काठमाडौं । विश्वभर फैलिइरहेको कोरोना भाइरसको संक्रमणले नेपाल प्रभावित बनिरहेको छ । कोराना नियन्त्रण रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्ने सरकार आफ्नै दल नेकपाको कारण अप्ठ्यारोमा परेको छ । कोरोनासँगै शुरु भएको सत्तारुढ दल नेकपाको विवाद अहिले उत्कर्षमा पुगेपछि संवादहीनताको अवस्था छ । विगत डेढ महिनादेखि जारी विवाद समाधान गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक भएको वार्ता विफल भएपछि अहिले संवाद नै टुटेको छ । पार्टीभित्रको आन्तरिक विवादमा बढी समय खर्च हुँदा सरकारको कामसमेत प्रभावकारी बन्न सकेको छैन । पछिल्लो समयमा प्रधानमन्त्रीले सरकारको काममा लगाउनुपर्ने समय आन्तरिक विवादमा लगाउनुभएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि हुनुपर्ने छलफल र भेटघाट आफू निकटका नेताहरुसँग हुने गरेको छ ।
शीर्ष तहमा संवाद हुन नसकेपछि संसदीय दलमा आफ्नो बहुमत पुर्याउने रणनीतिमा प्रधानमन्त्री ओली लागेका छन् । पार्टीभित्रको सम्भावित संकट टरिनसकेकाले आफ्नो पक्षमा निर्णय गराउन प्रधानमन्त्री ओली रातदिन नेताहरुसँगको भेटघाटमा व्यस्त हुने गरेका छन् । झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका अध्यक्ष ओली पछिल्लो समयमा सरकारकै रक्षाका लागि लागेका छन् । पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री दुई पदमध्ये एक पद छोड्न दबाब बढिरहेका बेला दुवै पद जोगाएर अगाडि बढ्ने रणनीतिमा प्रधानमन्त्रीको बढी समय बितिरहेको छ । स्थायी समिति बैठक बस्नुअघि सचिवालय बैठकमा सहमति कायम गरेर मात्र बैठक बोलाउने तयारीमा लाग्नुभएका अध्यक्ष ओलीले एक सातादेखि अर्का अध्यक्ष प्रचण्डसँगसमेत संवाद गरेका छनन् ।
कोरोनाको कारण देशको अर्थतन्त्र तहसनहस हुने अवस्था सिर्जना भएको छ । देशभित्र चार महिना लकडाउन गरेर अहिले खुला गरिएको छ । एक जनामा कोरोना संक्रमण देखिँदा सरकारले लकडाउन सुरु गरेको थियो ।
तर अहिले दैनिक तीनदेखि पाँच सय जनासम्ममा संक्रमण फैलिँदासमेत सरकारले लकडाउन नगर्ने नीति लिएको छ । नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पैmलिन शुरु गरिसक्दा समेत सरकारले प्रभावकारी कदम चाल्न सकिरहकेको छैन । कोरोनाविरुद्ध लड्नुपर्ने सरकार आफ्नै पार्टीभित्रको आन्तरिक विवादमा रुमलिएको छ ।
नेकपाका नेता ठाकुर गैरेले पार्टीभित्रको विवाद समाधानका लागि शीर्ष नेतृत्व गम्भीर बन्नुपर्ने बताए । उनले भने– ‘हरेक पार्टीभित्र विवाद हुन्छ, विवादको समाधान गर्ने कमिटीका बैठक नै हुन्, अहिले जारी स्थायी समिति बैठक स्थगित छ, शीर्ष नेताहरुमा संवाद हुन सकिरहेको छैन, जनताले ठूलो आशा र अपेक्षा गरेर नेकपालाई बहुमत दिएका हुन्, जनमतको सम्मान गरेर पार्टी अगाडि बढ्नुपर्छ ।’
नेकपाभित्र विवाद समाधानका लागि दर्जनौं विकल्प अगाडि सारे पनि सहमति जुट्न सकिरहेको छैन । सहमति जुटाउने जिम्मेवारीसहित अध्यक्षद्वय ओली र प्रचण्डबीच यसबीचमा भएको वार्ता र छलफल निरर्थक बन्न पुगेको छ । बालुवाटार र खुमलटारमा नेताहरुको दौडधुप भए पनि निकास निकाल्नेतर्फ नेताहरु गम्भीर बन्न सकेका छैनन् । देश कोरोना विरुद्धको महाहारीसँग जुधिरहेका बेला सत्तारुढ दलका नेताहरु भने आन्तरिक विवादसँग लडिरहेका छन् । सत्तारुढ दलभित्र मात्र होइन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पनि उस्तै छ । सरकारले प्रभावकारी काम गर्न नसकिरहेको सन्दर्भमा खबरदारी गर्ने र सरकारलाई सचेत गराउनुपर्ने कांग्रेस पनि आन्तरिक विवादमा रुमलिँदै आएको छ । सरकार विभिन्न प्रकरणमा मुछिँदा समेत कांग्रेसले ती एजेन्डा बलियोसँग उठाउन सकिरहेको छैन ।
आगामी फागुनमा महाधिवेशनको मिति तय गरेको कांग्रेसभित्र शक्ति संघर्ष चलेको छ । महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पुर्याउन पार्टी सभापति शेरबहादुर देउवाले धमाधम विभाग गठन गर्ने काम सुरु गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कडा रुपमा आपत्ति जनाउँदै आएको छ । विभाग गठनको कारण कांग्रेसको विवाद पनि उत्कर्षमा पुगेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्ने कांग्रेस विभाग गठनमा आफ्ना मान्छे नपरेको भन्दै सभापति देउवासँग असन्तुष्ट बनेका छन् ।
नेपाली कांग्रेसका नेता राजन केसीले पार्टीभित्र सहमति र सहकार्यबाटै जारी विवाद समाधान गर्नुपर्ने बताए । ‘विधि र विधानअनुसार नै पार्टी सञ्चालन गर्नुपर्छ’, उनले भने– ‘यति बेला हाम्रो काम सरकारलाई खबरदारी गर्ने र कोरोना नियन्त्रण र रोकथामका लागि लाग्ने हो ।’ यता प्रमुख प्रतिपक्ष दल पनि आन्तरिक विवादमा रुमलिँदा जनतामा निराशा जन्माएको छ । कोरोनाको विरुद्धमा एकताबद्ध भएर लाग्नुपर्ने राजनीतिक दलहरु आन्तरिक विवादमा रुमलिँदा नागरिकमा दलहरुप्रति वितृष्णा देखिएको छ । नेपाल समाचारपत्र दैनिक