२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे

सीमा सुरक्षामा खटिएका प्रहरीको पिडा, गाउँलेबाट पैँचो मागेर गुजारा चलाउनुपर्ने अवस्था

सीमा सुरक्षामा खटिएका प्रहरीको पिडा, गाउँलेबाट पैँचो मागेर गुजारा चलाउनुपर्ने अवस्था
अ अ+ अ-

बझाङ । २१ भदौको झिसमिसे उज्यालो । अँध्यारोमै प्रहरी टोली घरमा आएपछि शैनगाउँकी रुप्सी बोहराको होसहवास नै उड्यो । घरका कुनै सदस्यले गल्ती पो गरिहाले कि भन्ने सोचेर उनले बाहिर निस्कन हिम्मत पनि गरिनन् । तर, प्रहरीको नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो । जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो । र, मनमनै सोचिन्– सरकारी कर्मचारी, त्यसमा पनि प्रहरीको यो अवस्था छ भने हामी जस्ताको त हिसाब नै हुँदैन । भएको के रहेछ भने, सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी टोली २० भदौको रात भोकभोकै सुत्नुपरेपछि एकाबिहानै रुप्सीको घरमा खाद्यान्न पैँचोका लागि पुगेको रहेछ । हुन त उनीसँग पनि घरमा प्रशस्त खाद्यान्न थिएन । मनकारी रुप्सीले प्रहरीको भोको पेट देख्न सकिनन् । आफूसँग भएको दुई कट्टा चामलमध्ये एक कट्टा चामल प्रहरीलाई दिइन् ।

यहाँ कार्यरत प्रहरीले खाद्यान्नको अभावमा यसरी नै पैँचो मागेर पेट भरिरहनुपरेको छ । रुप्सीको घरबाट लगेको एक कट्टा चामललाई पाँच दिन पुर्याएका प्रहरी छैँटौं दिनदेखि फेरि भोको पेट बस्नुपर्ने अवस्था आयो । उनीहरूले एक दुई दिन स्थानीयसँग भएको खोले र उवाले जेनतेन छाक टारे । त्यसपछि स्थानीय भीम रोकायालाई गुहारे । उनले पनि एक कट्टा चामल पैँचो दिए । उनीबाट लिएको चामल पनि सकेपछि गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले स्थानीय एक जनाबाट फेरि एक कट्टा चामल निकालेर दिए । अहिले त्यही एक कट्टा चामलको भरमा गुजारा चलाइराखेको छ सीमा प्रहरी चौकी धुली । यो ठाउँ अत्यन्तै विकट छ । खाद्यान्न पनि पाउन मुस्किल पर्छ । स्थानीयले खेती किसानी गरेर जेनतेन जीवन धानिरहेका छन् । तर, प्रहरीले भने लामो समयदेखि खाद्यान्न अभाव झेल्नुपरिरहेको छ । त्यसैले कैयौं रात यहाँका प्रहरी भोकभोकै बस्नुपर्ने बाध्यता छ ।

२५ साउन २०७५ । तत्कालीन प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी र तत्कालीन जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश बम सीमा प्रहरी चौकी धुली पुगेका थिए । आफ्ना समस्या बुझ्छन् कि भनेर प्रहरीहरू निकै खुसी भए । तर, उनीहरूले आफ्ना समस्या भन्नै सकेनन् । २२ चैत २०७५ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोली पनि सीमा प्रहरी चौकी धुलीको अनुगमन गर्न गयो । त्यतिबेला पनि समस्या उस्तै थियो । तर, प्रजिअले आफ्ना समस्या बुझ्नै नचाहेको प्रहरीको गुनासो छ । स्थानीय शिक्षक धनबहादुर विष्ट भोटे भन्छन्, ‘अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी र डीएसपीसहितको टोली आउँछन्, उनीहरू अनुगमन गरेर फर्किन्छन्, सीमामा कार्यरत प्रहरीका समस्या जस्ताको तस्तै । प्रहरीको समस्या त यस्तो छ भने हाम्रो समस्या कस्तो होला ?’

सरकारले प्रहरीलाई खाद्यान्नको सट्टा नगद दिने गरेको छ । तर, यो ठाउँमा पैसा भएर पनि खाद्यान्न किन्न सकिँदैन । जसको मारमा प्रहरी टोली छन् । सडक मार्गको असुविधाका कारण यहाँ सहजै खाद्यान्न नपाइएको हो । हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिदिए समस्या समाधान हुने शिक्षक धनबहादुर भन्छन् । यो समस्या सीमा प्रहरी चौकी धुलीमा कार्यरत प्रहरीलाई मात्रै नभएर साइपाल गाउँपालिकाका ४ र ५ वडाका केही गरिब घर परिवारमा समेत छ । जिल्लाकै सबैभन्दा विकट भएका कारण यहाँ बर्खाको समयमा भेडा–खच्चड जाने बाटो पनि हुँदैन । सदरमुकाम चैनपुरबाट झन्डै तीन दिनको पैदल यात्रामा पर्ने धुली, न्युन्ना, बलौडी, शैनगाउँ र जगेरामा खाद्यान्न अभाव हुने गर्दछ ।

सीमा प्रहरी चौकी धुलीमा कार्यरत नवकुल सिंह प्रहरी सेवामा प्रवेश गरेको १७ वर्ष भयो । जागिरको सिलसिलामा उनी झन्डै दर्जन जिल्लामा पुगिसकेका छन् । तर, आफूले यतिसम्म खाद्यान्न अभाव अरू ठाउँमा भोग्नुनपरेको बताउँछन् । प्रहरी हबलदार जयबहादुर तिरुवा यो ठाउँमा भोग्नुपरेको समस्या संकटकालको भन्दा बढी रहेको बताउँछन् । उनले भने, ‘संकटकालमा त खान त पाइन्थ्यो । तर यहाँ पैसा भएर पनि खाद्यान्न पाइँदैन । यहाँ खाद्यान्न आउने भनेको भेडा–खच्चडबाट हो । अहिले ठाउँठाउँमा गएको पहिरो र खोलाका कारण खच्चड र भेडा पनि नआउने भएकाले खाद्यान्न संकट भएको हो ।’ स्थानीयले वर्षभरिका लागि पुग्ने गरी खाद्यान्न जम्मा गरेर राख्ने गर्छन् । सीमा प्रहरी चौकीमा हालै सरुवा भएर गएका प्रहरी सहायन निरीक्षक दीर्घबहादुर ऐरले यो ठाउँमा खाद्यान्नको चरम अभाव रहेको बताए ।

‘खाद्यान्न जम्मा गर्न पनि समस्या हुने र ठाउँसमेत नभएका कारण यहाँ कार्यरत सबै प्रहरीले खाद्यान्नको अभाव बेहोर्नुपर्ने अवस्था छ,’ उनले भने । हाल सीमा प्रहरी चौकी धुलीमा सहायक निरीक्षक ऐरको कमान्डमा ४ जना हबलदार, ४ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी गरी १० जना कार्यरत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले खाद्यान्न अभावबारे सीमा प्रहरी चौकीमा बुझ्ने बताए । सुदूरपश्चिम प्रदेशका निमित्त कार्यालय प्रमुख एसएसपी मुकेश सिंहल रासनको सट्टा नगद नै दिने भएकाले रासनको जोहो प्रहरी आफैँले गर्नुपर्ने बताए । एसएसपी सिंहले यसका लागि आफ्ना तर्फबाट सहयोग गर्ने र खाद्यान्नको समस्या नै भए जिल्लाबाट पनि खाद्यान्न पठाउने वातावरण बनाउने बताए । राजधानी दैनिक