काठमाडाैँ । fरौतहटमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
गढीमाई नगरपालिका–७ धरमपुरस्थित भित्री सडकखण्डमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट स्थानीय छोटेलाल यादवका छोरा रितिक यादवको मृत्यु भएको हो।
प्रहरीका अनुसार धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले बिहान करिब ९ः१५ बजे आफ्नै घरअगाडिको सडकमा खेलिरहेका रितिकलाई ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल, गरुडा लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि ट्याक्टर घटनास्थलमै छाडेर चालक फरार भएका छन्। चालकको नामथर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको छ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा घटनास्थल अधिकृत (एसओसीओ) सहितको टोली खटिएको छ।
प्रहरीले ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टरलाई प्रहरी चौकी धरमपुरमा ल्याउने प्रक्रिया भइरहेको जनाएको छ।








