२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशगजा क्षेत्रबाट भारतीय समूह जबर्जस्ती नेपाल छिर्न खोजेपछि हवाई फायर



symbolic picture
अ+ अ-

काठमाडौं । जबरजस्ती भारतीय नागरिकहरुको समूह नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । करिब ३०–४० जनाको समूह सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेको र सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको हो ।

भारतीय तस्कहरुले नेपालतर्फ सामान लिएर आउन लाग्दा उनीहरुलाई सीमामा खटिएको सशस्त्रको टोलीले रोकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए । त्यसपछि उनीहरु फर्किए र ठूलो समूहमा भारतीय नागरिकहरुलाई ल्याएर आए । ‘आज विहान करिब ६ बजेतिर त्यो समूहले हाम्रा सुरक्षाकर्मीहरुलाई घेरा हाल्न खोजेपछि हवाई फायर गरेर भगाइयो,’ प्रमुख जिल्ला अधिकारी जीसीले भने ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र अहिले स्थिति सामान्य बनेको उनले जानकारी दिए । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।