्ञानिक अध्ययन गरी जलवायु न्यायका लागि नेपालको आवाज बलियो बनाउने र भविष्यमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि ठोस आधार तयार गर्ने उहाँको भनाइ छ ।

समितिले विपद्अघिको जोखिम पहिचान, पूर्वतयारी, पूर्वचेतावनी तथा सीमापार सूचना आदानप्रदानदेखि विपद्पछिको खोज, उद्धार, राहत, सुरक्षित पुनर्स्थापना र दिगो पुनर्निर्माणसम्मका विषयलाई अध्ययनमा समेट्ने जनाएको छ ।

समितिले भूगर्भ, जलवायु, वातावरण, विपद् व्यवस्थापन, हिमनदी तथा हिमताल, नदी तथा जलविज्ञान, पूर्वाधार, यातायात र ढुवानीलगायत क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्तासँग छलफल गर्ने जनाएको छ । साथै सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह र प्रभावित नागरिकका अनुभव तथा सुझावलाई समेत अध्ययनको आधार बनाइने सभापति पराजुलीले बताउनुभएको छ ।

उहाँले स्वदेश तथा विदेशमा रहेका सम्बन्धित विषयका विज्ञलाई आफ्नो विज्ञता, अनुभव, अध्ययन–अनुसन्धान तथा सम्पर्क विवरण समिति सचिवालयमा उपलब्ध गराउन आग्रह गर्नुभएको छ । विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा प्राज्ञिक संस्थासँग अध्ययन, तथ्याङ्क विश्लेषण र प्राविधिक परामर्शमा सहकार्य गर्ने समितिको तयारी छ ।

सभापति पराजुलीले सञ्चारमाध्यमबाट खोज तथा अनुसन्धानमूलक सामग्री, स्थलगत तथ्य र प्रभावित नागरिकका आवाजमार्फत रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभएको छ । सञ्चारमाध्यमले सार्वजनिक गरेका प्रमाणयोग्य तथ्य तथा कार्यान्वयनगत कमजोरीले समितिको अध्ययनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

जलवायु परिवर्तनको प्रभाव सीमाभित्र सीमित नरहने भएकाले हिमालयको संवेदनशीलता, सीमापार जलाधार र तल्लो तटीय क्षेत्रको सुरक्षाका विषयमा छिमेकी मुलुक, अन्तर्राष्ट्रिय वैज्ञानिक तथा अनुसन्धान संस्थासँग तथ्याङ्क, प्रविधि र अध्ययनका निष्कर्ष आदानप्रदान गर्ने पहलसमेत समितिले गर्ने जनाएको छ ।

समितिले हानि–नोक्सानीको अभिलेखीकरण, जलवायु वित्तमा पहुँच तथा अन्तर्राष्ट्रिय सहकार्यका लागि नेपालको प्रमाणमा आधारित दाबीलाई सुदृढ गर्ने विषयलाई पनि प्राथमिकतामा राख्ने भएको छ ।

सभापति पराजुलीले समितिको प्रतिवेदनका प्रत्येक प्रमुख सिफारिसमा जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा, आवश्यक स्रोत र प्रगति मापनका आधारसमेत स्पष्ट गर्ने प्रयास गरिने बताउनुभएको छ । निर्धारित समयभित्र तथ्यमा आधारित, निष्कर्षपूर्ण, व्यावहारिक तथा कार्यान्वयनयोग्य प्रतिवेदन प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्ने समितिको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभएको छ।