२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ 



अ+ अ-

कुनै पनि पर्यटकीय गन्तव्यमा पूर्वाधार पुग्नु भनेको त्यससँगै शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता यावत् विषय पुग्नु हो । पर्यटन पूर्वाधारमा गरिने लगानी तोकिएको कामका लागिमात्र गरिने लगानी होइन, यो मुलुककै अर्थतन्त्र विस्तारको मेरुदण्ड पनि हो । यसमा चुनौती छन् तर त्यसबाट माथि उठेर देशको आर्थिक सबलीकरणमा ठूलो भूमिका निर्वाह हुन्छ ।

लगानी गरेअनुसार सरकारले राष्ट्रिय प्राथमिकतामा पनि राख्दै आएको छ । यसमा व्यवसायी आशावादी छौँ । हामीले यही आशा लिएर कैलाली, बर्दियालगायत गन्तव्यमा पर्यटन पूर्वाधार विस्तार योजना अगाडि बढाइसकेका छौँ ।

नेपाल यस्तो गन्तव्य हो जहाँ जुनसुकै जस्तोसुकै परिस्थिति आएपनि पर्यटन बुम हुन धेरै समय लाग्दैन । मुख्यतः क्रस बोर्डर टुरिजमअन्तर्गत क्यासिनोसँगै वैवाहिक पर्यटनका लागि पनि प्रचुर सम्भावना छ । तर भारतीय पर्यटकका लागि लगाइएको मुद्रा सीमितताले प्रभाव पर्दै आएको छ । पर्यटकबाट जति धेरै खर्च हुन्छ त्यति नै मुलुकलाई फाइदा हुने हो ।

हामी आईएमई समूहअन्तर्गत पर्यटन उद्योगका विभिन्न काममा सहकार्यमा लागिरहेका छौँ । आईएमई समूहले मुलुकमा पर्यटनको प्रचुर सम्भावना देखेर नै इला एक्सपेरियन्समार्फत पूर्वाधार विस्तार गर्दै आएको छ। विदेशी मुद्रा भित्र्याउने प्रमुख आधार नै पर्यटन क्षेत्र हो। आईएमई भन्नेवित्तिकै वित्तीय क्षेत्रसँग जोडिएको छ । त्यसैकारण संस्कृत शब्द ‘इला’को अवधारणामा हामी मुलुकको पर्यटन क्षेत्रलाई थप चुस्त बनाउन अगाडि बढिरहेका छौँ ।

हामीले पछिल्लो समय पर्यटन र केबलकार पूर्वाधारमा जोड दिँदै आएका छौँ । अहिले काठमाडौं, पोखरा, गैंडाकोट, नवलपुर र बागलुङमा होटल सञ्चालित छन् । सेल्स एण्ड मार्केटिङमार्फत मौलाकाली केबलकार, लुम्बिनी केबलकार प्रवर्द्धन गर्दै आएका छौँ । आगामी दिन मुलुकको पछाडि परेको क्षेत्रमा पनि पर्यटन पूर्वाधार विस्तार गर्ने व्यावसायिक योजनामा छौँ।

हिमाल, पहाड र तराई जुनै पनि क्षेत्रको कुरा गर्दा आन्तरिक र बाह्य पर्यटकले एकैदिन तीन किसिमको भौगोलिक संरचना, विविध संस्कृति, मौसमको आभास लिन सक्छन्। अहिले हिमाली क्षेत्रको कुरा गर्दा बाह्यसँगै आन्तरिक पर्यटक नै ट्रेकिङमा जाने अभ्यास बढिरहेको छ । तर हिमाली गन्तव्यमा पर्याप्त बसोबासको अभाव देखिएको छ। पहाडी र तराई गन्तव्यमा पनि नेपालीहरु घुम्ने अभ्यास बढ्दो छ।

तराई क्षेत्रमा क्रस बोर्डर टुरिजमको सम्भावना बलियो छ। करिब डेढ अर्ब जनसंख्या भएको छिमेकी मुलुक भारतबाट पर्यटक ल्याउने सम्भावना छ । यता मुस्ताङकै कुरा गर्दा डेढ अर्ब जनसंख्या भएको अर्को छिमेकी मुलुक चीनबाट आउने पर्यटकको संख्या वृद्धि हुँदै गएको छ । सबै पर्यटकीय गन्तव्यमा भारतीय र चिनियाँ पर्यटक आगमनको सम्भावना अझै बढ्ने देखिन्छ । सडक पूर्वाधार विस्तार हुँदै छ । नेपाल भौगोलिक हिसाबले सानो छ तर पर्यटकीय हिसाबले संसारभरकै विशेष छ ।

लदगातार तीन दिन सार्वजनिक बिदा भएको अवस्थामा हाम्रा यहिँ भएका आन्तरिक पर्यटकबाट मुलुकको विभिन्न पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य देख्न सकिन्छ । अर्को त अहिले मुलुकमा आन्तरिक विमानस्थल स्तरोन्नति भइरहेको छ भने नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आइसकेका छन् । हवाई पूर्वाधार नै यातायातको सुरक्षित, आरामदायी र समय किफायती यातायात हो ।

अहिलेको प्रमुख एक्सेस पोइन्ट काठमाडौं मात्र बनेको छ । पोखरा र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चुस्त रुपमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको अवस्थामा विदेशी पर्यटकको चहलपहल उल्लेख्य हुने सम्भावना छ ।

सडक पूर्वाधार र हवाई पूर्वाधार विस्तार हुने हो भने पर्यटकको चहलपहल स्वतह वृद्धि हुँदै जान्छ। अहिले चन्द्रागिरिकै कुरा गर्दा काठमाडौंनजिकैको आइकन बन्न सफल भएको छ । काठमाडौं उपत्यकाबाहिरबाट आएका हुन् या अरु मुलुकबाट आएका अधिकांशलाई चन्द्रागिरि विशेष बन्दै आएको छ । व्यस्तताका बाबजुत फुर्सदको दिन चन्द्रागिरिमा जाने यात्रुले दिनभरी साइकलिङ, जिपलाइन, मन्दिर दर्शन, बच्चाहरुलाई मनोरञ्जन, उचाईबाट सहर र हिमश्रृङ्खलाको दृश्यावलोनलगायत क्रियाकलाप गर्न सक्छन् । हामीले यहाँ मात्र होइन मुलुकको अधिकांश पर्यटकीय गन्तव्यमा यस्तै सेवा सुविधा दिने उद्देश्यले पूर्वाधार विस्तार गर्दै आएका छौँ ।

पूर्वाधार विस्तारको काम गर्दैगर्दा पर्यटक आगमनमात्र होइन रोजगार सिर्जना, स्थानीय उत्पादनले पर्याप्त माग पाउनुका साथै संस्कृतिको पहिचान र प्रवर्धन हुन्छ। पर्यटकका लागि नेपाल एउटा नयाँ सिकाइ र अनुभवको केन्द्रबिन्दु हो। जहाँ विभिन्न भौगोलिक संरचनामा रहँदै आएका नेपाली आतिथ्यता, विविध स्वाद, हावापानी, प्राकृतिक छटाको अनुभव आनन्द लिन सक्छन् । पर्यटकका लागि सहज र आरामदायी अनुभव दिनकै लागि हामी कटिवद्ध छौँ । अरु मुलुकमा अत्यधिक चिसो हुँदा नेपालको कुनै पहाडी गन्तव्य भ्रमणका लागि विशेष छ । यहाँको हावापानी अरु मुलुकको भन्दा भिन्न र आरामदायी छ ।

लगानीमा हामी काठमाडौं केन्द्रित मात्र छैनौँ । अन्यत्र पनि सम्भावना देखेर मात्रै लगानी बढाइरहेका छैनौँ, हामी सुरुवाती चरणदेखि नै सम्भावना उजागर गर्ने उद्धेश्यले पर्यटन र पूर्वाधार क्षेत्रमा लगानी गर्दै आएका हौँ । लगानी आज गरेर भोलि नै प्रतिफल प्राप्त हुने पनि होइन ।

अहिले भारतीय सीमा क्षेत्रनजिकै रहेका पर्यटकीय गन्तव्यकै कुरा गर्दा उत्कृष्ट होटल आइसकेको अवस्था छ । हिलस्टेसनकै कुरा गर्दा भारतमा देहरादुन जानु पर्‍यो, सिक्किम, गान्तोक जानुपर्‍यो। अब नेपालमा त्यस्ता सबै ठाउँ सहज छ। छोटो अवधिमै हिलस्टेसन जान सकिन्छ ।

पर्यटन पूर्वधारको महत्वपूर्ण क्षेत्र बनिरहेको केबलकारले पर्यटकलाई मात्र सेवा दिएको छैन, सबै गन्तव्यमा स्थानीयका लागि सामान ढुवानीका लगि विशेष साधन, वातावरणमैत्री साधन बनेको छ । मनकामना केबलकारकै उदाहरण दिँदा गर्दा गोरखामात्र नभइ समग्र नेपालकै आर्थिक क्षेत्रमा टेवा पुर्‍याउँदै आएको छ। नेपाललाई ल्याण्ड अफ केबलकार बनाउन सकिन्छ । हाम्रो भौगोलिक संरचना नै त्यस्तै छ। अब पहाड फोडेर बाटो बनाउँदा वातावरण प्रभावित हुन्छ । वर्षौँअगाडिदेखि युरोपमा डाँडातिर जानुपर्‍यो भने केबलकार नै प्रयोग गर्दै आएका छन् । काठमाडौं-हेटौँडाकै कुरा गर्दा नजिक छ । तर सडकमार्गका कारण दुरी धेरै बढेको हो ।

आजको दिनमा ट्रेकिङ टुरिजम राम्रो छ । तर सबै पर्यटकका लागि त्यो सम्भव छैन । फ्रान्स, स्वीट्जरल्याण्डमा हेर्ने हो भने केबलकार नै हिमालमा पुर्‍याइएको छ । हुन त यो भौगोलिक हिसाबले चुनौतीपूर्ण यात्रा हो। हाम्रै नेपालीहरुको कुरा गर्दा नेपालमा रहेका हिमाल पुगेका हुँदैनन् तर स्वीट्जरल्याण्डको हिमालमा पुगेको देख्न सकिन्छ । स्किङ गरेको देख्न सकिन्छ । नेपालको सन्दर्भमा इच्छा भएकाले धेरै खर्चमा हेलिकोप्टर चढेरै हिमाली क्षेत्रमा जान सक्दैनन् । यसमा केबलकारबाहेकको विकल्प छैन ।

प्राकृतिक सुन्दरताको अवलोकनसँगै धार्मिक पर्यटन, चलचित्र पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, अध्यात्म पर्यटनलगायत विभिन्न पर्यटकीय सम्भावना बोकेको देश हो नेपाल । यी सम्भावनाहरूमा राम्ररी काम गर्न सके अर्थतन्त्रको सबलीकरणमा अन्यत्र चिहाउनै पर्दैन ।

हाम्रो देश विकासको सबैभन्दा ठूलो सम्भावना या भविष्य नै पर्यटन हो भन्दा हुन्छ । हाम्रा सम्पदा, प्राकृतिक सौन्दर्य, हिमाल र डाँडाकाँडाहरु नै संसारका पर्यटक रमाउने ठाउँ हुन् । यस्तो अलौकिक हावापानी, प्राकृतिक सौन्दर्य, जातीय तथा सांस्कृतिक विविधता र परम्परा विश्वका अरु कुनै देशमा विरलै पाउन सकिन्छ । साहसिक पर्यटन अर्काे हाम्रो सम्भावना हो । यसलाई खेल कूटनीति मार्फत् हामीले विश्वमै फैलाउन सक्छौँ । त्यसका लागि एक स्पष्ट भिजन र कार्यक्रम चाहिन्छ ।

अर्काे एक महत्वपूर्ण फाइदा हामीलाई के छ भने हामी विश्वकै झण्डै झण्डै एक तिहाई जनसंख्याको बीचमा अवस्थित छौँ । हाम्रा छिमेकी भारत र चीनको जनसंख्या साढे दुइ अर्ब भन्दा पनि बढी छ । यसकारण पनि हामी पर्यटक खोज्न धेरै टाढा जानै पर्दैन । हाम्रो यो अवस्थितिलाई त हामीले वास्तवमा ठूलो बरदानका रुपमा लिन सक्नुपर्छ । मैले हालै पढेको एक तथ्यांकमा बर्षेनि करिब १० करोड भारतीय नागरिक र करिब १५ करोड चिनियाँ नागरिक पर्यटकका रुपमा भ्रमणका लागि बाहिरिन्छन् ।

तीमध्ये कति प्रतिशत हामीले नेपाल भित्र्याउने ? उनीहरुलाई त स्थल र हवाई मार्गबाटै नेपाल आउन सजिलो छ नि । यो योजना हामीसँग छ कि छैन ? हिजोका दिनमा हाम्रै छिमेकका यी करिब २५ करोड नागरिकका लागि हामीले कुनै योजना, रणनीति आदि बनाएर काम गर्यौँ कि गरेनौँ ? यसका लागि हामीसँग छुट्टै र विशेष योजना के छन् ?

तर त्यसो गर्न हामी सकिरहेका छैनौँ । हामीले देखे सुनेका छौँ कि ठूला योजना बनाएर र  बर्षौं पहिलादेखि घोषणा गरेर नेपाल भ्रमण बर्ष अघि कार्यक्रम ल्याउँछौँ तर त्यसमा छिमेकी कति छन् त भनेर हेरेका छौँ कि छैनौँ ? यति रणनीतिक महत्वको भूमिमा रहेका हामीले केही लाख पर्यटक खोज्न ठूलो हल्ला गरेर कहाँ कहाँ पुगिरहेका छौँ ? दिल्ली, बेइजिङसँग समृद्धिको समुद्र छ । त्यो समुद्रबाट हामीले कति पानी उभाउन सक्छौँ र स्वदेश भित्र्याउँछौँ भन्ने कुरा हाम्रा योजना, कार्यक्रम, क्षमता र रणनीतिमा भर पर्ने कुरा हो । यो हिसाबबाट हामीले अहिलेसम्म सोचेजस्तो लागेको छैन, अब सोचौँ । यसका लाग हामीले आर्थिक कूटनीति, पर्यटन कूटनीति, सांस्कृतिक कूटनीति या के कस्ता कूटनीति अपनाउनु आवश्यक छ त्यो अपनाउँ ।

यसो हुन सक्यो भने हामीले जतिधेरै पर्यटन पूर्वाधार बनाए पनि पुग्दैन । पर्यटन पूर्वाधारमा हामी नै खर्च गर्छौँ र निर्माण पनि गर्छौँ । अनि पर्यटकको बसाई लम्ब्याउनु पनि हाम्रा लागि अर्का चुनौती छ । यसरी धेरै पर्यटक भित्रिए र तिनका लागि धेरै भन्दा धेरै पर्यटन पूर्वाधारहरु निर्माण भए भने स्वभावतः पर्यटकको बसाई पनि लम्बिन्छ । उनीहरुलाई देख्न र महसुस गर्न आवश्यक अवस्था र संरचना त हामीले नै निर्माण गरिदिने हो नि ।

प्राकृतिक सुन्दरताको अवलोकनसँगै धार्मिक पर्यटन, चलचित्र पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन, अध्यात्म पर्यटनलगायत विभिन्न पर्यटकीय सम्भावना बोकेको देश हो नेपाल । यी सम्भावनाहरूमा राम्ररी काम गर्न सके अर्थतन्त्रको सबलीकरणमा टेवा पुग्नेछ ।

ढकाल युवा उद्यमी हुनुहुन्छ । यो बिचार नेपाल आर्थिक पत्रकार समाजद्वारा २९औं वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘अर्थनीति’ सेजन स्मारिका २०८२ बाट साभार गरिएको हो ।




भर्खरै