२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट : महतो



अ+ अ-

काठमाडौं । राष्टिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारको आगामीे आर्थक बर्ष २०७७/७८ को बजेटलाई “औपनिवेशिक योजनाको निरन्तरता ”को संज्ञा दिनुभएको छ ।  

प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उहाँले “आफू मालिक र अरु भिखारी” प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गर्नुभएको हो । उहाँले बजेटले आम नेपाली जनतालाई उत्साहीत बनाउन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्ने ? राज्यधारीहरुको पक्षपोषण गर्नका लागि ल्याईएको बजेट । राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट । राज्यविहिनहरुलाई अझ सिमान्तकृत गर्ने, अझ कमजोर गर्ने प्रकारको बजेट आउने गर्छ । यो पनि राज्यको चरित्र अनुसार नै आउने हो । औपनिवेशिक योजनाको निरन्तरता वाहेक केही पनि भन्न सकिदैन यसलाई । ”

केन्द्रीकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले संघीय सरकारले आफू दाता प्रदेश तथा संघलाई बक्सिस दिएको मानसिकताले बजेट बनाएको टिप्पणी गर्नुभयो ।

लोकतन्त्रमा राज्य र नागरिक बीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी , मालकियत, सहभागिता र सम्मान जस्ता आयाम हुने भन्दै उहाँले नागरिकले राज्यबाट सम्मान पाएको छ ? भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “ शासनमा सबै सहभागिता पाएको ? मालिकियताको अनुभूति भएको छ सबैलाई । राज्यले जनताप्रति वफादारी गरेको छ ? ”

उहाँले भन्नुभयो “राज्यको चरित्र जस्तो छ । त्यस्तै गतिविधि हुन्छ । उसको नियत जस्तो छ त्यस्तै नियम बनाउछ, कानुन बनाउँछ , संविधान बनाउँछ , बजेट बनाउँछ, शासन गर्छ, व्यवहार गर्छ । यही नेपालमा भईरहेको छ । यहाँ बहुसंख्यक जनता, आदिवासी जनजाती, मधेसी, थारु, दलित को संख्या पीडीत भएर बस्नुपर्ने अनि यहाँका अल्पसंख्यक शासक भएर हामीलाई दान दिनुपर्ने । यो बजेट भनेको त्यही हो । के कमेण्ट गर्ने ? के विश्लेषण गर्ने ?”

कोरोनका कारण भयावह बन्दै गएको परिस्थितिमा जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने तथा तत्काल र दीर्घकालिन रुपमा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने कार्यक्रमहरु बजेटमा आउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले मान्छे भोकले मरिरहेका बेला सरकारले कोही भोकै मर्दैन भनेर कागजमा मात्रै नारा लगाईरहेको भन्दै आक्रोश पोख्नुभयो ।

उहाँले भन्नुभयो “अलिकति पनि नैतिकता नभएको सरकार । जनता दिन दहाडै मरिरहेको छ । यहाँ भाषण भईरहेको छ । कोही मर्न दिदैनौ रे ?”

उहाँले एकल जातिय आधारमा गरिएको शासन र नश्लिय चिन्तन एवं सोच परिर्वतन नभएसम्म जनताले सुख नपाउने बताउनुभयो ।