९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने



अ+ अ-

काठमाडौं । राजधानीका बासिन्दालाई एक महिनाका लागि पुग्ने खाद्य सामग्री मौज्दात छ। कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने सरोकारवालाको बताउँछन्। थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्टले भने, ‘उपत्यकावासीलाई एक महिनासम्म पुग्ने गरी चामल, दाल र खाने तेलको मौज्दात छ।’ कोभिड–१९ बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिएर दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन सरकारले भने पूर्वतयारी थालेको छैन। सर्वोच्च अदालतले सोमबार दैनिक उपभोग्य वस्तुको व्यवस्थापनतर्फ पूर्वतयारी गर्न सरकारलाई आदेश दिएको थियो।

अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा चामल, दाल, खाने तेल, तरकारी, इन्धनलगायत पर्छन्।विभागीय मन्त्री लेखराज भट्ट उपत्यकाबाहिर र सचिव बैकुण्ठ अर्याल नेपाल–बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटीसम्बन्धी पाँचौं सचिवस्तरीय बैठकमा सहभागी हुन बंगलादेशमा छन्। ‘मन्त्री र सचिवज्यू बाहिर भएकाले तत्कालै पूर्वतयारी सुरु भएको छैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँहरू आएपछि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक रणनीति बनाउँछौं।’ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन कुरेको छ। निजी क्षेत्रले पनि आन्तरिक रूपमा पूर्वतयारीका कुनै कार्य गरेको छैन।

थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्ट भने कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्छन्। ‘जोखिमका विषयमा हामी पनि जानकार छौं’, भट्टले भने, ‘बिहीबारदेखि हामी पूर्वतयारीबारे छलफल सुरु गर्दै छौं। अहिल्यै आत्तिनु पर्ने अवस्था छैन। हामीसँग एक महिनालाई पुग्ने प्रमुख खाद्य पदार्थ मौज्दात छन्।’ काठमाडौं उपत्यकामा दैनिक चामल ८० ट्रक, दाल १२ ट्रक र खाने तेल २० ट्रकको माग छ। ती वस्तु भारतीय नाकामार्फत आयात भइरहेको छ। भारतीय नाका अहिलेकै अवस्थामा सञ्चालन भइरहे उपत्यकावासीलाई खाद्यान्न अभाव नहुने संघले जनाएको छ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार उपत्यकामा दैनिक एक हजार तीन सय टन हरियो तरकारी, एक सय ५० टन आलु र सोही परिमाणमा प्याजको माग छ। स्वदेश र भारतबाट आउने तरकारी आपूर्तिमा सहजता मिलाइएको घिमिरेले बताए। उनले भने, ‘कोरोना भाइरसको सम्भावित जोखिममा पनि उपत्यकामा हरियो तरकारी आपूर्ति हुन्छ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीसँग १७ हजार टन चामल मौज्दात रहेको जानकारी दिए। त्यस्तै दुई लाख क्विन्टल धानसमेत मौज्दात भएकाले चामल अभाव नहुने उनी बताउँछन्।

नेपाल आयल निगमले पनि इन्धन र खाना पकाउने ग्यास दैनिक आपूर्ति भइरहेकाले अभाव नहुने स्पष्ट पारेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार उपत्यकामा दैनिक डिजेल एक हजार किलोलिटर, पेट्रोल ६ सय किलोलिटर र खाना पकाउने ग्यास एक सय ५० टन खपत हुन्छ। ‘हामीले चाहिने परिमाणभन्दा बढी आपूर्ति गरिरहेका छौं’, गोइतले भने। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अत्यावश्यक वस्तु घरमा भण्डारण गर्न आवश्यक नरहेको बताए। विभागले दैनिक उपभोग्य वस्तुको कारोबार गर्ने निजी क्षेत्रसँग बिहीबार छलफल गर्ने भएको छ।

उपभोग्य वस्तुको कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने व्यापारी र समूहलाई कारवाहीको दायरामा ल्याउन पनि निजी क्षेत्रसँग छलफल गरिने महानिर्देशक सुवेदीले बताए। दैनिक आपूर्ति प्रणाली नियमित र सुलभ बनाउँदै पर्याप्त मात्रामा यी वस्तुको भण्डारण गर्र्न सरकारी निकायले ध्यान दिनुपर्ने बताउँदै उपभोक्तावादी ज्योति बानियाँ भन्छन्, ‘कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने समूहमाथि निगरानी गर्नेलगायतका विषयमा तत्कालै सरोकारवाला निकायसँग सहकार्य गरी रणनीति बनाएर कार्यान्वयन गर्नुपर्छ।’ अन्नपुर्णपोष्ट दैनिक