काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन र गैरआवासीय नेपाली (एनआरएन) फन्ड नेपाल भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सापकोटाले अक्सन मार्केट सञ्चालनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सन मार्केटमा सेटलमेन्टको जिम्मेवारी सीडीएससीले र बजार सञ्चालनको जिम्मेवारी नेप्सेले लिने गरी प्रक्रिया अघि बढाइएको छ ।

अक्सन मार्केटका सम्बन्धमा छिट्टै नतिजा देखिने चरणमा काम भइरहेको उहाँले बताउनुभयो । त्यस्तै, एनआरएनको लगानी भित्र्याउने विषयमा पनि सीडीएससी र नेप्सेले आवश्यक तयारी तथा कार्ययोजना तयार गरिसकेको उहाँको भनाइ छ ।
सापकोटाले लगानीकर्तालाई प्रविधिमार्फत थप प्रभावकारी र गुणस्तरीय सेवा दिन सीडीएससीले प्रविधि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । करिब ८० लाख लगानीकर्ताको धितोपत्र स्वामित्व तथा होल्डिङ व्यवस्थापन गरिरहेको संस्थाका रूपमा सीडीएससी प्राविधिक रूपमा सक्षम र सबल हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले सीडीएससीको पूर्वाधारमा कुनै पनि किसिमको सम्झौता गर्न नहुनेमा जोड दिनुभयो । संस्थाको जिम्मेवारी र आवश्यकताअनुसार उत्कृष्ट पूर्वाधार निर्माण गर्न आवश्यक बजेट तथा स्रोतसाधनको व्यवस्थापनमा समेत ध्यान दिइने उहाँले बताउनुभयो ।
सापकोटाले लगानीकर्ताको धितोपत्र होल्डिङ तथा अभिलेख व्यवस्थापनजस्तो संवेदनशील जिम्मेवारी सीडीएससीसँग रहेकाले संस्थाको प्राविधिक क्षमता र पूर्वाधारलाई कमजोर हुन नदिने स्पष्ट पार्नुभयो ।







