४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर

चलचित्र ‘अञ्जिला’को बेलायतमा भव्य प्रिमियर
अ+ अ-

लन्डन। बेलायतको एल्डरसटस्थित एम्पायर हलमा नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर सम्पन्न भएको छ ।

प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने बेलायतमा रहने नेपाली चलचित्रकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति थियो ।

नेपालबाट यस चलचित्रकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल र निर्देशक मिलन चाम्स बेलायत पुगेका थिए । साथै, चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र उद्घोषक नरेश भट्टराई पनि उपस्थित थिए । नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् । प्रिमियर अगाडि उनको भिडियो सन्देश प्रस्तुत गरिएको थियो, जसमा उनले चलचित्र टिमलाई शुभकामना दिँदै सबै दर्शकहरूलाई धन्यवाद दिएकी थिइन् । साथै, उनको छोटो परिचयात्मक भिडियो पनि प्रदर्शन गरिएको थियो ।

प्रिमियर समारोहमा राजदूत घिमिरेले चलचित्र टिमलाई बधाई दिँदै चलचित्रले नेपाली खेल जगतमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । “म आज साँच्चै नै गर्व गरिरहेको छु । उहाँहरूले यस्तो राम्रो बायोपिक लिएर आउनुभएको छ, जसले खेल जगतलाई ठुलो प्रभाव पार्न गइरहेको छ । अहिले उकालो लागिरहेको नेपालको खेल क्षेत्रका उदीयमान खेलाडीहरू माथि चलचित्र बन्न सुरु भएको छ, जसले नयाँ इतिहासको अध्याय सुरु गरेको छ,” राजदूत घिमिरेले बताए ।

समारोहमा चलचित्रका निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको सङ्घर्षलाई उजागर गर्न यो चलचित्र निर्माण गरिएको बताए । चाम्सले नेपाली खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पुर्‍याउन अञ्जिला निर्माण गरिएको बताउँदै भने, “नेपालमै पहिलो पटक हामीले फुटबल खेलाडीको जीवनीमा आधारित चलचित्र बनाउने कोसिस गरेका छौँ । खेल क्षेत्रको उन्नतिका लागि यो चलचित्र बनाइएको हो ।” उनका अनुसार नेपाली खेल क्षेत्रमा अझै धेरै कथा छन्, जसलाई चलचित्र मार्फत विश्वसामु लैजान सकिन्छ ।

चलचित्र हेरेका दर्शकहरूले ‘अञ्जिला’ निकै प्रभावशाली र प्रेरणादायी भएको प्रतिक्रिया दिए । नेपालमा खेलाडी बन्न कति कठिन रहेछ भन्ने चलचित्र हेरेपछि महसुस भएको बताउँदै चलचित्र हेरिरहँदा धेरै पटक आँखामा आँसु आएको दर्शकले बताए ।

निर्माता प्रेम कुमार श्रेष्ठले युकेका दर्शकहरूले चलचित्र अत्यन्तै मन पराएको बताए । “हङकङमा पनि चलचित्रको प्रिमियर भएको थियो, जहाँ उच्च प्रशंसा भएको थियो । ‘रियल स्टोरी’मा ‘रियल प्लेयर’लाई अभिनय गराउन निकै कठिन थियो, तर पनि हामीले ४ वर्ष लगाएर यो चलचित्र बनायौँ । अहिले प्राप्त भइरहेका प्रतिक्रियाले उत्साहित छौँ,” श्रेष्ठले भने ।यो चलचित्र नेपाल रिलिज अगावै अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुँदैछ ।

निर्माता श्रेष्ठले प्रिमियरबाट सङ्कलित सबै रकम एञ्जिलाको घर बनाउन प्रयोग गरिने बताए । उनले देशका लागि एञ्जिलाले अझै खेल्न सकुन् भनेर प्रेरणा दिनका लागि एञ्जिलाको घर बनाइदिन लागिएको जनाए । उनले यस अभियानले अन्य खेलाडीहरूलाई नि हौसला दिने विश्वास गरे । एञ्जिलाले भविष्यमा उक्त घरलाई फुटबल एकेडेमीका रूपमा विकास गर्ने योजना बनाएकी छन् ।

नेपालमा ‘अञ्जिला’ यही फागुन २९ गते रिलिज हुँदैछ । हालै मात्र यस चलचित्रको टिजर सार्वजनिक गरिएको थियो, जसमा एञ्जिला घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ ।

चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।

अञ्जिला नेपाली खेलकुद क्षेत्रमा निर्माण भएको पहिलो बायोपिक भएकाले यसको ऐतिहासिक महत्त्व छ । निर्देशक चाम्सले दर्शकहरूले यो चलचित्रलाई साथ दिएमा भविष्यमा अन्य खेलाडीहरूको जीवनमा आधारित चलचित्रहरू पनि बन्न सक्ने सम्भावना बलियो हुने बताए ।