• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

रुसी सेनामा मारिएका नेपालीलाई क्षतिपूर्ति दिन रुस तयार



काठमाडौं । आफ्नो सेनामा भर्ती भएर मारिएका नेपाली नागरिकका परिवारलाई दिने भनिएको क्षतिपूर्ति नेपालमै पठाउन रुस सरकार तयार भएको छ। यसअघि रुसले क्षतिपूर्ति बुझ्न मृतक परिवार रुस पुग्नुपर्ने सर्त अघि सारिरहेको थियो। मस्कोस्थित नेपाली राजदूतावासको निरन्तर संवादपछि क्षतिपूर्ति रकम नेपाल पठाउन तयार भएको स्रोतले बतायो।

‘हामीले रसियन विदेश मन्त्रालय र रक्षा मन्त्रालयसँग निरन्तर संवाद गरिरह्यौं। हाम्रा नागरिक नेपालबाट पैसा मात्र लिन कसरी आउँछन्रु निकै गाह्रो विषय हो भनेर दबाब दिएपछि हाम्रो कन्सुलरले गरिरहेको अभ्यासअनुसार क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार सहमत भएको छ,’ परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले भने, ‘अहिले रुसी विदेश मन्त्रालयको पत्र नेपाल आइसकेको छ। जसअनुसार अब मृतकका परिवारलाई नेपालमै क्षतिपूर्ति प्राप्त हुने आशा जागेको छ।’

परराष्ट्र मन्त्रालयमातहतको कन्सुलर सेवा विभागले विदेशमा रहेका नेपालीको हकहितको सुरक्षा, उद्धार, क्षतिपूर्तिको पहललगायत काम गर्दै आएको छ। जसमा विभागले विदेशमा मर्नेरमारिने नेपाली नागरिकको क्षतिपूर्ति क्षतिपूर्तिदाताबाट त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत बुझेर नेपाल भित्र्याउने गरेको छ। ‘त्यसरी नेपाल भित्र्याइएको क्षतिपूर्ति कन्सुलर सेवा विभागले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत मृतक परिवारलाई दिने अभ्यास छ,’ विभागका एकजना अधिकारीले भने, ‘रुससँग पनि हाम्रो यही प्रस्ताव सुरुदेखि थियो। तर उसले मानेको थिएन। अहिले यसैमा राजी भएको छ।’

रुसी सेनामा नेपाली नागरिक भर्ती भएर रुस–युक्रेन युद्धमा मारिन थालेको खबरसँगै कन्सुलर विभागले काम थालेको विभाग स्रोत बताउँछ तर सुरुमा क्षतिपूर्तिका विषयमा रुस सरकारले कुनै प्रतिक्रिया जनाएको थिएन। यद्यपि उसले मृतक परिवारलाई पाँच मिलियन रुबल ९झन्डै ७५ लाख नेपाली रुपैयाँ० दिने कानुन बनाएको थियो । नेपाली राजदूतावासले लगातार संवाद गरेपछि माघको पहिलो साता मृतक नेपाली नागरिकका परिवारलाई आफ्नो कानुनअनुसार क्षतिपूर्ति दिने जवाफ दिएको थियो।

तर, त्यसका लागि मृतकका परिवार आफैं रुस पुगेर क्षतिपूर्ति बुझेर फर्किनुपर्ने सर्त अघि सारिरहेको बताइन्छ। ‘क्षतिपूर्तिका विषयमा हाम्रो प्रयास सुरुदेखि नै हाम्रो कन्सुलर अभ्यासअनुसार दूतावासमार्फत नेपालमै उपलब्ध गराउने भन्ने थियो। यसपटक सहमति जनाएको पत्र प्राप्त भएको छ,’ मन्त्रालयस्रोतले भन्यो।

अन्य विषयमा चुपचाप

भारत र बेलायती सेनाबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक नपठाउने नेपालको नीति छ। जसअनुसार रुसी सेनामा भर्ती भएका सबै नेपाली नागरिक अवैध तवरबाट गएका हुन्। यही कुरा नेपालले रुस सरकारलाई अवगत गराउँदै नेपाली नागरिक आफ्नो सेनामा भर्ना नलिन र भएकालाई फिर्ता गर्न पटक–पटक आग्रह गरिरहेको छ। माघको पहिलो साता युगान्डामा सम्पन्न असंलग्न आन्दोलन ९नाम०को १९औं शिखर सम्मेलनमा सहभागी हुन गएका परराष्ट्रमन्त्री एनपी साउदले रसियन उपविदेशमन्त्री सर्गेई वार्सिनिनसँग भेटेरै सो कुरा राखेका थिए।

‘मन्त्रीज्यूले आफ्नो समस्याका लागि कूटनीतिक मर्यादा नमिले पनि भेट गरेर कुरा राख्नुभएको थियो,’ मन्त्रालय स्रोतले भन्यो । यसबाहेक नेपालले पटक–पटक ‘कूटनीतिक नोट’ पनि पठाएको परराष्ट्र मन्त्रालयस्रोत बताउँछ। ‘हामीले भर्ना नलिने र फिर्ता गर्नेबाहेक पनि रुसी सेनामा भर्ती भएका, मारिएका र घाइतेको यकिन विवरण मागिरहेका छौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसको उचित क्षतिपूर्ति, उपचारको सहजता, परिवारलाई मृतकको शव उपलब्ध गराउने कुराका लागि पनि कुराकानी गरिरहेका छौं।’ तर रुस सरकारबाट मृतकका परिवारलाई क्षतिपूर्तिबाहेक अन्य जवाफ नआएको मन्त्रालय स्रोत बताउँछ।

यो समस्या समाधानका लागि परराष्ट्रमन्त्री साउद आफैं रुस जान चाहिरहेका छन्। उनले रुससँग यस विषयमा पहल गर्न थालेको महिना दिन पुग्न लागेको छ। तर रुस सरकारले अहिलेसम्म आमन्त्रणका लागि कुनै प्रतिक्रिया दिइरहेको छैन।

यद्यपि यो समस्या नेपालको मात्रै नभएको परराष्ट्र मन्त्रालयका एकजना अधिकारी बताउँछन्। ‘रुसी सेनामा भारतीय, श्रीलंकन र अन्य देशका नागरिक पनि भर्ती भएका छन्। उनीहरू पनि मारिएका छन्। समस्या उता पनि छ। उनीहरूले पनि हाम्रो जस्तै प्रयास गरिरहेका छन्। नेपालमा अलि बढी हल्लाखल्ला मात्रै भएको हो,’ ती अधिकारीले भने। नेपालले यस विषयमा विवेकपूर्ण काम नगरे रुस सरकार भड्किएर सहयोग नगर्ने अवस्था आउनसक्ने डर पनि रहेको ती अधिकारी बताउँछन्।

क्षतिपूर्तिमा सटहीको आशंका

आफ्ना मृतक सैनिक परिवारलाई ५ मिलियन रुबल ९५० लाख० दिने रुसी कानुन छ। जसको नेपाली रूपैयाँसँगको विनियम दरअनुुसार झन्डै ७५ लाख नेपाली रूपैयाँ हुन आउँछ। बिमा पनि भए त्योभन्दा अझै बढी रकम मृतक परिवारले पाउनसक्ने कन्सुलर विभागस्रोत बताउँछ। रुस सरकार नेपाली राजदूतावासमार्फत क्षतिपूर्ति दिन तयार भए पनि नेपाल ल्याउने प्रक्रियामा भने समस्या आउने हो कि भन्ने चिन्तामा कन्सुलर विभाग छ। बैंकिङ प्रणालीबाट पठाउँदा डलरसँग सटही प्रक्रियामा कहीँकतै झन्झट हुने हो कि भन्नेमा विभागका अधिकारी चिन्तित छन्। रुसी सेनामा हालसम्म १४ जना नेपाली नागरिक मारिएको पुष्टि भएको छ। (आजको नागरिक दैनिकमा खबर छ ।)